जेसीआई बस्तीपुर हाँडीखोलाका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु ।

हेटौँडा ः जेसीआई बस्तीपुर हाँडीखोलाको अध्यक्षमा सन्तोष उप्रेती सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । शुक्रबार भएको १४ औं वार्षिक साधारणसभाबाट उप्रेतीसहित नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो ।

जेसीआई बस्तीपुर हाँडीखोलाको कार्यकारिणी उपाध्यक्षमा सुरज बर्तौला र दिनेश चौलागाई, उपाध्यक्षमा आरती पाठक, सूर्य गोले, आयुष्मा लामिछाने र अरुण बर्तौला चयन हुनुभएको जेसीआई बस्तीपुर हाँडीखोला वर्ष २०२४ का अध्यक्ष अमृत पाठकले जानकारी दिनुभयो । जेसीजको कार्यकाल एक वर्षको हुने गर्दछ ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि सहयोगी क्रियाकलाप गर्ने जेसीजमा अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहकार, जनसम्पर्क अधिकृत, शाखा सम्पादक लगायतका पदमा सदस्यलाई मनोनित गर्ने व्यवस्था छ ।

वर्ष २०२४ को सुरुवातमा ९० जना सदस्य रहेको जेसीआई बस्तीपुर हाँडीखोलामा सन् २०२५ को कार्यकाल सुरु हुँदै गर्दा ४४ जनाले ४० वर्षे उमेर हद पार गरेका छन् । ४६ जना पुराना सदस्य तथा १७ जना नयाँ सदस्य थपिएर जेसीआई बस्तीपुर हाँडीखोलाको वर्ष २०२५ का लागि ६३ जना सदस्य रहेको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।