उद्योगी, व्यवसायीको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा भोलि बुधबारदेखि हेटौँडामा सुरु हुँदैछ । साधारणसभाले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन हुने भएपछि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटको दुई वटा समूह प्यानल नै बनाएर निर्वाचनमा होमिँदै छ । निर्वाचनको सन्दर्भमा उद्योग वाणिज्य संघ मकवानपुरको वर्तमान समितिको उपाध्यक्ष समेत रहनुभएका रानाभाटसँग उहाँहरुको उम्मेदवारी, वर्तमान उद्योगी, व्यवसायीको अवस्था, आफ्नो उम्मेदवारीका आधारहरु, आगामी चुनौति, अवसर र योजनाका सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी ।
समाजः के के आधारमा आफूलाई मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष उम्मेदवार ठान्नुहुन्छ ?
रानाभाट ः म हेटौँडामा ३० औं वर्षदेखि व्यवसाय गर्दै आएको छु । आफ्नो व्यवसायसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा हाम्रो पनि केही सामाजिक राजनीतिक उत्तरदायित्व हुनुपर्छ भन्ने मान्यता बोकेको छु । त्यस कारणले गर्दा हामीलाई एउटा अवसरको आवश्यकता पर्ने रहेछ । जसले गर्दा म २०६९ सालमा मकवानपुर उद्योग वाणिजय संघमा प्रवेश गरेँ । संघमा विभिन्न पदाधिकारीहरुको भूमिका निर्वाह गर्दै म यहाँसम्म आइपुगेको छु । अहिले म उद्योग वाणिज्य संघमा उपाध्यक्ष छु । त्यसैले गर्दा आम नगरवासी र हेटौँडाका व्यवसायीको हकहितका लागि पनि म सक्षम र प्रतिवद्ध रहेको छु । हेटौंडा नगरभित्र भएका व्यवसायीलाई कसरी सफलतासम्म पु¥याउन सकिन्छ भनेर उम्मेदवारी दिन लागेको हुँ । व्यवसायमा लागेको मानिसहरुका वृद्धि विकासका लागि मैले आफूले योग्दान दिनुपर्छ भन्ने लागेको छ । सबै आफ्नो शुभेच्छुकहरुसँग सल्लाह गरेर एउटा योजना नै बनाएर उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
समाज ः अहिले आर्थिक मन्दीको स्थितिको हिसाबले व्यवसायीहरु तनावमा र समस्यामा छन् । व्यवसायीहरुको तपाईसँगको अपेक्षा के हुन सक्छ ?
रानाभाट ः वास्तवमा अहिले व्यवसायी साथीहरु निराशाजनक अवस्थामा रहेका छन् । धेरै व्यवसायीहरु विदेश पलायन हुनुभएको छ भने धेरैले व्यवसाय बन्द गरेको अवस्था छ । व्यवसायीको सटरहरु खाली भइरहेको अवस्था छ । आम व्यवसायीको हकहितका लागि पनि अनुरोध गर्ने काम भइरहेको छ । उद्योग वाणिज्य संघले यसका लागि के पहल गर्छ भने सबैको एउटै मात्र जिज्ञासा रहेको छ । हेटौंडाका व्यवसायीलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ ? भन्ने बारेमा हामीले काम गरिरहेका छौं । विभिन्न प्रकारकाबाट सुझावहरु संकलन गरेका छौं । बैंक व्याज, घर भाडा, स्थानीय सरकारको करको विषयलाई समेट्ने काम गरेका छौं ।
समाज ः व्यवसायीले तपाईलाई यस्तै हुनुपर्छ भनेर सल्लाह दिँदै गर्दा के चुनौती देख्नुभएको छ ?
