बालमैत्री वडाका होटल तथा मोटर ग्यारेजमा श्रमिक बालकहरु भेटिएका छन् । वडा हुँदै हेटौँडा उपमहानगरपालिकालाई नै बालमैत्री घोषणा गर्ने तयारी भइरहँदा बालमैत्री घोषणा भएका वडामै श्रमिक बालबालिका भेटिनु चुनौति र घोषणाकै औचित्यमाथि प्रश्न खडा हुने अवस्था हो । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिकाको नगर बालअधिकार समितिअन्तर्गत बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिका संयोजक सुरज बर्तौलासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः अनुगमनको क्रममा बालमैत्री वडा घोषणा भइसकेका वडाहरुमा बालश्रमिकहरुलाई उद्दार गर्नुभयो । यसले नगरलाई नै बालश्रम मुक्त बनाउन केहि समस्या देखिन्छ ?
बर्तौलाः चुनौति त कहिले पनि सकिँदैन । बालमैत्री घोषणालाई दिगोपना दिन जरुरी छ । रोजगारदाताले आफुलाई सजिलोका लागि जानेरै अनि तलब नै नदिएर बालबालिकालाई श्रममा राख्छन् । हामी नियमित अनुगमन गरिराखेका हुन्छौँ । हामीकहाँ उजुरीहरु पनि आउने गरेको हुन्छ । हाम्रो सहजकर्ताबाट अनुगमन पनि भइरहेको हुन्छ । सर्वसाधारण जनता पनि सचेत हुनुभएको छ । कहिँ बालश्रम भएको देख्नुभएमा सिविनमा, नगरपालिकामा खबर हुन्छ । हामी तुरुन्त जाने गरेका छौँ । विशेषगरी हामी ग्यारेज र होटेलहरुमा निगरानी गरिरहेको हुन्छौँ ।
समाजः बालमैत्री वडाहरु घोषणाका लागि मात्र घोषणा भएको हो ?
बर्ताैलाः यो दिगोपनका लागि अनुगमन गरिएको हो । हाम्रो नियमित अनुगमन हुन्छ । दण्ड, जरीवाना हुन्छ । जसले बालश्रम गराउनुहुन्न भन्ने सचेतना उहाँहरुलाई जान्छ । यो बिस्तारै कम हुँदैजान्छ भन्ने हाम्रो आशा छ ।
समाजः अनुगमनलाई बाक्लो बनाउन तपाईंहरुको योजना के छ ?
बर्ताैलाः अनुगमन हामी गरिरहेका छौँ । यो भन्दा पहिला पनि हामीले धेरैलाई उद्दार गरेको र परिवारलाई बुझाएका छौँ । दण्ड, जरिवाना पनि गराएका छौँ । दोहोरिएको खण्डमा यो भन्दा बढि सजाय हुन्छ भनी सचेत गराएका छौँ ।
समाजः बाँकी वडाहरु र नगरलाई बालमैत्री गराउने तयारी छ । अब कस्तो कुरामा ध्यान दिनुपर्ने देख्नुहुन्छ ?
बर्ताैलाः बालश्रम निर्मूल हुन्छ भन्ने कुरा मान्छेले जानेर, नजानेर बालश्रममा राखेका नै हुन्छन् । बालश्रम र बालविवाहको विषयमा वडा–वडामा सचेतना फैलाउने गरिएको छ । केहि वडाहरु बालमैत्री भइसकेका छन् । बाँकीका वडाहरुमा टोल–टोलमा अभिमुखीकरण र सचेतनाको काम हुँदैछ ।