छवि अनित्य मकवानपुरका परिचित साहित्यकार हुनुहुन्छ । हालै शिक्षण पेशाबाट रचनात्मक कर्ममा हात हाल्नुभएका छवि पत्रकारिता क्षेत्रमा पनि उत्तिकै रुचि राख्नु हुन्छ । दुईवटा कविता कृति प्रकाशित गर्नुभएका छवि अनित्यको तेस्रो कृतिको रुपमा शिक्षामा आधारित निबन्धात्मक कृति प्रकाशित हुँदैछ । आज शनिबार छवि अनित्यको ‘शिक्षकको भाषा’ निबन्ध कृति सार्वजनिक हुँदैछ । छवि अनित्यको निबन्ध कृतिको सन्दर्भमा गरिएको कुराकानीः
समाजः तेस्रो कृति सार्वजनिक हुँदैछ । ‘शिक्षकको भाषा’ कस्तो कृति हो ?
छविः ‘शिक्षकको भाषा’ यसको नामबाटै पनि धेरै कुरा प्रष्ट हुन्छ । यो शिक्षक र शिक्षणसँग सम्बन्धित पुस्तक हो । खासगरी नेपाली परिवेशमा शिक्षकहरूले आफूलाई सम्बोधन गरिएका पुस्तक बजारमा अत्यन्तै कम पाउनुहुन्छ । भएका पनि विभिन्न विदेशी भाषाबाट अनुदित पुस्तकहरू छन् । नेपाली लेखकहरूले नेपाली परिवेशमा शिक्षकहरूका लागि सीमित पुस्तक मात्र लेखेका छन् । त्यो अभाव पूरा गर्नका लागि केही सहयोग हुनसक्छ भनेर पनि यो पुस्तक तयार पारिएको हो । शिक्षकले कक्षाकोठाभित्र र बाहिर भोगेका तीतामीठा अनुभवहरूको संगालोको रुपमा ‘शिक्षकको भाषा’लाई बुझ्नु उपयुक्त हुन्छ ।
समाजः दुई कविता कृतिपछि निबन्ध लेख्नुभयो । कविता र निबन्ध दुबैखाले कृति प्रकाशनको अनुभव कस्तो रह्यो ?
छविः पहिलो कृति ‘हल्ला’ (२०७१) एक किसिमको लहड थियो । कविताहरू लेख्न थालेको डेढ दशकजति भएको थियो । संयोग भनौं, इटहरीमा राष्ट्रिय कविता प्रतियोगितामा प्रथम भएँ । यही मेसोमा संग्रह निकालिहाल्नुपर्छ भन्ने साथीहरू पनि भए । हल्लाखल्ला अलिअलि गरियो र किताब आयो । थोरबहुत राम्रै प्रतिक्रिया पनि प्राप्त भयो । दोस्रो कृति चाहिँ छ महिनाअघि मात्र बजारमा आएको हो । ‘तुइनको बाटो’ प्रकाशन हुँदै गर्दा अघिल्लो पटकभन्दा म धेरै सचेत थिएँ । आफैंलाई पनि ‘तुइनको बाटो’मा राम्रो काम गरेको छु भन्ने लागेको छ । यद्यपि यो पुस्तक सीमित मात्र छपाई भयो । अधिकांश मकवानपुरकै पाठकको हातमा पुग्यो । उहाँहरूले रुचाइदिनुभयो । तर कम संख्यामा छापिएका कारण मकवानपुर, चितवन र केही प्रति पोखराबाहेक काठमाडौंमा समेत बजारमा उपलब्ध गराउन सकिएन । अहिले पनि धेरै साथीहरू सोध्नुहुन्छ, ‘कहाँ पाइन्छ ?’ भनेर । अभिलेखका लागि निकै कम मात्र मसँग छ । दोस्रो संस्करण छापियो भने सबैतिर पुग्ला ।दुई कविता कृतिको अनुभव यो भयो । खासमा चल्तिका प्रकाशन गृहले मलाई पत्याएनन् वा मैले उनीहरूका शर्तमा बाँधिन चाहिनँ, यो अलग कुरा हो । अनुभव सुखद नै छ । अहिले ‘शिक्षकको भाषा’बाट मैले अलि बढी आशा गरेको छु । यसको खास उद्देश्य छ । विषयवस्तु निश्चित छन् । लक्षित समुदाय छ । व्यावसायिक रुपमा पनि यो सफल हुन्छ भन्नेमा विश्वस्त छु । पाण्डुलिपी अध्ययन गर्ने अग्रजहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।
समाजः शिक्षण पेशाबाट टाढिँदै गर्नुहुँदा शिक्षासम्बन्धी कृति सार्वजनिक हुनुलाई पाठकले कसरी बुझ्लान् ?
