मुना दिदी, तपाईंले महाकाश महाकाव्यमा के भन्न खोज्नुभएको हो ?

आदरणीय मुना दिदी,
यो भाइको नमस्कार ।

यहाँ मेरो प्रदेश राजधानी हेटौँडामा बस्नु हुँदो रहेछ । म पनि बागमती प्रदेशको बासिन्दा हुँ, त्यसैले म बेलाबेलामा जान्छु त्यहाँ । यसरी पटक पटक जाने ठाउँ भएर पनि तपाईंको र मेरो प्रत्यक्ष भेटेको छैन रहेछ । त्यसैले तपाईं मलाई चिन्नुहुन्न भन्ने लाग्छ । म एउटा पाठक हुँ, र हुँ साहित्यलाई माया गर्ने व्यक्ति पनि । एउटा पाठकले लेखकलाई चिन्ने भनेको त उसको व्यक्तित्वभन्दा पनि उसका कृतिलाई हेरेर हो । मैले पनि हालसालै यहाँको महाकाव्य ‘महाकाश’ सर्सर्ती पढेँ । त्यसपछि यो पत्र लेख्ने धृष्टता गरेको हुँ । गल्ती भएको भए माफ पाऊँ ल !

तपाईको हेटौँडामा किताबघर भएजस्तै मेरो नारायणगढमा सम्पूर्ण किताब छ, तर त्यहाँ तपाईको महाकाव्य आएको रहेनछ । मेरा आदरणीय गुरु केदारनाथ खनालको निवासमा जाँदा टेबुलमाथि यहाँको महाकाव्य देखेँ । आवरण रहेको जूनको तस्बिरले निकै तान्यो । गुरुसँग पढ्न भनेर त्यो किताब ल्याएँ । किताब मन पर्‍यो ।

अनि नि दिदी,
त्यसो त म अलिक अल्छी खालको पाठक हुँ । मलाई कविता मन पर्छ, तर महाकाव्य एकदमै कम पढ्छु । केही दिन अघि भएको एउटा भेटमा महाकाव्यकार तथा अन्वेषक चन्दप्रसाद न्यौपानेले नेपालीमा पाँच सयभन्दा बढी महाकाव्य छापिइसकेको चर्चा गरेका थिए । मेरो हकमा भन्ने भने त्यस्तै ५०–६० जतिचाहिँ पढेको छु कि ? त्यही लहरमा यहाँको महाकाव्य पनि थपियो । पढ्दा ठिकै लाग्यो । म भौतिकवादी भएर पनि होला विषयले त्यति तानेन त म के गरुँ ?

यहाँको बारेमा पत्रपत्रिकामा बेलाबेलामा पढेको हो । यहाँ एकान्त साधना गरिरहनुभएको रहेछ । खुसी लाग्यो । खासमा हल्लामा रमाउनेले सिर्जना राम्रो गर्न सक्दैन भन्ने ठान्छु म । तर पनि मान्छे सामाजिक प्राणी भएकाले समय समयमा मानिसहरुको जमातमा जानै पर्ने रहेछ । यहाँ आँचलसँग जोडिनुभएको रहेछ । त्यो पनि साहित्यका माध्यमबाट समाजसँग जोडिने कुरा नै हो । नेपाली लेखक संघ, मातृभूमि साहित्य समाजसँग पनि जोडिनुभएको कुरा कृतिका पछाडि राखिएको व्यक्तिवृत्तबाट थाहा लाग्यो । तर पनि हाम्रो जम्काभेटचाहिँ भएको रहेनछ । अब हेटौँडा आउँदा पक्का भेट्छु म ।

मुना दिदी,
यहाँले महाकाव्यका नायक ओशो रजनीशप्रति समर्पण गर्दै यस्तो लेख्नुभएको रहेछ ः
परम चेतना नित्य नूतन
विनय भावले गर्छु सिञ्चन
अधिक प्यारका छल छल्छल
हृदय सिन्धुमा बग्छ कल्कल । (अर्याल, पृ. ३)
हो, यसरी लेखक नायकप्रति विनीत हुनु राम्रो कुरा हो । जे लेखिन्छ, तन्मय भएर लेख्नुपर्छ भन्ने ठान्छु म पनि । आफूलाई लागेको कुरा नै हो लेख्ने भनेको । अनि पाठकले पनि आफूलाई मन पर्ने कुरा नै हो पढ्ने भनेको । यहाँ त ओशो सन्यासी नै हुनुहुँदो रहेछ । ठिक छ, आफूले मानेको व्यक्तिका बारेमा यति विशद ग्रन्थ तयार पार्नु निकै राम्रो काम हो ।
मलाई पनि ओशोका क्यासेटहरु सुन्न निकै मन पर्छ, तर पनि म उनको अनुयायीचाहिँ होइन । मैले सुरुमै भनिसकेँ म भौतिकवादी विचार बोक्ने मान्छे । मलाई आध्यात्मिक कुरामा कत्ति पनि विश्वास छैन । ओशोका वाणीलाई आध्यात्मिक कोणबाट भन्दा पनि दार्शनिक र व्यवहारिक कोणबाट हेर्छु म । उनको सबै धर्मगुरुप्रति राखिने समभाव मलाई मन पर्छ । म ठान्छु उनी दार्शनिकभन्दा पनि विभिन्न विचारलाई संश्लेषण गरेर प्रवचन दिने प्रवचनकर्ता हुन् । जे होस् उनको प्रस्तुति आकर्षक छ । यही भए पनि मैले तपाईको महाकाव्य पढेको हुँ ।
साँच्चै दिदी,
पढ्नु भनेको पनि त आफूलाई ध्यानकै अवस्थामा पु¥याउनु त हो । फेरि भन्नुहोला, तिमी भौतिकवादी मान्छेले पनि ध्यानको कुरा किन गरेको ? मेरो विचारमा ध्यान भनेको धार्मिक कुरा हुँदै होइन, यो त मनसँग जोडिने कुरा पो हो त । अनि मनको कुरा सिधै कसरी धार्मिक भयो । धर्मले त मनलाई विषय वासनाको स्रोत मान्छ, होइन र ?

