मानिसको स्वभाव हो एकरसता चाहन्न । फरक फरक स्वाद चाहन्छ मानिसले । फरक स्वादमा रमाउनु मानिसको स्वभाव हो । नभए सायद मानिस र पशुमा भिन्नता हुन्नथ्यो ।
मानिसको यही फरक स्वभावको चाहना संस्थाको नेतृत्व गर्नेमा पनि भइदियो भने संस्था पनि पुरानै ढर्रामा नहिँडेर नयाँ शैलीमा अगि बढ्न सक्छ । यही अगि बढाइ संस्थाको मौलिकता वा मौलिक पहिचान बन्न सक्छ ।
पदयात्रा वा पैदल यात्राको प्रारम्भ मानिसको सृष्टिकालदेखि नै भएको हो । त्यसैले मानिस आफ्ना कतिपय आदिम स्वभाव छाड्न चाहन्न ।
झरना साहित्यिक परिवार २०५० सालदेखि नै आफ्नो पथ निर्माण गर्दै अगि बढिरहेको छ । विगत उनन्तिस वर्षदेखि नै आफैले बनाएको गोरेटामा हिँड्दै छ । उसले उसै बेलादेखि आफ्नो पथ रोजेको छ ।
झसापले हात्तीसुँडे, भीरकोट, कर्मचुली, पावस, गितावर डाँडा जस्ता आफ्ना कर्मक्षेत्र होस् वा नामटार, मोरिया वा चित्लाङको साहित्यिक यात्रामा होस्, पैदल यात्रा नै गरेको थियो । पछिल्लो समय स्थानहरुका दुर्गमता मेटिँदै गर्दा, सवारी मोह, आरामदायी इच्छा, समयको बचत आदि कारणले पैदल यात्राको क्रम रोकिएको थियो । यसपालि भने झसापले पुनः मानिसको त्यही आदिम स्वभाव रोजेको थियो ।
२०७९ साल भाद्र २५ गते शरि झसापले आफ्नो मासिक शृङ्खला सम्पन्न गर्नु थियो । त्यही क्रममा अध्यक्ष दीपक गौतमको फोन आयो । “सर, यसपालि पैदल यात्राको सोच बनेको छ । सर जानुपर्छ है !” सुरुमा दिउँसोको योजना थियो, धवाडी झरनाको वरपर कार्यक्रम गर्ने । त्यही दिन हेटौंडाको एउटा कार्यक्रममा मैले एघार बजे सरिक हुनु थियो । त्यसैले मैले कारण बताएर “म भ्याउँदिन” भनेँ ।
त्यहाँ वर्षाको कारण अलि असजिलो हुने रहेछ । अर्को ठाउँमा जाने भएपछि संस्थाले समय पनि सारेछ । फेरि दीपक गौतमको फोन आयो, “सर, बिहान साढे छ बजे बुङ्दल जाने भइयो ।” मैले म एघार बजे आउन भ्याउँछु त ? भनेर सोधेपछि “भ्याइन्छ” भने । “नभ्याइने जस्तो भयो भने सर अलि छिटै फर्कनुहोला” भने । मैले “हुन्छ” भने“ ।
सानो छँदा पनि बाहिर जाँदा घरबाट अनुमति लिनुपर्दो रहेछ । उमेर पाको भएपछि पनि घरबाट एक्लै हिँड्दा घरमा सल्लाह लिनुपर्ने रहेछ । घरबाट साहित्यिक यात्राका लागि निस्कँदा न पहिले आमाले रोक्नुहुन्थ्यो न अहिले श्रीमतीले । उनले भनिन्, हजुरको गोडामा पनि समस्या छ, उमेर पनि कसिएर र जतिसुकै हिँड्ने खालको छैन । त्यसैले मनकामना मन्दिरसम्म अटोमा जानुहोला । त्यसपछि टोलीमा मिसिनुहोला । मैले हुन्छ भनेँ ।