छविः शिक्षणबाट म टाढिएको छैन र सम्भवतः टाढिने पनि छैन । एक्काइस वर्षको शिक्षण यात्रालाई ‘जागिरे’का रुपमा टुंग्याएको हुँ । तर म शिक्षणमै छु । विगतमा एक्काइस वर्षको अवधिमा ‘बोर्डिङ’ स्कुलबाट यात्रा सुरु गरेर सामुदायिक विद्यालयमा नीजिस्रोत, लियन, अस्थायी हुँदै स्थायी शिक्षकसम्मको अनुभव गरँ“ र फर्केर तीन वर्ष एउटा संस्थागत विद्यालयको प्रशासकीय जिम्मेवारीमा रहेँ । अहिले माध्यमिक तहका भाइबहिनीहरूलाई अभिव्यक्ति कला तालिम सञ्चालन गरिरहेको छु । यो कार्यक्रम सुरु भएको तीन महिनाको अवधिमा तीनसय भाइबहिनीहरू लाभान्वित हुनुभएको छ । जसरी होस्, म विद्यालय र विद्यार्थीकै वरिपरि छु । शिक्षक, अभिभावक र विद्यार्थीका हरेक अनुभवहरूसँग नजिक छु । यो बीचमा झन्डै तीनसय हाराहारी शिक्षक साथीहरू र चार हजार जति विद्यार्थीहरूसँग काम गर्न भ्याएछु । यी सबै अनुभवहरूमध्ये शिक्षकका कुरा ‘शिक्षकको भाषा’मा समेटिएको छ । यसलाई पक्कै पनि उहाँहरूले सकारात्मक रुपमा लिनुहुनेछ ।
समाजः पहिलो दुई कृति प्रकाशनबाट के कस्तो लाभ पाउनु भयो ? तेस्रो कृतिबाट के कस्तो लाभ हासिल हुने अपेक्षा गर्नुभएको छ ?
छविः लाभहानीको हिसाबकिताब खासै राखिएन । तरपनि पाठकको विश्वास कमाएको छु । मकवानपुरलाई मेरा कृतिले पनि थोरबहुत प्रतिनिधित्व गरेका छन् विभिन्न मञ्चमा । ‘शिक्षकको भाषा’ले चाहिँ शिक्षक साथीहरूलाई उर्जा थप्नेछ । पाठक र लेखक दुबैलाई ‘व्यावसायिक लाभ’ दिनेछ भन्ने लाग्छ । यो देशमा तीन लाख हाराहारी शिक्षक हुनुहुन्छ । सयमा दुईजनाले किताब किनेर पढिदिनुभयो भने म यसलाई अत्यन्तै सफल भएको मान्नेछु । सयमा सयकै हातमा पुगोस् भन्ने अन्तरमनको चाहना हो ।
समाजः ‘शिक्षकको भाषा’ कृति कस्ता पाठकका लागि लक्षित हुनेछ ?
छविः अघिनै पनि भनिहालेँ, यो शिक्षकले शिक्षककै लागि लेखेको पुस्तक हो । यसका साथै भविष्यमा शिक्षण पेसामा आउन चाहने र असल अभिभावक बन्ने चाहना राख्ने जोकोहीका लागि यो पुस्तक उपयोगी हुनेछ ।
समाजः कृति प्रकाशन गर्दै गर्दा नाफा–घाटालाई कसरी हेर्नुहुन्छ ? पहिलो दुई कृतिको आयव्यय र अहिलेको व्ययको तुलना आय कस्तो हुने अनुमान गर्नुहुन्छ ?
छविः म आजका दिनसम्म व्यावसायिक लेखक होइन । मेरा पुस्तकहरू कुनै व्यावसायिक प्रकाशनगृहले तामझामका साथ प्रकाशन गर्न लागेको पनि होइन । तर लेखक र प्रकाशक दुबै व्यावसायिक हुँदै पाठकमाथि न्याय गर्नुपर्छ भन्ने लाग्छ । त्यसो हुनसक्यो भने लेखक र प्रकाशक दुबै बाँच्न र पाठकलाई थप खुराक दिन सक्छन् । अघिल्ला दुई कृतिलाई व्यावसायिक बजारमै उतारिएन । यो ती दुईभन्दा अवश्य फरक हुनेछ । बाँकी पाठकहरूको हातको कुरा ।