अहिले मकवानपुरमा उद्योगी, व्यवसायीको नेतृत्व चयनको विषयले व्यापक चर्चा पाइरहेको छ । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) को साधारणसभा तथा निर्वाचनको मिति नजिकिँदै जाँदै बजारमा संघको नेतृत्वबारे चर्चा व्यापक बनेको हो । निर्वाचनअघि व्यवसायीको हक हितका लागि आफूले मात्र काम गर्न सक्ने दावी नेतृत्वका आकांक्षीले गरिरहेका छन् । निर्वाचनभन्दा करिब एक महिना अघिदेखि प्यानल नै बनाएर नेतृत्वका आकांक्षीहरु व्यवसायी फकाउन व्यस्त छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा हेटौंडा बजारको सडकपेटी तथा चोकहरुमा बाक्लै उम्मेदवारको प्रचार सामग्री ठड्याइएका छन् । आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणासमेत गरिरहेका छन् । मउवासंघको नेतृत्वका आकांक्षी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भइरहँदा संघको सदस्यता विवाद सतहमा आएको छ । एक हप्तापछि निर्वाचन हुनुपर्ने अवस्थामा सदस्यताको मताधिकारका विषयमा विवाद देखिएको हो ।

मउवासंघको सदस्यता विवाद संघभित्र मात्र सिमित रहेन । संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवम् आसन्न निर्वाचनमा अध्यक्षका आकांक्षी अनिल अग्रवाल स्वयम् सदस्यता विवादको विषयलाई लिएर प्रशासनमा निवेदन दिन पुगेका छन् । अग्रवालले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकाललाई निवेदन दिएका हुन् । संघमा एसोसिएटतर्फ सदस्यता स्थानान्तरण गरेका ९ जना सदस्यको तर्फबाट अग्रवालले प्रशासनमा निवेदन दर्ता गराएका छन् । एसोसिएटतर्फ स्थानान्तरण गरेका सदस्यको मताधिकार कायम हुनुपर्ने माग गर्दै उनले जिल्ला प्रशासन कार्यालयमा बुधबार निवेदन दिएका हुन् । संघको गत पुस १६ गतेको कार्यसमिति बैठकले निर्वाचनअघि एसोसिएटतर्फ स्थानान्तरण हुने सदस्यलाई साविककै क्षेत्रमा मताधिकार रहने गरी निर्णय गरेको थियो । उक्त निर्णयमा वरिष्ठ उपाध्यक्ष अग्रवालसहित ४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

सदस्यता नवीकरण गर्ने अन्तिम दिन पुस ९ गते आसन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी प्रमोद सिंह रानाभाट समूहबाट २ जना सदस्यले अन्य समूहबाट एसोसिएटतर्फ स्थानान्तरण गर्ने प्रयास गरेपछि अग्रवाल समूहका ९ जनाले पनि अन्य समूहबाट एसोसिएटतर्फ स्थानान्तरणका लागि निवेदन दिएर शुल्कसमेत बुझाएको बताइएको छ । सदस्यता स्थानान्तरण र मताधिकारसम्बन्धी विवाद भएपछि सदस्यको मागबमोजिम मताधिकार दिँदा निर्वाचनको परिणाममै प्रत्यक्ष प्रभाव देखिने भन्दै साविककै क्षेत्रमा मताधिकार रहने निर्णय गरेको संघका वर्तमान अध्यक्ष कृष्णकुमार अग्रवालले बताएका छन् । प्रभावशाली छवि भएका सदस्यहरुले आफ्नो सदस्यता एसोसिएटमा परिमार्जन गर्न माग गर्दै निवेदन दिएका कारण निर्वाचनमा ठूलो प्रभाव पर्न सक्ने सम्भावना प्रबल देखिएको छ । संघको विधानबमोजिम आवश्यक कागजातसहित निवेदन पेश गरी निवेदनमा कार्यालय प्रमुखले तोक लगाएर १० हजार रुपैयाँ शुल्कसमेत बुझाइसकेकाले एसोसिएटतर्फ नै सदस्यतासँगै मताधिकार कायम हुनुपर्ने माग छ । संघको विधानमा भने सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्र सदस्यलाई मताधिकार प्राप्त हुने व्यवस्था रहेको छ ।

विगत केही वर्षदेखि मउवासंघमा विभिन्न प्रकारका विवाद देखिने गरेको छ । निर्वाचनको समयमा विभिन्न प्रतिवद्धता र आश्वासन दिएर पदमा पुगेकाले मनलाग्दी निर्णय र काम गर्दा विवाद हुँदै आएको छ । अघिल्लो निर्वाचनको समयमा २ हजार ९ सय ७ जना सदस्य रहेको संघमा अहिले २ हजार ९२ जना सदस्यमात्र कायम भएको छ । ८ सयभन्दा बढी सदस्य घट्नुमा संघप्रति उद्यमी, व्यवसायीको विश्वास र भरोसा कमजोर भएको स्पष्ट हुन्छ । २८ प्रतिशतको हाराहारी सदस्यको साथ गुमाएको मउवासंघको निर्वाचनको पूर्वसन्ध्यामा देखिएको सदस्यता र मताधिकार विवादले संघको छविलाई थप कमजोर बनाउने निश्चित छ । एसोसिएट्समा स्थानान्तरण भएका सदस्य पुरानै भएकाले मताधिकार पाउनुपर्ने सदस्यहरुको दावी र नयाँ सदस्य बनेको एक वर्षपछि मात्र मतदान गर्न पाउने वैधानिक व्यवस्थामा देखिएको विरोधाभाषलाई स्थानीय प्रशासनले टुंगो लगाउने सम्भावना भए पनि यो विवादले संघको वर्तमान नेतृत्व र भावी नेतृत्वको आकांक्षीलाई पर्छ भन्ने समयले बताउला ।