राजा फर्कने चर्चाले राष्ट्रिय राजनीति तरंगीत छ । राजा कुन बाटोबाट फर्कने हो, यसको संवैधानिक प्रक्रिया के हुने, राजा आन्दोलनले स्थापित हुने हो कि दलहरूसँगको सम्झौता र सहमतिले तस्बिर धमिलो छ । सडकमा एकथरी मानिसहरू राजाको नेतृत्वको शासन प्रणालीका कुरा गर्छन्, राजा आएपछि अहिले देखिएको बेथिति छु मन्तर हुने दावी गर्छन् । के त्यो सम्भव छ ? सक्रिय राजतन्त्रले मूलूकलाई अघि बढाउन सक्छ ? कदापि सक्दैन । तसर्थ राजा चाहिएला तर कस्तो राजा कमल थापा र राजेन्द्र लिङ्देनले भनेको जस्तो अभिभावकीय संस्था हो । राजासहितको प्रजातन्त्र भनेको शासन जनताको प्रतिनिधिले गर्ने, राजा आलङ्कारिक संस्थाको रुपमा रहने व्यवस्था हो । मुलुक गणतन्त्रमा छ । राजा पाखा लागिसके । वर्तमान संविधानले राजा चिन्दैन । तीनवटा त राष्ट्रपति नै चयन भैसक्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल कायम छन् । ठूला राजनीतिक दलहरू गणतन्त्रवादी दल हुन् । यस्तो अवस्थामा राजा फर्काउने विषय आफैंमा चुनौतिपूर्ण छ । तर वर्तमान व्यवस्थाले जनताको अवस्था बदल्न असमर्थ भएपछि जनता दल र नेताहरूप्रति आक्रोशित छन् । जनता विश्वसनीय विकल्पको पक्षमा छन् । दलहरूबाट आजित जनता सुशासन र भ्रष्ट्राचारमुक्त देश खोजिराखेका छन् ।
यसै सन्दर्भमा राजा ज्ञानेन्द्र्र देश दौडाहामा थिए । जनतासँग साक्षात्कारमा रहेका राजाले अन्ततः सहयोगका लागि जनतासँग आव्हान गरे । फलतः जनता सडकमा देखिए । राजावादी दल, संघ, संस्था थुप्रै अभियन्ताहरू आन्दोलनको तयारीमा छन् । सरकार पनि प्रतिवादमा उत्रेको छ । यो राजनीतिक घटनाक्रम मुठभेडको तयारी हो । लोकतन्त्रको विकल्प राजतन्त्र होईन, राजासहितको लोकतन्त्र हो । लोकतन्त्रको विकल्पमा अझ उन्नत लोकतन्त्र, फराकिलो लोकतन्त्र भन्ने हो भने त्यहाँ परम्परागत शक्ति किन निषेध हुनुपर्ने ? यो प्रश्नको जवाफ जनताले खोजेका छन् । तसर्थ अहिले राजाको पक्षमा गज्जबको माहौल बनेको छ ।
अहिले राजसंस्था पुनस्र्थापनाको पक्षमा विशेष र अभूतपूर्व परिस्थिति निर्माण भएको छ । यो विशिष्ट परिस्थितिमा सबैले व्यक्तिगत अहम्, असन्तुष्टि र दलगत स्वार्थबाट माथि उठेर एक अर्कासँग समन्वय गरेर अघि बढ्दा आन्दोलनको आँधिबेहरी सिर्जना हुन्छ । त्यसैको रापतापमा राजसंस्था पुनस्र्थापना हुन सक्छ । राजा स्थापित कि आन्दोलनले गर्छ कि संवैधानिक दलहरूसँगको वार्ता र सहमतिबाट हुनसक्छ । आन्दोलनले मुठभेड र हिंसा निम्तिन सक्छ, मानवीय क्षति हुन सक्छ । तसर्थ वर्तमान अवस्थालाई मध्यनजर गरेर नवीन समझदारीबाट शान्तिपूर्ण सहमति वा सम्झौताबाट राजालाई स्पेश दिनु उपयूक्त देखिन्छ । बेलायतमा एउटा भनाई प्रचलित छ, ‘राजाले गल्ती गर्दैन किनभने राजाले शासन गर्दैन ।’ जनताको छोराछोरीले नै शासन व्यवस्था चलाउने हो । घरपरिवारमा जस्तो अभिभावक हुन्छ त्यस्तै देशको अभिभावक राजा हुन्छ । प्लेटोले पनि राजा दार्शनिक हुनुपर्छ भन्थे । उनका विचारमा राज्य सञ्चालन गर्नका लागि ज्ञान, नैतिकता र न्यायबारे गहिरो बुझाइ आवश्यक पर्छ, जुन केवल दार्शनिकहरूसँग मात्र हुन्छ भन्थे ।
उनले आफ्नो ग्रन्थ ‘गणराज्य’मा ‘दार्शनिक राजा’ को अवधारणा प्रस्तुत गरेका छन् । प्लेटोका अनुसार, जबसम्म दार्शनिकहरू राजा बन्दैनन् वा राजाहरूले दार्शनिकझैं सोच्न सुरु गर्दैनन्, तबसम्म आदर्श राज्य सम्भव छैन । दार्शनिकहरू सत्यको खोजी गर्छन्, उनीहरू लोभ, मोह र व्यक्तिगत स्वार्थभन्दा माथि उठेका हुन्छन्, जसले गर्दा उनीहरू निष्पक्ष र न्यायपूर्ण शासक बन्न सक्छन् । यस अवधारणाको आधार गुफा दृष्टान्तमा पनि भेट्न सकिन्छ, जहाँ प्लेटो भन्छन् कि आमजनता अज्ञानताको गुफामा बाँधिएका हुन्छन्, तर दार्शनिक ज्ञानको ज्योति प्राप्त गरी सत्यको खोजी गर्छन् । यही कारण, प्लेटोले भनेका छन् कि राज्यको नेतृत्व तिनैले गर्नुपर्छ, जसले सत्य चिनेका छन् अर्थात् दार्शनिकहरू । माथि उल्लेखित प्लेटोको भनाईले पनि देशप्रेम राजालाई भन्दा अरूमा कमै हुन्छ भन्ने देखिन्छ । नेपालको विशिष्ट खालको ईतिहास छ । राजा नै देशका निर्माता हुन् । गोर्खाका राजाले आरम्भ गरेको एकीकरणको मूर्तरूप हो सिङ्गो नेपाल र नेपाली हुनुको प्राप्त गौरव । जसको श्रेय राजाहरूलाई जान्छ । यसो भन्दा राजाले गल्ती नै गर्दैनन् भन्ने होईन । पछिल्लो समय माओवादी हिंसाको कारण राजा ज्ञानेन्द्रको माघ १९ को कदम उपयुक्त नरहेको घटनाहरूले देखाउँछ । तसर्थ ठूला दल र राजा बीच अविश्वास गहिरो छ ।
मुलुक गणतन्त्रात्मक भइसक्यो । ती राजालाई स्पेश दिन चाहँदैनन् । तर जनता ठूला दल र नेताहरूप्रति निराश छन् । यिनले केहि गर्न सकेन । यि भ्रष्ट भए । यो भ्रष्ट व्यवस्था हटाउन सडकमा आएका छन् । देश द्वन्द्वको डिलमा उभिएको छ । राजावादी र गणतन्त्रवादीको द्वन्द्व अब मुलुकले थेग्न सक्दैन । तसर्थ शान्तिपूर्ण ढंगबाट निकास खोज्न जरूरी छ । राजा फ्यालेका बेलायत, कम्बोडिया, स्पेन जस्ता देशले पनि पछि राजा पूनस्र्थापित गरेका उदाहरण छन् । संविधानको अधिन रहने आलङ्कारिक राजा कसैको बिमतिको कारण नबन्नुपर्ने हो । तातो