श्रीधर पोखरेल, अध्यक्ष, नेकपा एमाले मकवानपुर

असोज ११ र १२ गतेको झरीसँगै भारी वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका र बागमती गाउँपालिका प्रभावित बनेको छ । तीन पालिका मध्ये पनि ईन्द्रसरोवर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । बाढी, पहिरोले क्षति पुर्याएको एक साता हुनै लाग्दा पनि मुख्यतः हेटौँडा–भीमफेदी–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं प्रवेश गर्ने छोटो मार्ग सञ्चालनमा आउन सकेको छैन । विपद्ले पुर्याएको क्षतिका बारेमा स्थलगत अवलोकन गरेर फर्कनुभएका नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसँग हामीले विपद्ले पुर्याएको क्षति, पूर्वाधारको पुनर्निर्माण, बाढी पहिरो पीडितको राहत तथा पुनःस्थापनाको कार्यको सन्दर्भमा कुराकानी गरेका छौं । समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले श्रीधर पोखरेलसँग गर्नुभएको कुराकानीः

समाजः गएको शुक्रबार र शनिबारको भारी वर्षाका कारणले मकवानपुर जिल्लामा जनधन दुबै हिसाबले ठूलो क्षति भयो । तपाईं बाढी प्रभावित भीमफेदी, कुलेखानी क्षेत्रको वस्तुस्थिति हेरेर आउनुभयो । त्यहाँको अवस्थालाई कसरी नियाल्नुभयो ?
पोखरेलः
भीमफेदी र भैँसेकोबीचमा त्यो पहिरो गएकोमात्रै हो । त्यो पन्छाउन सक्ने स्थितिमा छ । हामीले त्यसलाई पन्छाएर त्यहाँ गएका हौं । कुलेखानी ड्यामसम्म पुग्न सहज छ । ड्याम्प भन्दा तल्लो पुल केही भएको छैन । तर, पुलको वारीपारी दुबैतिरको ठूलो क्षति भएको छ । पुल वारीपारीको बाटो १० फिट भन्दा गहिरो गरी खाल्डो छ । ड्याम्पबाट पानी छोड्ने क्रममा कमजोरी भएको देखिन्छ । हामीले बुझेअनुसार ड्यामबाट पानी छोड्दा अत्यन्त असावधानी अपनाएको हो की भन्ने हामीले देख्यौं । ईन्द्रसरोवरको प्रभावित क्षेत्रहरु विवरण लियौं । खानीखेतमा जहाँ गाउँपालिकाको कार्यालय छ । हामीले त्यहाँका जनप्रतिनिधि लगायतका साथीहरुसँग बसेर सरसल्लाह गर्यौं ।

समाजः ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा घर, व्यवसाय नै बगाएको छ । त्यहाँ कति घर, परिवार विस्थापित भएका छन् ? बसोबासको व्यवस्थापन चैं कस्तो पाउनुभयो ?
पोखरेलः
सिस्नेरीमा अल्पसंख्यक समुदायको वस्ती रहेछ । १० घर जति प्रभावित भएको देखिन्छ । उहाँहरुको बस्ने बासस्थान नै छैन । सिस्नेरी बजार क्षेत्रमा भएको क्षति भने व्यवसायमा भएको क्षति देखिन्छ । सिस्नेरी बजारका पीडितहरुको अन्यत्रै बासस्थान छ । त्यसैले उहाँहरुलाई आवासको समस्या छैन ।

समाजः अब यो छोटो मार्गको अवस्था कस्तो छ ? छिट्टै सञ्चालनमा आउन सक्ने देख्नुहुन्छ ? त्यसका लागि राज्यको संयन्त्रले के कति काम गरेको छ ?
पोखरेलः
राज्यको संयन्त्रले काम गरेको जस्तै देखिन्छ । अब एउटा एक्साभेटर लान सकिने अवस्था छैन । दुई तीनवटा एक्साभेटर भएको भए काम अलि छिटो हुन सक्थ्यो । तर, एक्साभेटर लैजान सकिने बाटो छैन । त्यसकारण कति कुराहरु गर्ने मन हुँदा–हुँदा साधन श्रोतको अभावमा एउटा एक्साभेटर चेनवाला र एउटा जेसिबीले काम गरेको देखेका थियौँ हामीले । उहाँहरु अहोरात्र खटिनुभएको छ । राज्यको संयन्त्रमार्फत बाटो बनाउनका लागि लागिरहनुभएको छ । मलाई लाग्छ २/४ दिनभित्र छोटो बाटो खुल्नेछ ।

समाजः विपद्को समयमा जसरी काम गर्नुपथ्र्यो हाम्रो राज्यको संरचनाले त्यस्तो भएको पाउनु भयो ? राज्यको संरचनाहरु विपद्को समयमा राम्रोसँग प्रस्तुत हुन सकेन कि भन्ने कुरालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
पोखरेलः
यतिबेला क्षतिको विवरण नै राम्रोसँग नआएको कुरा छ । विवरण लिन चाहने हो भने सकिन्छ । मकवानपुरमा १० वटा पालिकाहरु छन् । पालिकामा सबै सरकारी संरचनाहरु विद्यामान छन् । उहाँहरुले त्यो संरचनालाई दुई दिन चैं खटाउने हो भने त्यहाँको स्थानीय ठाउँहरुमा उहाँहरु पुग्न सक्नुहुन्छ । उहाँहरुले ल्याउन सक्नुपथ्र्यो । तर अहिलेसम्म पनि नआउनु भनेको दुर्भाग्य हो । किनकि अलिअलि हाम्रा संयन्त्रहरु यस्तै त हो नि भनेको जस्तो लाग्ने कि क्या हो उनीहरुलाई विपद् जस्तो कुरामा अलि जिम्मेवार हुनुपर्ने हो ।

समाजः जिल्लाको विपद् व्यवस्थापन समितिमा त छलफल त भयो होला । तपाईंहरुको सर्वदलीय छलफलको कुराहरु के छ ?
पोखरेलः
हामी राजनीतिक दलहरुले छलफल गरिरहेका छौं । त्यो छलफलको कार्यमा हामीहरु सबैजना सहभागी भएका छौं । वास्तविक पीडितहरुले राहत पाउनुपर्यो र एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ । उद्दारलाई प्राथमिकताका साथ छिटो भन्दा छिटो पुनःस्थापनलाई जोड दिनुपर्यो किनकी चाडवाड आउँदै छ भनेर हामीले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वकै विपद् व्यवस्थापन समितिमार्फत ध्यानाकर्षण गराएका छौं ।