हेटौंडाः नेपालीहरुको महान चाड दशैंको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार सूचना जारी गर्दै दशैंका विभिन्न कार्यहरुको शुभसाइत सार्वजनिक गरेको हो ।
समितिले विजया दशमीको टीकाको शुभसाइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको जनाएको छ । उक्त दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको शुभसाइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन उत्तम हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलद्वारा जारी सूचनामा जनाइएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लासका साथ बडादशैं मनाइन्छ । घटस्थापनाका दिनदेखि दशैंको नवरात्र प्रारम्भ हुन्छ । घटस्थापनाको शुभसाइत असोज १० गते विहान १०ः२३ बजे रहेको छ । नवरात्रभर ९ वटा देवीस्वरुपको पूजा आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनाअनुसार असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे रहेको छ । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने सूचनामा उल्लेख छ । यसैगरी, असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । नवरात्रको सातौं दिन असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यस दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः ३५ बजेको रहेको सूचनामा उल्लेख छ । असोज १७ गते सोमबार महाअष्टमी र सोही राति कालरात्रि पर्व परेको छ । असोज १८ गते मंगलबार महानवमी र असोज १९ गते बुधबार विजयादशमी रहेको छ ।
बडादशैंको मुख्य दिन विजया दशमीका दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्रा र ८ः४७ मा तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको समितिले जारी गरेको सूचनामा जनाइएको छ । दशैंको अन्तिम दिन असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ ।