हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले कानूनी प्रक्रिया विपरित सिद्धार्थ ल क्याम्पस प्रमुख नियुक्त गरेको छ । क्याम्पस प्रमुख छनोट सम्बन्धी कार्यविधि क्याम्पस सभाबाट पारित नगरी कार्यविधि तयार पार्न गठित समिति स्वयम्ले स्वीकृत गरेर सोही कार्यविधिअनुसार क्याम्पस प्रमुख नियुक्त गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठन गरिएको ३ सदस्यीय समितिलाई ३ जनाको नाम सिफारिस गर्न भनिएकोमा एक जना मात्रै उम्मेद्वारलाई अन्तरवार्ता लिएर, एक्लो उम्मेद्वारको कार्ययोजना मूल्यांकन गरेर समितिले एक्लो उम्मेद्वारलाई क्याम्पस प्रमुखमा सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार नै शनिबार नगर प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा बसेको क्याम्पस सञ्चालक समिति बैठकले हेटौँडा–१९ का जयराम सुवेदीलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख मीना कुमारी लामाले आइतबार सुवेदीलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुभएको छ । शनिबार नगरप्रमुख लामाको कार्यकक्षमै सिद्धार्थ ल क्याम्पस सञ्चालक समितिको बैठक बसेर जयराम सुवेदीलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरिएको थियो । नगरप्रमुखले क्याम्पस प्रमुख नियुक्त गर्नुभएलगत्तै संस्थापक क्याम्पस प्रमुख मोहनप्रसाद शर्माले नवनियुक्त क्याम्पस प्रमुख सुवेदीलाई पदभार ग्रहण गराउनुभएको छ ।
क्याम्पस प्रमुख नियुक्तिको प्रक्रियामा क्याम्पस सञ्चालक समितिका सदस्यको विमति राखेका थिए । हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिको संयोजक समेत रहनुभएका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले कार्यविधि निर्माणको प्रक्रियामै प्रश्न उठेको, आवेदक मध्ये एकजना मात्रै योग्य देखिएपछि क्याम्पस प्रमुख नियुक्तिको प्रक्रिया रद्द गर्न प्रस्ताव गरिए पनि नगर प्रमुखले सुवेदीलाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गर्नुभएको जानकारी दिनुभयो ।
क्याम्पस प्रमुखका लागि आवेदन आव्हान गर्न सार्वजनिकरुपमा पत्रिकामा सूचना समेत प्रकाशन गरिएको थिएन । हेटौँडा उपमहानगरपालिकाको वेभसाइट र फेसबुक पेजमा मात्रै सूचना गरिएको थियो । जसका कारण सीमित उम्मेद्वारहरुको मात्रै आवेदन परेको थियो । सूचनामा विस्तृत विवरण उल्लेख नभएका कारण आवेदक सात जना मध्ये ६ जना प्रारम्भिकरुपमा नै अयोग्य रहे । ७ जना मध्ये ६ जना उमेर, अध्यापन अनुभव जस्ता आधारभूत सूचकमै अयोग्य ठहरिएका थिए । सुवेदी एक्लो योग्य उम्मेदवार हुँदै अन्ततः सफल उम्मेदवार बन्नुभएको हो ।
क्याम्पस प्रमुख सिफारिस समितिका संयोजक प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्रदेश सरकारका दुईजना सहसचिवसहित बिहीबार सुवेदीको अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुत गरी क्याम्पस प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । नगर प्रमुख मीना कुमारी लामाको अध्यक्षतामा शनिबार बसेको सिद्धार्थ ल क्याम्पस सञ्चालक समितिको बैठकमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष नगरउपप्रमुख राजेश बानियाँ अनुपस्थित रहनुभयो । क्याम्पस सञ्चालक समितिका सदस्य सविन न्यौपाने, विष्णुगोपाल महर्जन, रामकृष्ण कोइराला, डा. गणेश बल, उच्च अदालत बार हेटौँडा इजलासका अध्यक्ष मनप्रसाद भट्टराई, अधिवक्ता प्रमिला केसी, सिद्धार्थ माविका अध्यक्ष बलराम घिमिरे, प्रधानाध्यापक परमानन्द सरोज कर्ण, सदस्य सचिव मोहनप्रसाद शर्मा उपस्थित हुनुहुन्थ्यो । क्याम्पस सञ्चालक समितिका सदस्य किशोर टण्डन भने अनुपस्थित हुनुहुन्थ्यो ।
४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त हुनुभएका जयराम सुवेदी मकवानपुर बहुमुखी क्याम्पसबाट स्नात्तकोत्तर तह उत्तीर्ण हुनुहुन्छ भने पूर्वाञ्चल विश्वविद्यालयबाट कानून विषयमा स्नात्तकोत्तर तहको शोध कार्य गर्दै हुनुहुन्छ । कक्षा ११ र १२ मा कानून विषय अध्यापन गराउँदै आएको विद्यालयमै क्याम्पस सञ्चालन हुनु, नगरका अन्य २ विद्यालयमा कक्षा ११ र १२ मा कानून विषय अध्यापन भइरहनु, प्रदेशको राजधानी सहरमा उच्च अदालत समेत रहेकोले कानून व्यवसायी र स्नात्तकोत्तर तहको अध्ययन पूरा गर्ने क्रममा उल्लेख्य संख्यामा युवा कानून व्यवसायी रहनुले क्याम्पस सञ्चालन तथा व्यवस्थापनका लागि अनुकुल अवस्था रहेको नवनियुक्त क्याम्पस प्रमुख जयराम सुवेदीले दावी गर्नुभएको छ । सुवेदी हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा २०७२ सालदेखि व्यवस्थापन संकायमा अध्यापनरत हुनुहुन्थ्यो ।