पछिल्लो समय वन्यजन्तुको आक्रमण बढेको छ । राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको बढेका कारण मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दै गएको हो । यसले मानव–वन्यजन्तुबीचको द्वन्द्वसमेत बढ्ने खतरा देखाएको छ । वन्यजन्तु संरक्षणमा देखिएको सफलताले मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेको मान्न सकिन्छ । तर, यसबाट वन्यजन्तु संरक्षणमा थप संकट उत्पन्न हुने जोखिम पनि बढाएको छ । वनजंगलको संरक्षणसँगै वन्यजन्तुको संख्यामा वृद्धि हुँदै जाँदा मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढेको हो । वन्यजन्तु मानव बस्तीमा प्रवेश गरेर आक्रमण गर्ने घटना बढ्दै गएपछि वन्यजन्तु संरक्षणमा थप चुनौती बन्ने सम्भावना देखिएको छ । पछिल्लो समय वन्यजन्तुले मानिसलाई आक्रमण गरेर मार्ने तथा घाइते बनाउने घटना निकै बढेको छ । वन्यजन्तुले घरपालुवा जनावरलाई आक्रमण गर्ने र खेती–बाली नष्ट गर्ने क्रम पनि उत्तिकै बढेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा गत मंगलबार एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिइयो । उक्त बाघले आइतबार स्थानीय कान्छीमाया रुम्बालाई आक्रमण गरी मारेको थियो । रुम्बालाई बारीमा घाँस काट्दै गरेको अवस्थामा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । सोही बाघले सोमबार ७ वटा बाख्रासमेत मारेको थियो । मनहरी–५, बसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरका ७ वटा बाख्रा बाघले मारेर एउटा बाख्रा बाघले जंगलतर्फ लगेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग त्यस क्षेत्रमा आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिन ४ वटा हात्तीसहित दुबै राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो । ९ वर्षीया वयस्क पोथी बाघलाई उसैले मारेको बाख्रालाई पासो बनाएर डार्ट गरी नियन्त्रणमा लिइएको थियो । चितवनको रत्ननगर नगरपालिका–१३, जयमँगलामा गैंडाको आक्रमणबाट कृष्णाकुमारी थापाको मृत्यु भएको छ । मंगलबार गैंडाले आक्रमण गरेर ६ जनालाई घाइते बनाएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको हो । उक्त गैंडाले सोहि स्थानमा रोकी राखेको एउटा कारमा समेत आक्रमण गरेको थियो । गैंडाकै आक्रमणबाट बुधबार चितवनको राप्ती नगरपालिका–१, दुबिचौरकी दिलमाया स्याङ्तानलाई घाँस काट्ने क्रममा आक्रमण गरी घाइते बनाएको छ ।

पछिल्ला वर्षहरुमा बाघ, हात्ती, गैंडा, चितुवा, भालु, बँदेल आदि वन्यजन्तुले मानिसमाथि आक्रमण गरेर क्षति पुर्याउने क्रम बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७६/०७७ मा वन्यजन्तुको आक्रमणबाट देशभर ३३ जनाको मृत्यु र ११० जना गम्भीर घाइते भएका थिए । उक्त वर्ष वन्यजन्तुको आक्रमणबाट क्षतिसम्बन्धी ८ हजार १ सय ६४ घटना दर्ता भएका थिए । आव २०७७/०७८ मा वन्यजन्तुको आक्रमणबाट ४० जनाको मृत्यु र ६७ जना गम्भीर घाइते भएका थिए । क्षति सम्बन्धी ८ हजार ४ सय ५५ वटा घटना दर्ता भएका थिए । आव २०७८/०७९ मा वन्यजन्तुको आक्रमणबाट ५८ जनाको मृत्यु र ११६ जना गम्भीर घाइते भएका थिए । वन्यजन्तुको आक्रमणबाट भएको क्षतिसम्बन्धी १२ हजार ६ सय ७२ घटना दर्ता भएका थिए । आव २०७९/०८० मा वन्यजन्तु आक्रमणबाट ३९ जनाको मृत्यु र १२४ जना गम्भीर घाइते भएका थिए । सो वर्ष वन्यजन्तुबाट भएको क्षतिसम्बन्धी १० हजार ४ सय २६ घटना दर्ता भएका थिए ।

वन्यजन्तु संरक्षणमा प्राप्त भएको सफलतासँगै राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवम् अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तु र मानिसको बीचमा द्वन्द्व बढ्दै गएको छ । मानवीय र प्राकृतिक कारणले वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवम् संकुचनले वन्यजन्तु आफ्नो प्राकृतिक बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको हो । यसले संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरिको समुदायमा मानवीय र आर्थिक क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति (मृत्यु तथा घाइते) का साथै बालीनाली, घर, गोठको क्षति न्यूनीकरण गर्नु अहिलको टड्कारो आवश्यकता बनेको छ ।