करिब ४ दशकपछि हेटौंडाको गौरीटार रंगशाला रंगशालाको रुपमा देखिन लागेको छ । विसं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गरेर गौरीटार रंगशाला नामाकरण गरेको उक्त जमिन साढे दुई दशकसम्म झाडी र मैदानमै सिमित बनेको थियो । २०६६ जेठ २८ गते गौरीटार रंगशालाको जमिनमा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरे पनि प्रतिष्ठान निर्माण कछुवाको गतिमा अघि बढ्यो । ५ वर्षभित्र करिब ५ अर्ब रुपैयाँ खर्चेर बनाउने भनिएको प्रतिष्ठान सरकारी बेवास्ताको शिकार बन्न पुग्यो । सरकारहरुले अत्यन्तै न्यून बजेट विनियोजन गरेका कारण निर्माण सुरु भएको झण्डै एक दशक रंगशालाको वरपर पर्खाल निर्माण र छात्राबास निर्माणमै बित्यो । पछिल्ला केही वर्षदेखि बागमती प्रदेश सरकारको लगानीमा रंगशालामा खेल संरचना निर्माणको काम भइरहेको छ । फलस्वरुप अबको केही वर्षमा रंगशालाको स्वरुपमा आउने सम्भावना बढेको छ ।
प्रदेश सरकार गठन भएपछि बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणमा चासो देखाएसँगै भौतिक पूर्वाधार थपिँदै गएको छ । बागमती प्रदेश सरकारले आफ्नो गौरबको योजनामा यो रंगशालालाई समावेश गरेपछि रंगशाला निर्माणको कामले थप गति लिइरहेको छ । फुटबल खेलको कामचलाउ पूर्वाधार तयार भइसकेको गौरीटार रंगशालामा अहिले पौडी र क्रिकेट खेलको पूर्वाधार निर्माण भइरहेको छ । प्रदेश सरकारको २० करोड रुपैयाँभन्दा बढी बजेटमा पौडी पोखरी र क्रिकेट रंगशाला निर्माण भइरहेको छ । ८ करोड ६२ लाख ६१ हजार रुपैयाँको ठेक्का सम्झौतामा निर्माण भइरहेको पौडी पोखरी अन्तिम चरणमा पुगेको छ । प्यारापिटसहितको २ वटा पौडी पोखरी आगामी असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । यस्तै, करिब ८० करोड लागत अनुमान रहेको क्रिकेट रंगशालामा ११ करोड ७४ लाख रुपैयाँमा पहिलो चरणको ठेक्का सम्झौता भएको छ । क्रिकेट रंगशाला निर्माणको पहिलो चरणमा करिब ६ हजार जना अट्ने प्यारापिट बन्नेछ । ७० मिटर रेडियसको ग्राउण्डमा ५ वटा पिचसहित स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, ब्रोडकास्टिङ र मिडिया कक्षलगायत निर्माणको काम हुनेछ ।
गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट रंगशालाको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले शनिबार स्थलगत अवलोकन गरेका छन् । जनकपुर जाने क्रममा उनले क्यान तथा मकवानपुर क्रिकेट संघका पदाधिकारीसहित गौरीटारमा निर्माणाधीन क्रिकेट मैदानको स्थलगत अवलोकन गरेका हुन् । सचिव खड्काले गौरीटार रंगशालामा अन्य खेल पूर्वाधारसँगै क्रिकेट मैदान निर्माण भइरहेकोमा खुशी व्यक्त गर्दै खेल पूर्वाधारमा लगानी गरेकोमा बागमती प्रदेश सरकारको प्रशंसा गरेका छन् । देशमा खेल प्रतियोगिता तथा अभ्यासका लागि स्तरीय संरचना तथा पूर्वाधार अभाव रहेको अवस्थामा निर्माण भइरहेको संरचनाले क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने उनको विश्वास छ ।
करिब २३ विगाह क्षेत्रफलमा फैलिएको गौरीटार रंगशाला पूरा भएमा विभिन्न खेलको प्रशिक्षण, अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ । उक्त रंगशालामा ९ वटा कभर्डहल, एउटा बहुउद्देश्यीय कभर्डहल, फिटनेस सेन्टर, रेसिङ ट्राक, खेलाडी छात्राबास, कार्यालय, ब्लग, कन्फ्रेन्स हललगायत संरचना निर्माण गर्ने प्रदेश सरकारको योजना छ । योजनाबमोजिम आवश्यक बजेट व्यवस्थापन र समयमै काम सम्पन्न भएमा गौरीटार रंगशालाको सपना साकार हुने निश्चित छ । गौरीटार रंगशालालाई हेटौंडाको लागि मात्र नभएर देशकै एक प्रमुख खेल पूर्वाधार बनाउन प्रदेशका साथै संघीय सरकारले पनि आवश्यक बजेट व्यवस्थापन गर्नु उचित हुनेछ । भविष्यमा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण हुने हो भने खेलाडी उत्पादनका साथै खेल पर्यटन प्रवद्र्धनमा समेत रंगशाला सहयोगी हुने विश्वास गर्न सकिन्छ ।