सुधिर भद्र

गत मंगलवार राजधानीमा बाक्लो भिड जम्मा भयो, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराहरु घन्किए । यस्तै भिडले केहि वर्ष अघि गणतन्त्र मागेको थियो । राजा चोर देश छोड भनेको थियो । अन्तिम पटक राजाले सम्बोधन गरेर नारायणहिटी छाड्दा सम्बोधन पछि राजा बस्ने कुर्सिमा ठूलो तमासा भएको थियो । केहि वर्षको अन्तरालमा माग फेरीएको छ । उही जनता, उही स्थान तर मांग फेरीएको छ ।

२०६२÷०६३ को आन्दोलन पश्चात एक हर्ष थियो सबैमा, व्यवस्था परिवर्तन भयो अब सबै राम्रो हुन्छ, देशको विकाशमा तिब्रता आउछ भन्नेमा । राजनैतिक क्रान्ति सफल भयो अब पालो आर्थिक क्रान्तिको भन्ने धारणाहरु सबैले व्यक्त गर्न लागेका थिए । प्राजातन्त्रको नाम फेरीएर अलि नयाँ ब्राण्डिगं गरेर ल्याईएको गणतन्त्रमा जुन अपेक्षा गरिएको थियो त्यो चाहि पुरा हुन सकेको छैन । विश्वमा नै अभ्यास गरि रहेको प्राजातन्त्रको अनुभव नेपाली जनताले पनि गर्न पाए । आ–आफ्नो विचार र भावनाहरु स्पष्टसंग राख्न पाए । अहिले सरकारी कार्यालयहरु जाँदा कर्मचारीहरुको नाम पढ्दा मिश्रित जनजातीहरुको सहभागीता देखिन पाईयो । महिलाहरुको पनि उल्लेख्य सहभागीता देखियो । पछिल्लो समयमा कोटा प्रणालीले गर्दा समान सहभागीतामा केहि सजिलो भएको छ । सामान्य सरकारी काम गर्न सदरमुकाम धाउन पर्ने बाध्यातालाई स्थानीय स्तरमा नै सरल पहुँच गरी दिँदा सेवाग्रहीहरु लाभान्वित भएका छन् । हालको तीन तहको व्यवस्थापकिय पद्धतीमा प्रदेश सरकारको भूमिका चाँही खासै देखिदैन ।

शुरुवाती वर्षहरुमा सात दल मिलेर सरकार चलाएका थिए । एक किसिमको प्रतिपक्ष बिहिन सरकार चलाएका थिए । केही गर्ने सम्भावना पनि बोकेको सरकार थियो । तर अफसोच यसमा पनि जनताले सोचेको जस्तो र चाहेको जस्तो हुन सकेन । सिमित व्यक्ति र नेताहरुका नजिकाले मात्र लाभ लिन सके । पार्टिहरु टुटने फुटनेका श्रृखलाहरु बढन थाले । जनताको भन्दा पनि व्यक्तिगत स्वार्थमा दलहरु केन्द्रित भएको देखिन थाल्यो ।

पछिल्लो पटक केपी ओलीको सरकारले चुच्चे नक्सा ल्याएपछि सच्चा राष्ट्रवादी छविको रुपमा उनलाई हेर्ने गरेको पाईएको थियो । लभ यु केपी बाको क्रेज निकै बढेको थियो । अध्यादेशको राजनीति, पार्टी फुटाउने जोड घटाउमा उनको नाम आउन थाले पछि यो नारा अलि सेलाएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरु घमाघम पक्राउ पर्न थाले पछि जनातामा सरकारले निश्पक्ष छानविन गर्न लागेको भान भएको थियो । यस घटनामा संलग्न एक प्रमुख व्यक्ति पक्राउसँगै नयाँ ट्वीस्ट आएपछि उनी प्रतिको सम्मानमा अलि घटेको जस्तो देखिन्छ ।

