शुक्रबार राजावादीले गरेको प्रदर्शनको क्रममा गरिएको आगजनीबाट एक जना पत्रकारको हत्या भएको छ । राजावादी राजनीतिक दल र समूहको संयुक्त आयोजनामा राजतन्त्रको पक्षमा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीनकुने क्षेत्रमा व्यापक हिंसात्मक गतिविधि भएको थियो । प्रदर्शनकारीले सर्वसाधारणको घरभित्र तोडफोड गरेको दृश्य खिच्न पुगेका एभिन्युज टिभीका पत्रकारको आगोले जलेर मृत्यु भएको हो । प्रदर्शनकारीले घरभित्रै पत्रकारलाई थुनेर आगो लगाएकाले उनको हत्या भएको भन्दै देशव्यापी विरोध प्रदर्शन भएको छ । अराजक बनेर हिंसामा उत्रिएका प्रदर्शनकारीले कान्तिपुर, अन्नपूर्ण पोष्टलगायत सञ्चारगृहमा तोडफोड गरेका थिए । उनीहरुले मिडिया र सर्वसाधारणका सवारी साधन तोडफोड गर्नुका साथै व्यक्तिगत घरमा तोडफोड गरेका थिए । विभिन्न ठाउँमा आगजनी र लुटपाटसमेत गरिएको थियो ।

काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको विरोध गर्दै शनिबार बिहान मकवानपुरका सञ्चारकर्मीले विरोध र्याली र सभा गरेका छन् । पत्रकार र सञ्चार क्षेत्रमाथिको आक्रमण बन्द गर, पत्रकार हत्याको छानविन गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारवाही गर भन्दै पत्रकारहरुले विरोध प्रदर्शन गरेका थिए । प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै शान्तिपूर्ण आन्दोलन गर्न माग गरिएको छ । नागरिक स्वतन्त्रताको रक्षा गर्न र पत्रकार सुरक्षाको ग्यारेण्टीको मागसमेत पत्रकारहरुले गरेका छन् । पत्रकारको हत्यारालाई कारवाही नभएसम्म पत्रकारहरु निरन्तर आन्दोलनमा उत्रने जनाइएको छ । पत्रकार महासंघको स्थापना दिवसमै पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोधका कार्यक्रम अघि बढाएको हो । चरणवद्ध आन्दोलनमा उत्रिएका सञ्चारकर्मीले आइतबार कालोपट्टी बाँधेर काम गरे । सोमबार पत्रकार महासंघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी तथा पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

सत्ता र शक्तिको दुरुपयोग गरेर प्रेस स्वतन्त्रता हनन गर्ने प्रयास हुने गरेको छ । सत्ता र शक्तिको आडमा पत्रकारलाई स्वतन्त्रपूर्वक लेख्न र बोल्न नदिने अवस्थाले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ । पत्रकारले वस्तुनिष्ट भएर समाचार संकलन गर्ने र निष्पक्ष भएर सम्प्रेषित गर्ने अवस्था भएमात्र सत्यतथ्य सूचना प्रवाह हुन सक्छ । समाचार संकलनमा खटिएका पत्रकारलाई आक्रमण गर्ने र हत्या गर्ने अवस्था बन्ने हो भने पत्रकार कसरी स्वतन्त्र बन्छन् र उनीहरुले निष्पक्ष समाचार दिन्छन् ? अरुको अधिकार र स्वतन्त्रताको लागि आवाज बुलन्द पार्ने पत्रकारहरु आफैं डर, त्रास र हिंसाको शिकार हुनु विडम्बना हो । जबसम्म आफू स्वतन्त्र भइँदैन, तबसम्म अरुको स्वतन्त्रताको लागि केही गर्न सकिँदैन । पत्रकारको सुरक्षा र स्वतन्त्रतालाई सबैले सम्मान गर्नु आवश्यक छ ।

गणतान्त्रिक शासन व्यवस्थामा पनि सञ्चार माध्यम र सञ्चारकर्मीमाथि बारम्बार आक्रमण र हिंसात्मक घटना हुनु विडम्बना हो । पञ्चायती शासनकालमा मात्र होइन, प्रजातन्त्र वा गणतन्त्रमा पनि पत्रकारहरुले आफूलाई सुरक्षित महसुस गर्न सकिरहेका छैनन् । प्रेस स्वतन्त्रतालाई संविधान र कानुनले ग्यारेन्टी गरेको भए पनि प्रेसमाथि राज्य तथा गैरराज्य पक्षको प्रहार निरन्तर भइरहेको छ । पत्रकार तथा सञ्चार माध्यममाथि भौतिक आक्रमण रोकिएको छैन । पत्रकारलाई डर, त्रास, धम्की देखाएर आफ्नो पक्षमा समाचार लेख्न वा नलेख्न बाध्य बनाउने परिपाटी अन्त्य हुनुपर्छ । पत्रकारलाई जुनसुकै अवस्थामा पनि स्वतन्त्रपूर्वक समाचार संकलनको वातावरण बनाउनुपर्छ । जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका पत्रकारलाई थुनेर आगो लगाइ हत्या गरिनु निन्दनीय छ । एभिन्युज टिभीका पत्रकार रजकको हत्यारा पत्ता लगाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ ।