रमेशप्रसाद लामिछाने

१. बालबालिकाहरुको पाँच वर्ष उमेर प्रवेशसँगै औपचारिक शिक्षा प्राप्तिका लागि विद्यालयमा भर्ना गर्ने परम्परा नेपालमा मात्र नभई विश्वका अधिकांश मुलुकमा पाईन्छ । हाम्रो सन्दर्भमा, विद्यालय शिक्षालाई कक्षा ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्मको शिक्षालाई माध्यमिक तहको शिक्षा भनिएको छ । सामान्यतया माध्यमिक तहसम्मको शिक्षा उत्तीर्ण गर्दा विद्यार्थीको उमेर १६ वर्ष पुगेको हुन्छ । यसरी हेर्दा विश्वविद्यालय तहको पहिलो खुट्किलो स्नातक तहमा प्रवेश गर्दा विद्यार्थी १७ वर्षमा टेकिसकेको हुन्छ । यो युवावस्था भनेको व्यक्तिको अत्यन्त महत्वपूर्ण र उर्जाशील उमेर मानिएको छ । व्यक्तिको परिपक्वतासँगै जिम्मेवार जीवनको प्रारम्भ पनि यसै बेलादेखि हुने स्विकार गरिएको छ ।

हाम्रा पौराणिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका मानव जीवनको सरदर आयु १०० वर्ष उमेरलाई आधार मानी यसका चार अवस्थाहरु मध्ये २५ वर्षको उमेरसम्मलाई पहिलो अवस्था अर्थात व्रम्हचर्य आश्रम अनि दोश्रो २५ वर्षको अवधि अर्थात ५० वर्षको उमेर सम्मको अवधिलाई गृहस्थाश्रम र तेश्रो २५ वर्षको अवधि अर्थात ७५ वर्षको उमेरसम्मको अवधिलाई वानप्रस्थाश्रम र अन्तिम २५ वर्षको अवधि अर्थात १०० वर्ष उमेर सम्मको अवधिलाई सन्यासाश्रम भनिएको छ । यो प्राचिन मान्यता बमोजिम २५ वर्षको उमेरसम्म व्यक्तिले शिक्षा आर्जनमा बिताउनु पर्छ । यस अवधिमा व्यक्तिले पर्याप्त शिक्षा, ज्ञान र सीप हासिल गरी बाँकी जीवनलाई सहज बनाएर सिकेका ज्ञान र सीपको अधिकतम सदुपयोग गरी मानव जीवनको सार्थकता कायम गर्नुपर्छ भनिएको हो ।

२. विद्यार्थी जीवन श्रृजनात्मकता र रचनात्मकताले भरिएको बेला हो । प्रत्येक पाईलामा उत्सुकता र नविन ज्ञान अनि सीप समेट्दै अग्रगतिमा लम्किरहेको व्यक्ति हरेक बेठीक र गलत क्रियाकलापमा सिधै प्रतिवाद गर्दछन् । हरेक दिन नयाँ खोज र परिवर्तनका लागि युवा विद्यार्थीहरु नै जिम्मेवार भेटिन्छन् । सामाजिक र राजनीतिक परिवर्तनमा विद्यार्थीहरु नै अग्रपंक्तिमा रहेको विश्व इतिहास साक्षी छ । अधिकांश मुलुकमा राजनीतिक आन्दोलनमा सबैभन्दा बढी त्याग र बलिदान गर्ने भनेकै विद्यार्थी हुन् भन्दा अत्युक्ति नहोला । दक्षिण एशियाका राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकामा मात्र नभई विशाल मुलुक चीनमा समेत राजनीतिक परिवर्तनका लागि विद्यार्थीहरुले गरेको नेतृत्वदायी र निर्णायक आन्दोलनका बारेमा हामीले पढेका छौं ।

विश्वविद्यालयका विद्यार्थीहरुको आन्दोलनले दुनियाँका शासकहरु सबैभन्दा बढी चिन्तित बन्दछन् । विद्यार्थीहरु सडकमा उत्रे भन्ने समाचार शासकहरुका लागि तनाव नै बनेका उदाहरण अनेकौं छन् । अपेक्षित शैक्षिक वातावरण सिधै शासकीय चरित्रसँग जोडिएको हुन्छ । राज्यको शासन व्यवस्थाले शिक्षा प्रणालीलाई निर्देशित गर्ने तथ्यमा कतै बिमति छैन । कुनै पनि मुलुकको शासकीय चरित्र, शैक्षिक चेतना र राष्ट्रिय दृष्टिकोणमा त्यस देशको समृद्धि निर्भर गर्दछ । यस आलेखमा नेपालको शासन व्यवस्था परिवर्तनमा विद्यार्थीहरुको गौरवमय त्याग र बलिदानसँग वर्तमानको स्ववियु निर्वाचनसम्मका प्रसंगहरु खोस्रने जमर्को गरिएको छ ।