यहाँले आफ्नो महाकाव्य मङ्गलाचरणबाट सुरु गरेर गुरु वन्दना, जन्म, बाल्यकाल, प्रेमालाप, तीर्थ भ्रमण, प्रेम वियोग, बुद्धत्व प्राप्ति, रजनीश आचार्य, अमेरिका प्रस्थान, अमेरिकाबाट निर्गमन, पुना आश्रम फिर्ता, ओशो मेडिटेसन रिसोर्ट पुना, आश्रममा अद्भुत गतिविधि, महापरिनिर्वाण हुँदै महापरिनिर्वाण पश्चात्मा पु¥याएर टुङ्ग्याउनु भएको छ । यसरी नायक रजनीशका समग्र जीवनी उतारिएकाले यो महाकाव्य नायककेन्द्री महाकाव्य बनेको छ । यसमा भारतदेखि लिएर अमेरिकासम्मको स्थानको वर्णन गरिएकाले पनि बहुदेशीय बनेको छ ।

महाकाव्यकार दिदी,
म यहाँ कृतिभित्र सीताराम अधिकारीले लेखेको ‘महाकाशमाथि एक दृष्टि’ शीर्षकको भूमिकामा जस्तो महाकाव्यका तत्वका आधारमा विश्लेषण गर्ने पक्षमा छैन । उनले उक्त भूमिकामा सिद्धान्त र विश्लेषण गरिहालेका छन् । यो छोटो चिठीमा मलाई लागेका केही पाठकीय टिप्पणी मात्र उठाउँछु । यहाँको छन्दमा निकै राम्रो प्रवाह रहेछ । यहाँले ६ अक्षर हुने सोमराजी छन्ददेखि लिएर २१ अक्षर हुने स्रग्धरा छन्दसम्मको सुन्दर प्रयोग गर्नुभएको छ । आफ्नो १६ सर्गको महाकाव्यमा २० वटा शास्त्रीय छन्दको सुन्दर प्रयोग गर्नुभएको छ । यसका लागि दिदीलाई हार्दिक बधाई छ ।
मलाई यहाँले दोस्रो सर्गमा राखिएको ‘गुरु वन्दना’ शीर्षकलाई पुष्टि गर्नका लागि वसन्ततिलका छन्दमा लेख्नुभएको यो श्लोकले निकै तान्यो :

सुन्दै गइन् सुखद्का अनमोल बोली
झारेर आँसु दृगका वह त्यो पखाली
मागिन् बिदा ऋषिसँगै मन शान्त पारी
पर्खिन् धरा शुभ घडी मृदु आश पाली (अर्याल, पृ. ५५)

र अन्त्यमा,
मुना दिदी, यहाँले मसँग दिदी भनेर सम्बोधन गर्नुको कारण सोध्न मन लाग्यो होला होइन त ? म चितवनबासी, यहाँ मकवानपुरबासी । कसरी दिदी भाइ ? चितवन बसाइँसराइले बनेको जिल्ला हो । म तनहुँमा जन्मेर चितवन झारिएको हुँ । मेरो मावली गोरखा हो । मैले यहाँको व्यक्तिवृत्त हेर्दा यहाँ पनि गोरखामा जन्मिनु भएको रहेछ । अनि भएन त दिदी भाइ ?
चिठी टुङ्ग्याउनुअघि यहाँको लेखनीलाई सलाम । लेख्नचाहिँ नछोड्नुहोला । नयाँ नयाँ कृति पढ्न पाइयोस् । यहाँको महाकाश महाकाव्यले सिङ्गो आकाश ढाक्न सकोस् । यो नारी दिवसको शुभकामना । भबतु सब्ब मङ्गलम् ।

तपाईंलाई माया गर्ने भाइ
रमेश प्रभात
भरतपुर, चितवन