विश्वभर आत्महत्या एक जटिल समस्या बनिरहेको छ । आत्महत्याको समस्याले नेपाललाई पनि उत्तिकै गाँजिरहेको छ । आत्मको अर्थ स्वयम् अर्थात् आफैं र हत्याको अर्थ खत्तम अर्थात् समाप्त हो । यसरी आफैं समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ । जानीबुझी गरिने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु आत्महत्या हो । आत्महत्याको मुख्य कारण व्यक्तिको मानसिक अवस्थालाई मान्ने गरिएको भए पनि यसका बहुआयामिक कारणहरु पाइन्छ । मानिस मनोवैज्ञानिकरुपमा कमजोर हुँदै गएर निराशाको चरम अवस्थामा आत्महत्याको बाटो रोज्ने गर्दछ । आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू जोडिने गर्दछ । नेपालमा पछिल्लो समय आत्महत्याको समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । मकवानपुर जिल्लामा पनि आत्महत्या गर्ने संख्या बढ्दै जाँदा यसको न्यूनीकरण तथा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

मकवानपुरमा आत्महत्याको समस्या जटिल बनिरहेका कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले आत्महत्याका घटना न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजनासम्बन्धी अन्तरक्रिया गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा गरिएको अन्तरक्रियामा जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले आत्महत्याका घटना न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना प्रस्तुत गरेका हुन् । आत्महत्याको बढ्दो दरलाई न्यूनीकरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै बढी आत्महत्या हुने मुलुकमा नेपाल ७ नम्बरमा रहेको तथ्यांक पेश गरिएको थियो । पुरुषभन्दा महिलाले बढी आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै महिलाहरुको अत्महत्या दरअनुसार महिलाहरुले आत्महत्या गर्ने तेस्रो स्थानमा नेपाल रहेको बताइएको छ । हरेक ४० सेकण्डको अन्तरमा विश्वमा एक जनाले आत्महत्या गर्ने गरेको र २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा आत्महत्याको दर उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, आत्महत्या गर्नेहरु अधिकांश १५ देखि ४४ वर्षसम्मको उमेर समूहका छन् ।

आर्थिक, सामाजिक तथा मानसिक कारणले नेपालमा आत्महत्याको दर बढिरहेकाले आत्महत्या चुनौतीको रुपमा देखिएको छ । जब कुनै मानिसले आफूलाई परेको अप्ठ्यारा तथा समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसमा आत्महत्या गर्ने सोच आउन सक्छ । आत्महत्या गर्ने सोच आएपछि व्यक्तिले आत्महत्या गर्ने तरिका र अवसरको खोजी गर्दछ र उपयुक्त मौका पाएपछि मानिसले आत्महत्या गर्ने गर्दछ । मकवानपुरमा केही समययता आत्महत्याको दर कम भए पनि न्यूनीकरणमा अग्रसर हुन जरुरी रहेको सहभागीको भनाइ थियो । विद्यालयस्तरबाटै पाठ्यक्रममा समावेश गरेर आत्महत्या न्यूनीकरणको प्रयासहरुलाई अघि बढाउनु सान्दर्भिक हुनसक्नेतर्फ सहभागीले सुझाव दिएका थिए । आत्महत्या न्यूनीकरणका लागि मनोपरामर्शको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ । सरोकारवाला निकायहरुको समन्वयबाट आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

मानिसलाई धेरै दिक्दार लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता उदासिनताले आत्महत्यालाई बढावा दिन्छ । सामाजिक सञ्जालको दुरुपयोग, मद्यपान तथा लागूऔषध दुव्र्यसनी पनि आत्महत्याको कारण बन्ने गरेको छ । कुनै दीर्घ रोगबाट ग्रस्त र जटिल मानसिक स्वास्थ्य अवस्थाका कारण पनि आत्महत्यालाई प्रेरित गर्न सक्छ । असफल वैवाहिक जीवन, पारिवारिक कलह, बेरोजगारी र विभिन्न सामाजिक लाञ्छनाको डरले मानिस आत्महत्याजस्तो अप्रिय निर्णय लिने अवस्थामा पुग्दछ । आत्महत्या एउटा संवेदनशील घटना हो । जटिल र चुनौतीपूर्ण बनिरहेको आत्महत्या न्यूनीकरणमा सरोकार निकाय गम्भीर बन्नु आवश्यक छ । सबैसँगको समन्वय र सहकार्यबाट आत्महत्या न्यूनीकरण र व्यवस्थापनका लागि प्रहरी, प्रशासनले उपयुक्त कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नु उचित हुनेछ ।