३. कुनै पनि असंगठित आन्दोलन उद्देश्यमूलक बन्दैन । गन्तव्यमा पुग्नका लागि संगठित र योजनाबद्ध आन्दोलन हुनै पर्दछ । आन्दोलन र संघर्ष भनेकै शासक र शोषित बीच त्यस्तै मालिक र मजदूर बीच भएको भेटिन्छ । ठीक र बेठीकका बीचको अन्तरबिरोधबाट नै आन्दोलनको प्रादुर्भाव हुन्छ । भिन्न चरित्रका स्वार्थहरुको टकराव नै संघर्ष हो । शासकहरुको स्वार्थ आफ्नो सत्तासँग र शोषणसँग जोडिएको हुन्छ भने शोषितहरुको स्वार्थ सत्ता हैन, मात्र सबैखाले शोषण र दूराचारको अन्त्य नै उनीहरुको गन्तव्य हो । राणाकालमा शिक्षा भूमिगत अवस्थामा थियो भन्न सकिन्छ । वि.सं. २००४ मा नेपाल तथा भारतको भूमिमा जयतु संस्कृतम शैक्षिक आन्दोलनको बिगुलबाट विद्यार्थीहरुले दरो उपस्थितिसहित शासक वर्गको निद हराम गराएकै हुन् । राणा शासनको अन्त्यका लागि विद्यार्थीको आन्दोलन नै निर्णायक थियो भन्दा अत्युक्ति नहोला । विद्यार्थीहरुले जायज मागका आवाजबाट सडक बुलन्द गर्नुको अतिरिक्त आम नागरिक जागरणका लागि बस्ती–बस्तीमा चेतनाका राँको सल्काउने कामले चर्चित भएका घटनाहरु स्मरणीय छन् । शैक्षिक आन्दोलन नै राजनैतिक आन्दोलनको मुख्य व्यानर बनेको उक्त कालखण्डमा विद्यार्थी र शिक्षकको संयुक्त बलबाटै तत्कालिन सरकार शिक्षा आयोगको गठन गरी शिक्षा व्यवस्थामा सुधारका लागि अग्रसरता देखाउन बाध्य भएको इतिहास साक्षी छ ।

४. जब मानव अधिकारका कुरा उठ्थे, जब शोषण, दमन, उत्पीडनका विरुद्धमा आवाज बाहिर आउँथ्यो, अनि शिक्षा सुधारको माग उठ्थ्यो तब यी सबै आन्दोलनका बाहक भनेका विद्यार्थी र शिक्षक नै हुन्थे । शिक्षक विद्यार्थीले जब सडक तताउँथे तब सरकार हतारमा आयोग गठन गरी सम्झौता गर्दै आन्दोलन तुहाईदिन्थ्यो । समय बित्दै जाँदा राजनीतिक चेतना र शैक्षिक जागरणले आम नागरिकमा बुझाईको स्तर वृद्धि भएकै हो । राजनीतिक अस्थिरताका बावजुद पनि शैक्षिक आन्दोलनले उचाई लिँदै गर्दा पार्टीहरु प्रतिबन्धित गर्दै निरंकुश पञ्चायती शासनकालमा उग्र दमन भएको थियो । शिक्षाको व्यानरमा राजनीतिक दलहरु पार्टी स्वतन्त्रताका लागि सडकमा आएकै हुन् । आवरणमा शिक्षा सम्वद्ध मागहरु देखिए पनि अन्तर्यमा भने राजनीतिक मुद्दाहरुमा केन्द्रित शैक्षिक आन्दोलन र त्यसको नेतृत्व विश्वविद्यालयका विद्यार्थीले नै हाँक्ने गरेको तथ्यमा शंका छैन ।

पञ्चायती व्यवस्थाको अन्त्यसँग जोडिएको वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनको बिजारोपण तत्कालिन पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष जुल्फीकार अली भुट्टोलाई जिया उल हकको सरकारले फाँसी दिएको बिरुद्धमा पाकिस्तानी राजदूतावासमा विरोधपत्र दिन जाँदा गरेको पञ्चायती दमन नै कारक रहेको जगजाहेर छ । यहि आन्दोलन पहिले काठमाडौं अनि बिस्तारै डँढेलो झैं देशव्यापी बन्दा हेटौँडाको भुटनदेवी हाईस्कूलबाट विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन ऐतिहासिक र उपल्लो उचाईमा पुगेको तथ्य स्मरणीय छ । सडकमा उत्रिएका शिक्षक विद्यार्थी पर्चामा शिक्षासँग सम्बन्धित मागहरु देखाउँदै व्यवस्थाको समाप्तीका लागि होमिएका थिए । निरंकुश शासनको स्थानमा राजनीतिक स्वतन्त्रताको बहाली भएपछि शैक्षिक समस्याहरु हल हुने विश्वास गरिएको थियो । त्यस बेलाको आन्दोलनको नेतृत्व पनि राजनीतिक दलहरुबाटै भूमिगत ढंगले गरिएको हुन्थ्यो ।

