हेटौंडा उपमहानगरपालिकाले चितवनको सौराहामा समीक्षा तथा आगामी दिनको कार्यदिशाबारे छलफल गरेको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म भए गरेका कामको समीक्षाका साथै आगामी आर्थिक वर्षको कार्यदिशासम्बन्धी जनप्रतिनिधिबीच छलफल भएको बताइएको छ । शनिबार र आइतबार गरिएको छलफलमा १० बुँदे निष्कर्ष निकालिएको बताइएको छ । यद्यपि छलफलको औपचारिक निर्णय सार्वजनिक भएको छैन । विगतमा सम्पन्न गरेका कामको समीक्षा गर्दै भावी योजनाबारे छलफल आयोजना गर्नु सामान्य विषय भए पनि सौराहा पुगेर समीक्षा तथा छलफल गर्नुलाई कतिपयले स्वभाविक मानेका छैनन् । सामान्यतया यस्ता छलफल र समीक्षा कार्यालयमै गर्नुपर्ने हो । नभए उपमहानगरभित्रै कुनै उपयुक्त स्थानमा समीक्षा तथा छलफल कार्यक्रम गर्नुपथ्र्यो । सौराहा पुगेर खाने/बस्ने व्यवस्थासहित कार्यक्रम गरिँदा ठूलो रकम खर्च हुनेतर्फ उपमहानगर नेतृत्व गम्भीर नभएको देखिन्छ ।

छलफल तथा समीक्षामा हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश सरकारसँगको लागत सहभागितामा निर्माण गरेको हेटौंडा–११, थानार्भयाङस्थित फलफूल तथा तरकारीको थोक बजारको सम्बन्धमा चर्चा भएको छ । कृषि उपजको बजारीकरणका लागि उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा प्रदेश सरकारले निर्माण गरेको थोक बजार सञ्चालनमा नआउँदै मन्त्रालय स्थापना गर्नु उपयुक्त नभएको भन्दै ध्यानाकर्षण गराउने निर्णय भएको चर्चामा आएको छ । जुन उद्देश्यले संरचना बनाइएको हो, त्यही काममा प्रयोग गर्नुपर्ने भए पनि प्रदेश सरकारले मन्त्रालय राखेको प्रति आलोचना सुरु भएको छ । कार्यक्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार खण्डको सडक विस्तारको विषय पनि उठेको बताइएको छ । दशकौंदेखि चर्चामै सिमित बनिरहेको बजार क्षेत्रको मुख्य राजमार्ग विस्तारको विषय टुंगोमा र्पुयाउनु आवश्यक भए पनि यो उपमहानगरपालिकाको कार्यक्षेत्रभन्दा बाहिरको विषय हो । राजमार्गको विषयमा संघीय सरकारबाटै काम हुने भएकाले उपमहानगरले यसमा धेरै टाउको दुखाउनु सान्दर्भिक देखिँदैन ।

हेटौंडा–४ मा रहेका भूटनदेवी र आधुनिक स्कूललाई गाभेर मेघा विद्यालय बनाउनुका साथै एक सय भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकैको विद्यालय गाभ्ने र गाभिने विद्यालयका विद्यार्थीलाई यातायातको सुविधासहित नजिकको विद्यालयमा समायोजन गर्ने निर्णय छलफलमा भएको छ । आ–आफ्नै इतिहास, गरिमा र पहिचान बनाएका दुई ठूला विद्यालय एकीकरण गर्ने विषयले कस्तो परिणाम दिन्छ ? भविष्यले बताउला । उपमहानगरभित्र बसाबास गर्ने अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय सकारात्मक मान्नुपर्छ । महिलामुखी सहर निर्माण गर्ने निर्णय गरेर लोकप्रियता बढाउन खोजेको मान्न सकिन्छ । उपमहानगरपालिका क्षेत्रको विद्युतीय तार भूमिगत गर्ने विषय छलफलमा आएको छ भने गुणस्तरीय पूर्वाधार निर्माणको विषय उठेको छ । छलफलमा प्रदेश सरकारका योजना एकद्वार प्रणालीबाट कार्यान्वयन हुन नसक्दा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका थिए ।

हेटौंडा उपमहानगरपालिकाको कतिपय कार्यशैली आलोचित बन्ने गरेको छ । अहिले सौराहा समीक्षाको पनि आलोचना भइरहेको छ । कुनै विशेष योजना वा कार्यक्रम कार्यान्वयनका लागि अन्यत्र गएर अध्ययन, अवलोकन तथा अनुभव आदानप्रदान गर्नु स्वभाविक भए पनि जनप्रतिनिधिबीच समीक्षा र छलफलकै लागि सौराहा पुग्नु आवश्यक थिएन । उपमहानगरपालिकाको वार्षिक समीक्षा र आगामी कार्यदिशाको छलफल हेटौंडामै जनप्रतिनिधिमात्र नभई अन्य सरोकारवालासमेतको उपस्थितिमा गरेको भए अझ प्रभावकारी हुन्थ्यो होला । सौराहा समीक्षाको उपलब्धी पक्कै पनि आगामी दिनमा थाहा हुने नै छ । उपमहानगरपालिकाले आफ्नै ठाउँमा कार्यक्रम गरेर अरुलाई पनि प्रभावित बनाउनुपर्नेमा त्यसो हुन सकेन । आगामी दिनमा उपमहानगरभित्रै यस्ता कार्यक्रम गरेर आफ्नै क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धनमा थोरै भए पनि टेवा पु¥याउनेतर्फ उपमहानग नेतृत्व सचेत बन्नु उपयुक्त हुनेछ ।