त्यसैगरी गिरीबन्धुको जग्गा प्रकरणमा उनी स्पष्टसँग प्रतिवाद गर्न पछि परेको देखिन्छ । रवि लामाछानेसँग सम्बन्धित कुराहरुमा पनि उनी प्रति नकारात्मक धारणाहरु देखिन थालेको छ । लामिछाने दोषी होलान तर अलि व्यक्तिगत नै गएको हो कि जस्तो नि भान पर्न थालेको छ । देशका विभिन्न स्थानमा विभिन्न क्षेत्रबाट अनुसन्धान बढाईएको छ यस्तै अन्यको हकमा भने कानूनी प्रक्रियामा केहि शिथिलता अपनाईएको आरोप उनलाई छ ।

अहिले कुलमान घिसिगसँग सम्बन्धित विवादास्पद निर्णयहरु पनि चर्चामा छ । लोडसेडिङ हटाउन अहम भूमिका खेलेकोमा जनताहरु कुलमानलाई उदाहरणको रुपमा पेश गर्छन । उनको एकल प्रयासले मात्र भएको होईन होला तर उनको सक्रियतामा भएको कुरा हामीले मान्नै पर्छ । कुनै दलसँग उनी नजिक छ भनेर उनको सबै कामको नकारात्मक मात्र टिप्पणी गर्नु हुन्न । विभिन्न बाहनामा सामान्य मर्यादाको पनि ख्याल नगरी सरकारले अपनाएको रबैया राम्रो मानिएको छैन । स्पष्ट रुपमा व्यक्तिगन ईगो साधेको देखिएको छ । त्यसको मुख्य हतियार उर्जा मन्त्रीलाई बनाईएको देखिएको छ ।

काठमाण्डौ महानगरपालिकासँग पनि सरकारको सम्बन्ध त्यत्ति राम्रो देखिएको छैन । नेपालमा मात्र नभई विश्व मानसमा नै छोटो समयमा काठमाण्डौको मेयरको नाम चिनाउन उनी सफल भएका छन् । अपवादको रुपमा उनका कुनै कुनै अभिव्यक्तिमा अलि परिपक्व पन देखिएको छैन । उनले काठमाण्डौमा देखिने गरी परिवर्तन चाहि अवश्य लिएका छन् । देखिने परिवर्तनका कारण नै सबै खाले नेतृत्वबाट यसै किसिमको परिवर्तनको अपेक्षा गरिएको छ ।

राजनैतिक नियुक्ति गरिएका व्यक्तिहरु भ्रष्ट्राचार र अन्य कसुरमा दोषी ठहरीएका छन् । धरै जसो राजनैतिक नियुक्ति विवादित छन् । आर्थिक लेनदेनको अडियो भिडियोहरु असरल्ल बजारमा छन् । सबैको मनमा एउटा प्रश्न छ राजनैतिक दलहरुले नियुक्त गरेका मानिसहरुले बदमासी गरे पछि त्यसको जिम्मेवार राजनैतिक दल एवम् त्यसका प्रमुख व्यक्ति हुने कि नहुने । आर्थिक हिनामिना सहमितिमा गरिएको हुन सक्ने आंकलन जनताले गर्न थालेका छन् । पाटिगत र व्यक्तिगत स्वार्थको लागि विधान प्रक्रियालाई पुनरलेखन र मिलान गरिएको देखिन्छ ।

पछिल्लो पटकको आन्दोलनबाट ल्याईएको व्यवस्थाबाट पनि उल्लेख्य सुधार नदेखिएपछि जनताहरु विकल्पको खोजीमा छन् । विवेकशिल साझा पार्टि, राष्ट्रिय स्वतन्त्र पार्टि, बालेन साह, हर्क साम्पाङ, दिनेश हमाल यसकै उदाहरण हुन । अहिले मुलुकले एउटा गतिलो अभिभावक खोजी गरी रहेको छ । जसको पर्यायको रुपमा राजालाई एक समुहले लिन थालेको छ । अहिलेको छिन्न भिन्न अवस्था प्रति वाक्क भएकाहरुको समूह बढदै छ । यो भिडमा कोहि देशका लागि छन, कोहि आफ्ना पार्टीको ब्राण्ड भ्यालु बढाउन छन, कोही व्यक्तिगत फाईदाका लागि छन् । सबैको सामूहिक बुझाई लामो समयसम्म नेतृत्वमा रहेकाहरुले केही फरकको अनुभव देखाउन सकने भन्नेमा नै हो ।