मकवानपुर जिल्लामा बालविवाह जटिल समस्याको रुपमा रहेको छ । मकवानपुरका पालिकाहरु बालविवाहलाई रोक्ने योजनामा छन् तर, बालविवाह भित्रको जटिलतालाई देखेर आत्तिएका छन् । बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे वडा सदस्यहरुलाई टोल टोल निगरानीको जिम्मा दिँदा पनि बालविवाह रोक्न नसकिएको बताउनुहुन्छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल पनि पालिकाले मात्रै बालविवाह रोक्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । बालविवाह नियन्त्रणकै सन्दर्भमा समाज सम्पादक सुरेश श्रेष्ठले राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लसँग गर्नुभएको कुराकानीः
राक्सिराङ गाउँपालिकाले बालविवाहको मुद्दालाई कसरी हेरिरहको छ ?
मल्लः मकवानपुरको कर्णाली भनेर राक्सिराङ गाउँपालिकालाई चिनिन्छ । यहाँ अशिक्षित मानिसहरुको बाक्लो बसोबास पनि छ । गरिबीका कारण यहाँ बालविवाह बढी छ । यहाँको भोक र रोगले पिल्सिएका चेपाङ बस्ती छ । यहाँ हुने बालविवाह नियन्त्रण गर्न गाउँपालिकाले मात्र सम्भव छैन । किनभने राक्सिराङ बागमती प्रदेशमा बढी बालविवाह हुने पालिकामा पर्न सक्छ । बालविवाह न्यूनीकरण गर्न प्रदेश सरकारले बालविवाह मुक्त प्रदेश बनाउने योजना ल्याएको छ । अधिकांश चेपाङहरु १२/१३ वर्षमै विवाह गरेर जाने प्रचलन छ । विद्यालयहरुमा चेतनामुलक अभिमूखीकरण गर्दै आएका छन् । यतिले पर्याप्त भएको छैन । राक्सिराङमा ५ कक्षासम्म पढ्दै विवाह गर्ने पनि छन् । हामीले कक्षा ८ कक्षासम्म पढाउने बालिकालाई मासिक ५ सय उपलब्ध गराउँदै आएका छौं । ८ कक्षा माथिका बालबालिका मासिक ५ सय भत्ता उपलब्ध गराउँदै आए तापनि प्रभावकारी बनेको छैन । यसबाट करिब ४ सय विद्यार्थीहरु लाभान्वित छन् ।
बालविवाह हुनुका प्रमुख कारणहरु के–के छन् ?
मल्लः राक्सिराङको परिवेश अनुसार फरक छ । पहिलो गरिबी हो । गरिबी भएपछि खान पाउँदैनन् । त्यसपछि हेटौंडा लगायत अन्य स्थानमा ज्याला गर्न बालबालिका जान्छन् । घरका अभिभावक गिठठा, भ्याकुर खोज्न जाने, माछा मार्ने जाने गर्छन् । छोरी ठुलो हुनु भन्दा अघि नै सानैमा फलानोको छोरालाई छोरी दिने भन्ने प्रचलन छ । पुरानो प्रचलन पोङ समाउने छ । अशिक्षा, भोकमरी तथा गरिबी बालविवाह हुनका कारण हुन् । गरिबी हटे भने बालविवाह पनि धेरै नियन्त्रण हुन्छ ।
बालविवाह रोक्न के–के प्रयत्नहरु भएका छन् ?
मल्लः अहिलेसम्म थोरै काम भएका छन् । गाउँपालिकाको भवन वडा कार्यालयहरु तयार, कर्मचारीहरु काममा भर्खर पठाउन थालेका छन् । बालबालिका महिला कार्यक्रम गर्न यसअघि समस्या थियो । ३० देखि ४० जनाको दरबन्दी भएको स्थानमा ३ देखि ४ जनाले काम गरेका थियौं । कर्मचारी पठाएपछि लकडाउन भयो । गाउँपालिकाले प्रोत्साहन गरेर बालविवाह न्यूनीकरण गर्न खोजेको छ । विद्यालय विद्यालयमा गएर बालविवाह सम्बन्धी अभिमुखीकरण भएको छ । घरबाट छिट्टै विवाह गर्न तम्सिएका परिवारहरुलाई सम्झाउने गरेका छौं । यस्तो गर्दा पनि कक्षाका विद्यार्थीहरु खाली हुने गरेर विवाह पनि भएका छन् । अशिक्षाका कारण यस्तो गतिविधी भएको हो । हामीले खाना नपाउने विद्यार्थीलाई राहत उपलब्ध गराएर, लाउन नपाएकालाई पोशाक उपलब्ध गराएका छौं । अब व्यापक तरिकाले बालविवाहविरुद्ध लाग्ने योजना छ । यसका लागि विभिन्न संघ, संस्थाहरु पनि सहयोग गर्न तयार छन् ।