दुधले मुख पोलेको मानिस मोहि पिउँदा नि फुक्छ भनेकोझैं दलहरू राजा अन्ततः राजाको नेचर सक्रिय नै हुन्छ भन्ने त्रासले पनि काम गरेको छ । माघ १९ पछि राजा ज्ञानेन्द्रले म देखिने मात्र राजा होईन भनेका थिए, पछि घटनाक्रमले राजा सक्रियरुपमै राजनीतिमा आए । जुन ईतिहासबाट धेरै पाठ सिक्न जरूरी छ । १९ वर्षको अवधिमा हेटौँडाको राप्ती नदिमा धेरै पानी बगिसकेको छ । ठूला दलहरूको भ्रष्ट्राचार र अर्कमण्यताले आजको यो राजनीतिक परिस्थिति निम्तिएको जगजाहेर छ ।
राजावादीको सडक आन्दोलन घोषणा भैसकेको छ । व्यवस्थाप्रति आम जनताको तिव्र आक्रोश छ । जनता सडकमा आउँदा के हुँदो रहेछ भर्खर बंगलादेशमा शेख हसिनाको बहुमत सरकार काम लागेन । उनी भाग्नुप¥यो । राष्ट्रपति कार्यालयमा जनता छिरेर श्रीलंकामा यी ऐतिहासिक घटनाहरूलाई पनि मनन् गर्न जरूरी छ । बेलायती ईतिहास पनि हेरौं । क्रमवेलको नेतृत्वको संसदले राजा काटेको तर दश वर्षपछि होल्याण्डमा निर्वासित राजालाई स्थापित मात्र गरेनन् क्रमवेलको चिहानबाट लाश झिकेर फाँसी दिएको घटनाक्रमबाट पाठ सिक्न जरूरी छ । राजावादीहरूको आन्दोलनले मुलुकलाई अपुरणीय क्षति पुग्ने देखियो । १५ गतेको कार्यक्रम नै उग्र देखियो । प्रहरीले ज्यादती गरेको आरोप राजावादीको छ । प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेपछि आन्दोलन हिंसात्मक भयो भन्ने राजावादीको आरोप छ । आन्दोलनको क्रममा सविन महर्जन र एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको छ । घाईतेहरूको उपचार भइरहेको छ । यस किसिमको द्वन्द्व मुलुकले थेग्न सक्दैन । आर्थिक हिसाबले पनि हामी माथि उठ्न नसक्ने अवस्थामा छौं । हिंसाले जो हताहत भएपनि नेपाली नागरिक नै हुने हुँदा अबिलम्ब वार्ताबाट राजनीतिक तहबाट यो समस्याको समाधान खोजौं । निंरकुशतन्त्र, सक्रिय नेतृत्व आजको युगमा सम्भव छैन । संविधानको परिधि भित्र रहने अभिभावकीय संस्थाको रूपमा राजालाई पुनस्र्थापना गर्न राजनीतिक दलहरूको सहमति र सहकार्यबाट गर्दा उपयुक्त हुन्छ ।
शासन व्यवस्था त जनताको प्रतिनिधिले चलाउने हो । तसर्थ अब राजावादीहरुको जनमतलाई पनि नजरअन्दाज नगरौं । कुनैबेला माओवादी आन्दोलन पनि यो केहि होईन भनिन्थ्यो । सुरक्षा निकायबाट समाधान हुन्छ भनियो । तर प्रकारान्तरले यो आन्दोलनले ठूलो परिवर्तन ल्यायो । तसर्थ यो आन्दोलन र मुद्दाको समाधानका लागि बल प्रयोग होईन, वार्ता र सहमतिबाट निकास खोजौं । ठूलो क्षति पछि खोजिने समाधान अर्थहिन हुन्छ । चेतना भया । अस्तू ।