प्रधानमन्त्री, यो शब्दनै यति वजनदार छ जसले देश हाँक्ने, देशलाई सम्वृद्ध बनाउने, देशलाई विश्वसामु चिनाउने काम गर्छ । आफ्नो देशको सम्पूर्ण प्रशासनहरुलाई नियन्त्रण र नियमन गर्छ । आफ्नो देशको गौरवलाई बचाउन कसैको सामू शिर नझुकाउने देश र जनताको सधैं भलो चिताउने व्यक्ति हो प्रधानमन्त्री । देशप्रेम, पारदर्शिता, र जनउत्तरदायी नेतृत्व नै देशको समृद्धिको मूल मन्त्र हो र प्रधानमन्त्रीको कर्तव्य पनि यहि नै हो।तर विडम्वना अहिलेका हाम्रा प्रधानमन्त्रीहरु आफ्नो कुर्सी बचाउन को प्रधानमन्त्री बनेर कसले कसलाई खसाल्ने, फेर्ने भन्ने कुरा मै व्यस्त छन् ।
नेपालमा प्रधानमन्त्री बन्नु भनेको सगरमाथा चढ्ने जत्तिकै कठिन छ, तर चढिसकेपछि दृश्यमात्र होइन, अवसरहरू पनि गज्जबका आउँछन् । इतिहास हेर्ने हो भने, धेरै प्रधानमन्त्रीहरू चुनावअघि जनताको सेवक बनेका छन्, अनि सत्तामा पुगेपछि राजा महाराजाको जस्तै जीवन बिताएका छन् । म पनि एउटा असल र आफ्नो देशलाई माया गर्ने नेपाली नागरिक भएको कारणले गर्दा यदि म प्रधानमन्त्री भए भनेँ, म भाषणले होइन, वास्तविक कर्मले देश परिवर्तन गर्ने थिएँ । अवश्य मेरो प्राथमिक लक्ष्य देशलाई स्वर्ग बनाउने नै हुने थियो । हाम्रो देशमा भाषण नै ठूलो कुरा हो । नेताहरू यति मिठो बोल्छन् कि लाग्छ, उनीहरू बोलेको एकै रातमा नेपाल स्वर्ग बन्छ । उनीहरू विकासको महल सपनामै बनाएर जनतालाई धेरै खुशी दिन्छन् ताकी वास्तविकतामा के भइरहेको छ त्यो कुरा कसैलाई पत्तो नहोस् । यदि म प्रधानमन्त्री भएँ भने भाषण दिनुअघि १० वटा काम गर्ने थिएँ । म हरेक दिन टेलिभिजनमा देखिन्थेँ, तर भाषण दिन होइन–काम गर्न । जनताले मेरो काम देखेर विश्वास गर्ने अवस्था सिर्जना गर्ने थिएँ । जनताले सोध्लान्, “प्रधानमन्त्रीज्यू तपाईले विकासको कुरा गर्नुभएको थियो नी ?” मैले अत्तर दिने थिएँ, ‘हजुर, कुरा कम, काम बढी ।’
नेपालमा भ्रष्ट्राचार यस्तो संस्कार बनेको छ कि घुस नखाने कर्मचारीलाई नै ‘बेवकुफ’ भन्ने चलन छ । भ्रष्ट्राचार देशको पुरानो संस्कृति नै भइसक्यो जस्को संरक्षण गर्न सबैजना लागी परेका छन् । यदि म प्रधानमन्त्री भएँ भने, भ्रष्ट्राचार गर्ने जोसुकैलाई कानून भन्दा बाहिर नराख्ने थिएँ । ठूला होस् वा साना सबैलाई समान कारबाहीको दायरामा ल्याउने थिएँ । मैले ‘भ्रष्ट्राचारमुक्त नेपाल’ अभियान सुरु गर्ने थिएँ । भ्रष्ट्राचार गर्नेहरुको सम्पत्ती नै जफत गरेर जनता सामु राख्ने थिए । यसो गर्दा, भ्रष्ट्राचार गर्नेहरू आफै लज्जित हुन्थे । इ–गभर्नेन्स प्रणाली लागू गरेर सरकारी सेवा प्रणालीलाई प्रभावकारी बनाउने थिएँ । जनताको मनमा प्रश्न आउला भ्रष्ट्राचार अन्त्य साँचै सम्भव होला त ? मेरो उत्तर हुने थियो, हामी जनताको साथमा छौं भने असम्भव केही छैन ।
आज लाखौँ नेपालीहरू विदेशमा पसिना बगाइरहेका छन् । देशमा अवसरहरु छैन भनेर विदेशिनु भनेको आफ्नै घर छोडेर अरुको घरमा बास खोज्न जानु जस्तै नै हो । ‘विदेश जाऊ र रेमिट्यान्स पठाऊ’ भन्ने नारा को सुरुवात गरिएको जस्तो छ । यदि म प्रधानमन्त्री भएँ भने, नेपालमै रोजगारी सिर्जना गर्ने थिएँ । कृषि, पर्यटन, उद्योग र प्रविधिमा लगानी बढाएर, युवाहरुलाई नेपालमै कमाउन योग्य बनाउने थिएँ ।
जनताले सोध्लान्, ‘प्रधानमन्त्रीज्यू, नेपालमै रोजगारी सम्भव छ ?’
