हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । मानिसलाई आत्महत्याको नकारात्मक पक्षबारे सचेत गराउने उद्देश्यले हरेक वर्ष १० सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिएको हो । सन् २००३ देखि मनाउन थालिएको यो दिवस यस वर्ष भदौ २५ गते मंगलबार मनाइएको छ । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्य संगठन तथा विश्व मानसिक स्वास्थ्य संगठनसँग मिलेर यो दिवस मनाउन सुरु गरेको हो । यस वर्ष ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको छ । दिवसको अवसरमा देशभर सरकारी तथा गैरसरकारी निकायले आत्महत्या निरुत्साहित गर्न सचेतनामूलक कार्यक्रम गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । जसमध्ये ७७ प्रतिशतभन्दा बढी आत्महत्याका घटना नेपालजस्ता कम तथा मध्यम आय भएका देशहरुमा हुने गरेको छ । विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् । आत्महत्या गर्नेको संख्या वर्षेनि बढ्दो क्रममा छ । नेपालमा पनि आत्महत्या अत्यन्त डरलाग्दो र भयावह बनिरहेको छ । विश्वमै बढी आत्महत्या हुने मुलुकहरुमध्ये नेपाल सातौँ स्थानमा पर्छ । नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन् ।
नेपालमा पछिल्लो एक दशकभित्र आत्महत्या गर्नेको संख्या झण्डै दोब्बर भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा वार्षिक ४ हजार ३३२ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०८०÷८१ सम्म आइपुग्दा वार्षिक ७ हजार २२३ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ । विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको तथ्यांक छ । आत्महत्या गर्नेमध्ये ८० प्रतिशतभन्दा बढीले झुण्डिएर आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ ।
आत्महत्या नेपालको प्रमुख सामाजिक समस्या बनिरहेको छ । कुनै व्यक्तिले जानीबुझी गर्ने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु आत्महत्या हो । आत्म अर्थात् स्वयम् र हत्या अर्थात् समाप्त गर्नु मिलेर आत्महत्या बनेको हो । यसैले आफैं समाप्त हुनुलाई आत्महत्या भन्ने गरिन्छ । मानिसले विभिन्न कारणबाट आत्महत्याको निर्णय लिन पुग्दछ । मानिसले आफूलाई परेको कुनै समस्या समाधानको बाटो नदेखेपछि आत्महत्या गर्न सक्छ । धेरै दिक्दारी लाग्ने र जीवनमा बढी उतार–चढाव आउने कारण पनि कतिपय मानिसले आत्महत्या गर्ने गर्दछन् । आफूलाई एकदमै दयनीय अवस्थाको ठान्ने, जीवनप्रति रुचि नहुने र भविश्यप्रति कुनै आशा नलाग्ने आदि कारणले पनि आत्महत्या गर्न प्रेरित गर्ने गरेको छ । मद्यपानको सेवन धेरै गर्ने तथा लागूऔषध दुव्र्यसनमा रहेका कतिपय मानिसले पनि आत्महत्या रोज्ने गरेका छन् । कुनै दीर्घ रोगबाट ग्रस्त भएका, जटिल मानसिक स्वास्थ्य समस्यामा परेका, वैवाहिक सम्बन्ध बिग्रेका, धेरै समयसम्म बेरोजगार बनेका र विभिन्न लाञ्छना लागेका व्यक्तिले पनि आत्महत्या गर्ने सम्भावना रहन्छ ।
वर्तमान समयमा आत्महत्या एक जटिल समस्या बनिरहेको छ । यसको न्यूनीकरण तथा रोकथामका लागि ठोस नीति तथा कार्यक्रम आवश्यक छ । आत्महत्या रोकथाम दिवस मनाउने क्रममा यसको रोकथामका लागि केही सचेतनामूलक कार्यक्रम गरिए पनि त्यतिले मात्र आत्महत्या रोकथाम सम्भव छैन । प्रत्येक व्यक्ति, परिवार, समुदाय, समाज, देश र विश्वभर आत्महत्या रोकथामका लागि पर्याप्त र प्रभावकारी सचेतनामूलक कार्यक्रम गर्नुपर्छ । आत्महत्याबारे घर–परिवार तथा समुदायमा खुलेर कुराकानी गर्नुपर्छ । मानिसको अमूल्य जीवन आत्महत्या गरेर खेर जान दिनुहुन्न भन्ने दृढताका साथ मानिसले आइपर्ने कठिनाइ समाधान गर्न सक्छु भन्ने आत्मविश्वास जगाउने हो भने आत्महत्या न्यूनीकरण हुनसक्छ ।