टोली हिँड्ने भनेपछि समय लाग्ने भइहाल्यो । यताउति गर्दागर्दै सात पो भइसकेछ । पुनः अध्यक्षको फोन आयो, हामी हिड्यौँ भनेर । त्यसपछि म पनि खाजा खाएर लागेँ मनकामनाको उकालो तर अटोमा । माथि मन्दिर नपुग्दै चोकमा ओर्लेँ । एक्लै भएपछि के गरुँ के गरुँ भइराखेको थियो । सोचेँ म अगाडि आइपुगेँ । साथीहरुलाई स्वागत गर्नुपर्ला । केले स्वागत गरुँ ? चोकमा बेच्न राखेका केरातर्फ दृष्टि गयो । केराको दाम सोधेँ । साठी रुपिये दर्जन अर्थात् हेटौंडाको झन्डै आधा मोल । एक जना पाकी महिलासँग दुई दर्जन लिएँ । एक दुईओटा बढी नै रहन दिइन् ।
आठ बजेतिर कतिपय साथी अलि अलि भिज्दै आइपुगेका थिए । चौतारामा एकछिन मात्र भएपनि बसौं भनेँ । सबैले दुई दुईओटा केरा खायौँ । चोकमा मकवानपुरलाई चिनाउने प्रतीक ठेकी थियो । स्तम्भमा हुनाले र स्वाभाविक आकारभन्दा ठुलो हुनाले आकर्षक थियो । त्यहाँ मैले आउनासाथ एउटा फोटो लिइसकेको थिएँ । अहिले सामूहिक तस्बिर लियौँ । हामी त्यहाँबाट हिँड्दा आठ बजेको थियो ।
चोकभन्दा उताको परिवेशसित तुलनात्मक रूपमा विश्वनाथ सन्जेल परिचित थिए । उनै अगि लागे । बाटोको अधिकांश भाग स्ल्याब ढलान गरिएको रहेछ । केही बाटो भने कच्ची रहेछ । बाटामा पानी नपरेकाले अप्ठ्यारो भएन ।
बाटामा रुदिलो, वनमारा जस्ता साना वनस्पति, केरा, अम्बा जस्ता फलफुल र अन्न बालीहरू हेर्दैै, रमाइलो गर्दै त्रिभुवन राजपथमा पुगिएछ । सामरी नदीको वारिवारि हिँड्दै गर्दा हामी सामरी पुल नजिकको सानो बजारमा पो पुगेका रहेछौ“ । त्यहाँको एउटा होटलमा चिया र सामान्य खाजा खाएर हामी गन्तव्यतर्फ लाग्यौँ । सामरी पुल तरेर आमभन्ज्याङ जाने बाटो दुई किमि जति हिँडेपछि हामी त्यो बाटो छाडेर उत्तरतर्फ लाग्यौँ ।
उतापट्टिका बाटोे तीन किलोमिटर रहेछ र अलि उकालो उकालो । सुरु सुरुमा मानिसको बस्ती पनि देखिन्छ, अलि पछि एकान्त जस्तै ठाउँहरू आउँछन् । फाट्टफुट्ट गाउँलेहरू पनि भेटिन्छन् । जङ्गलको बाटो, बुङदल खोलाको किनारै किनार भएर अगि बढ्छ । सामरीमा खाएको तरकारीले ठाउँ छाड्न थाल्छ, साथीहरूका गोडाहरू लुला हुन थाल्छन् । स्वस्तिका दहाललाई अलि बढी गाह्रो हुन्छ तैपनि हामी हिँडिरहेका हुन्छौँ । हिँड्नै आएको, हिँड्नु त पर्यो नि सबैले ।
सामरीको पुलवारिबाट हिँडेको डेढ घण्टामा हामी हाम्रो गन्तव्य बुङदल झरनामा पुग्छौ“ ।
यो ठाउँको नाम सुने पनि मैले यसअघि यस झरनाका बारेमा भने सुनेको थिइनँ । घाम नलागेको भए पनि र उकालो सामान्य नै भए तापनि थकाइ र हिँडाइको तापले हामीलाई गर्मी लाग्न थालिसकेको रहेछ । झरनाको नजिक गएर उभिँदा त एसी चलेको भान भयो । आआपूmमा यात्राले उत्पन्न गरेको तापक्रमलाई सामान्य बनाउँदै झरनाका नजिकमा उभिएर फोटाहरू खिच्यौँ, खिचायौँ ।