५. पार्टीहरु प्रतिबन्धित भएको र राजनीतिक स्वतन्त्रता बन्धक बनेको अनि राजा र व्यवस्थाका बिरुद्धमा बोले मात्र पनि ज्यानै जाने बेलामा विद्यार्थीहरु नै आन्दोलनका लागि पार्टीका भगिनी संगठन अनेरास्ववियु तथा नेविसंघ जस्ता नाम राखी विश्वविद्यालयमा स्नात्तकोत्तर तह सक्ने फेरी अर्को विषयमा स्नातकमा भर्ना हुने यसो गरेर सिंगो जीवननै विद्यार्थी आन्दोलनमा समर्पण गर्ने विद्यार्थी नेतृत्व सधैं स्मरणीय बनेका छन् । शिक्षकहरुको आन्दोलनमा विद्यार्थीले आम गिरफ्तारी दिएर प्रहरीको हिरासत तथा जेलमा रहेका राजबन्दीहरुको मनोबल उच्च राख्न र आन्दोलनको भावनालाई कायम गर्न विद्यार्थीहरुले निर्बाह गरेको भूमिका ऐतिहासिक क्षण थियो भन्न सकिन्छ । वि.सं. २०४६ सालको पञ्चायती व्यवस्था अन्त्यका बेलाका आन्दोलनमा पनि विद्यार्थीहरुको भूमिका अग्रणी स्थानमा रहेको स्विकार्नै पर्दछ । तत्पश्चात, बहुदलीय शासनकाल अनि राजतन्त्रको अन्त्यका लागि भएका आन्दोलन यी सबैमा विद्यार्थीहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दा अत्युक्ति नहोला । वर्तमानका राजनीतिक नेतृत्वमा एकाध छाडेर सबैलाई स्वतन्त्र विद्यार्थी यूनियनकै पृष्ठभूमिबाट आएका विद्यार्थी राजनीतिकै नर्सरीमा हुर्किएर आज ठूलो आकार बन्न सफल भएका हुन् भन्न सकिन्छ ।

६. अन्तमा, यत्तिबेला विद्यार्थीहरु स्ववियू निर्वाचनमा होमिएका छन् । मातृपार्टीको स्तुतीगानमा रमाएर अनि शक्तिवालाको चाकडीमा समर्पित भएर, निर्देशित आन्दोलन बोकेर कलेज र विश्वविद्यालय प्रशासनको खाजामा हराएर र आपसमै झगडा गरेर अत्यन्त झिनामसिना कुरामा अल्झिएर विद्यार्थीको सही नेतृत्व स्थापित हुँदैन । विगतका ती गौरवमय विद्यार्थी आन्दोलनका मर्म, भावना, उद्देश्य, गन्तव्य भनेकै समृद्ध राष्ट्रसँग जोडिएको छ । आज राजनीतिक व्यवस्था बदल्ने आन्दोलन होइन, विशुद्ध शैक्षिक अवस्था परिवर्तनका लागि प्रत्येक दिन बिदेशिने युवा जनशक्तिको ताँतीले स्ववियूको नेतृत्व लिनेहरुलाई च्वास्स घोच्नुपर्छ । परम्परागत जागिरे शिक्षा प्रणालीको अन्त्यका लागि वर्तमान स्ववियू नेतृत्वसँग स्पष्ट दृष्टिकोण र प्रतिबद्धता देखिनु पर्दछ । विद्यमान शैक्षिक अराजकता, असान्दर्भिक पाठ्यक्रम, जीर्ण र अशक्त परीक्षा पद्दति, जाँच भएको वर्ष दिनसम्म पनि नतिजा दिन नसक्ने असक्षम परीक्षा नियन्त्रण कार्यालयमा सिधै आक्रमण गर्न सक्ने विद्यार्थी नेतृत्व युगले मागिरहेको छ । योग्य, दक्ष, लगनशील र ईमान्दार प्राध्यापकहरुको व्यवस्थाका लागि सिधै धावा बोल्ने विद्यार्थी नेतृत्व प्रत्येक कलेजले पर्खिरहेको छ । तमाम शैक्षिक बिचौलियाको ठेगान लगाउन हिम्मत गर्ने स्ववियू नेतृत्व अनिवार्य भएको छ । आम भ्रष्ट्राचार र दूराचारको समूल अन्त्यका लागि विद्यार्थीको निर्णायक आन्दोलनको नेतृत्व आज नेपाली नागरिकबाट अपेक्षा गरिएको छ ।