हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौँडामा मोटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन गरेको छ । राप्रपाका उपाध्यक्ष धवल शमशेर राणा र महासचिव रवीन्द्र मिश्रसहित शुक्रबारको आन्दोलनमा पक्राउ परेका नेता, कार्यकर्तालाई रिहाइ गर्न माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको हो । यस्तै राप्रपा मकवानपुरले शुक्रबारको घटनामा मृतक दुबैजनालाई सहीद घोषणा गर्न पनि माग गरेको छ ।

राप्रपा पार्टी कार्यालय सानोपोखराबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गरी सीमाचोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापाले सम्बोधन गर्नुभएको थियो । पक्राउ परेकालाई रिहाई नगरिए सडकमा आन्दोलन थप सशक्त बनाउने राप्रपाले चेतावनी दिएको छ । विरोध प्रदर्शनमा सहभागीले राजतन्त्रको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीले गृहमन्त्रीको राजिनामा पनि माग गरेका छन् ।