अघि बाटामा साथीहरूलाई हिँड्न गाह्रो भइरहेको थियो । अब त हिँडाउन पो गाह्रो भयो । के नहुनु यस एरियाका झरनाहरूमध्ये बढी अग्लाइबाट झरेको झरना यही थियो । झरनाकै पानी नखाए पनि झरनामा त्यतिकै तृप्त पार्न सक्ने शीतलता थियो, आँखा र मनहरूलाई लट्ठ्याइरहन सक्ने मादकता थियो र मन हर्ने सुन्दरता थियो ।
बाटामै भोकाएका, तिर्र्खाएका अनि थाकेका सबै जसो साथीले सबै कुरा भुलेका थिए । न उनीहरूलाई भोक लागेको थियो, न तिर्खा, न थकाइ । त्यतिकै रमाइरहेका थिए । कोही झरनामा विभिन्न भावभङ्गिमाका फोटो खिच्दै, खिचाउँदै थिए, कोही बुङदल खोलामा विभिन्न मोसनका फोटा खिचाउँदै थिए र कोही टिकटक बनाउँदै ।
साहित्यका लागि गरिएको यात्रा त झरनामय मात्र भइरहेको थियो । हामी सधैँ रमाइलोमा भुल्न मात्र पनि भएन, साथीहरूलाई यथार्थबोध पनि गराउनु थियो अर्थात् हामी फर्कनु थियो, साहित्य गोष्ठी गर्नु थियो र खाना खानु पनि थियो अनि आआफ्ना घरतर्फ लाग्नु पनि थियो ।
“हामी हिड्यौँ है !” भन्दै केही साथीहरू अघि लागे र अरू पनि । आमभन्ज्याङको बाटोबाट झरनासम्म पुग्न अघि एक घण्टा लागेको थियो भने फर्कन त आधा घण्टा मात्र । आमभन्ज्याङको यस जङ्क्सनबाट सामरी पुलसम्म हिँड्ने जाँगर कसैमा थिएन । म नै तीन घण्टा हिँडिसकेको थिएँ भने अरू चार घण्टा । फरक फरक समयमा सबै जसो अटो पर्खेर अटोमा सामरी पुलवारि आयौँ । यहाँ आएर पहिले साहित्य गोष्ठी गर्ने कुरो थियो । पेटपूजा गरिहाल्नुपर्ने स्थिति बनिसकेका हुनाले त्यसतर्फ लाग्यौँ । कसैले भात, कसैले ढिँडो खाए । कसैले मांसाहार र कसैले शाकाहार रोजे ।
खानापछि साहित्य गोष्ठी सुरु भयो । छिटै फर्किनुपर्ने हुनाले मैले पहिले सुनाएँ “तिम्रो र मेरो सम्बन्ध” शीर्षकको कविता । चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, डी.बी.बर्तौला, हरि पौडेल, प्रभा पौडेल, स्वस्तिका बानियाँ, अमृता लामिछाने तथा लक्ष्मी कँडेल म्याडमले कविता, गजल र मुक्तक सुनाउन बाँकी नै थियो । निमेष निखिल सर र राजकुमार लामिछाने सरले कविता सुनाएपछि म भने फर्केँ । देवराज तिवारी सर बुङदल नलाग्दै खाजाका क्रममा कविता सुनाएर सामरी पुलबाट फर्किनुभएको थियो । सामरी पुलबाट झरनासम्म पुर्याएर पुनः पुलसम्म ल्याइदिने भाइ डेनिस नेपाल पनि छुट्टिसकेका थिए ।
हेटौंडाको कार्यक्रममा आइपुग्दा त म आएको एक मिनेटमै कार्यक्रम सकियो । यताको कार्यक्रम पनि छुट्यो, उता पनि कार्यक्रमभरि बस्न पाइनँ । अलिकति पछुतो लागे पनि म सन्तुष्ट नै छु किनभने मैले लामो समयपछि पैदल यात्रा गरेको थिएँ, नयाँ ठाउँ देखेको थिएँ र नयाँ झरना देखेको थिए“ ।