मैले भन्दिन्थेँ, ‘हामीले आँट गरे, नेपालमै सुन फल्छ !’
नेपालमा स्वास्थ्य र शिक्षा जति महङ्गो छ त्यति नै कमजोर छ । विपन्न वर्गले राम्रो शिक्षा पाउन गाह्रो परेको देख्न सकिन्छ । बिरामी परे उपचार गर्न पनि कठिन छ । यदि म प्रधानमन्त्री भएँ भने, शिक्षा र स्वास्थ्य गरिब तथा दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क बनाउने थिएँ । गुणस्तरीय शिक्षा सबैका लागि उपलब्ध गराउन निःशुल्क तथा व्यवहारिक शिक्षा प्रणाली लागू गर्ने थिएँ ।
सरकारी विद्यालय र अस्पतालमा आधुनिकीकरण ल्याएर यस्को स्तर र व्यवस्थापन माथि उकास्ने थिएँ । जसका कारण सम्पन्न वर्गका मानिसहरूले पनि सरकारी सुविधा उपयोग गर्दा गर्व मानुन् । कोही पनि उपचार गर्न विदेशिनु नपरोस् । सरकारी सेवानै उत्कृष्ट भयो भने निजीले आफ्नो बाटो आफै फेर्न थाल्छन् ।
नेपालमा पुल, सडक र रेलको चर्चा धेरै हुन्छ तर काम कत्ति पनि भएको देखिँदैन । कति त उद्घाटन भएको पुल नै हराइसकेको हुँदा यदि म प्रधानमन्त्री भएँ भने पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने थिएँ । ठूला–ठूला उद्घाटन भन्दा साना तर आवश्यक विकास गर्ने थिएँ । प्रत्येक गाउँमा बिजुली र खानेपानीको सुनिश्चितता गर्ने थिएँ । जनताले सोध्लान् ‘प्रधानमन्त्री ज्यू, मेगा प्रोजेक्ट कहिले आउँछ ?’ मैले भन्दिन्थेँ, ‘पहिला आधारभूत सुविधा पुरा गरौं, त्यसपछि ठूला सपना देख्न थालौं, ‘समानता, समावेशिता र न्याय समाजका महत्वपूर्ण तत्व हुन् । जातीय लैंगिक तथा आर्थिक भेद्भाव हटाएर सबै नागरिकलाई समान अवसर उपलब्ध गराउने थिएँ ।
यदि म प्रधानमन्त्री भएँ भने, न भाषणले, न लोभले,.न झुटको राजनीति गरेर देश चलाउने थिएँ । मेरो राजनीति कर्ममा आधारित हुन्थ्यो । नेपाललाई समृद्ध, भ्रष्ट्राचारमुक्त र आत्मनिर्भर राष्ट्र बनाउनेतर्फ समर्पित हुने थिएँ । सपना देखाउनु मात्र होइन, पुरा गर्ने नेतृत्व चाहिन्छ । देशलाई बचाउने कि बेच्ने, त्यो हाम्रो सोचमा निर्भर गर्छ । तर जनता सचेत भए, सही नेता चुने नेपाललाई विकासशील होइन, विकसित बनाउने सपना साकार हुन सक्छ ।
अब तपाई सोच्नुस्, ‘मलाई प्रधानमन्त्री बनाउने कि नबनाउने ?’
कक्षा–११, हेटौँडा स्कूल अफ म्यानेजेमन्ट, हेटौँडा–४