रानाभाट ः व्यवसायीलाई एउटा किसिमको तनाव छ । बजारमा एक किसिमको व्यापारको मन्दी छ । हामीले कम्तीमा मकवानपुरमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सहकारहरुसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । विभिन्न लिलामी प्रक्रिया मात्र नगरेर पर्यटन क्षेत्रको विकास गरेर अगाडि बढेमा व्यवसायीको प्रवद्र्धन हुन्छ । हामीले सो विषयमा स्थानीय सरकारको ध्यानाकर्षण पनि गराएका छौं । मकवानपुरमा मात्र व्यवसायी धरासायी अवस्थामा परेका होइनन् । व्यवसायीको मौद्रिक हिसाबले बजारीकरण हुनुपर्छ भनेर हामीले समन्वय गरिरहेका छौं । पक्कै पनि त्यसबाट आशा गरेको अनुसार नतिजा आउला भन्ने अपेक्षा रहेको छ ।
समाज ः अहिले तपाइँहरुको टिम फरक प्रकृतिको बनेको जस्तो देखिएको छ । पदाधिकारीमा सबैलाई समेटिएको सर्वदलीय देखिन्छ नि ।
रानाभाट ः यसभन्दा पहिला निर्वाचनमा प्रष्ट राजनीतिक हिसाबले देखिएको थियो । म आफू पनि एउटा पार्टीमा आस्था राखेको व्यक्ति हुँ । तर, उद्योग वाणिज्य संघमा व्यवसायीको हकहितका लागि काम गर्नुपर्छ जस्तो मलाई लाग्छ । मैले जति पनि टिम बनाएँ यसले सबै व्यवसायीको हतहितका लागि लड्ने सर्वपक्षीय टिम बनाएको छु । यो समग्र व्यवसायीको संस्था भएकोले सबैले आफ्नो कुरा राख्न चाहन्छन् । सबै व्यवसायीलाई प्राथमिकता दिने हिसाबले राजनीतिक पाटोतर्फ नगएर आफ्नो टिम बनाएको छु । राजनीतिक हिसाबले नगई व्यवसायीको हकहितका लागि काम गर्ने गरी समूह बनाएका छौं ।
समाज ः तपाईको टिमको सकारात्मक कुरा के छ ?
रानाभाट ः मेरो टिममा सबै नेतृत्व गर्न सक्ने हुनुहुन्छ । अनुभव लिएका हुनुहुन्छ । विगतमा पनि उहाँहरुले व्यवसायीको मन जितेर नै आउनुभएको थियो । आज पनि पहिला कै जस्तो नेतृत्व दिन सक्ने टिम बनाएको छु । व्यवसायीहरुले गुनासोको सम्बोधन भएन, विभिन्न क्षेत्रको उपस्थिति भएन भनिरहनु भएको छ । मैले एक किसिमको संकल्प र सहमति गरेको छु । अब आम व्यवसायीको हितका लागि काम गर्नेछौं । करका प्रणालीका लागि हामी विभिन्न प्रकारका कार्यक्रमहरु ल्याउने छौं । प्रदेश सरकारको सहकार्यमा इन्कुभेसन सेन्टर पनि सञ्चालनमा ल्याउने कार्यमा हामी प्रयास गरिरहेका छौं । सो कार्यको हामी अन्तिम तयारीमा रहेका छौं । आम व्यवसायी सबैले यो टिमलाई समेट्नुपर्छ भन्ने कुरालाई मैले बुझेको छु ।
समाज ः मकवानपुर उद्योग वाणिज्य संघ उद्योग नभएर वाणिज्य बढी भयो भन्ने छ । उद्योगको विषय र मुद्दा त्यति प्राथमिकतामा पर्दैनन् किन ?
रानाभाट ः उद्योग वाणिज्य संघ उद्योग र वाणिज्यलाई समेटेर गठन भएको संस्था हो । कति उद्योगहरु हामीमा पनि दर्ता छ । कति उद्योग संघ मकवानपुरमा आवद्ध छन् । आर्थिक मन्दीको कारणले व्यवसायी पलायन हुनु परेको छ । संघले कुनै कुरामा नेतृत्व लिँदा पहिलाको समस्या कमजोरी पनि भएको थियो । करचुक्ताको अवधारणाको कारणले संघको सदस्यको संख्यामा कमी आएको छ । संस्थामा सदस्यको संख्या घटेपनि यसले उद्योगको विकास र हकहित र विकासका लागि काम गर्छ भन्ने मैले विश्वास लिएको छु । निष्कृय भएका सदस्यहरु आवद्ध नभएका हुन् ।
समाज ः अहिले हेटौँडामा औद्योगिक क्षेत्र विकास हुन सकेको छैन । यो समस्या समाधान हुन सक्ने अवस्था कति देख्नुभएको छ ?
रानाभाट ः प्रदेश सरकारको ऐन अन्तर्गत पनि धेरै कुराहरु छुटेका रहेछन् । मकवानपुरमा २ वटा औद्योगिक क्षेत्र छन् । एउटा पूर्ण क्षमतामा चलिरहेको छ भने अर्को नामको मात्र छ । पानी, बत्तीको समस्या सहजीकरण गर्नेगरी औद्योगिक क्षेत्रको व्यवस्थापन गर्नुपर्छ । मयुरधापको औद्योगिक क्षेत्रको विकास गर्ने कार्यमा लाग्नुपर्नेछ । मकवानपुरमा उद्योग किन खोल्ने र यसको विकास गर्ने विषयमा पहल हुनुपर्छ । औद्योगिक क्षेत्रको विकासका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । नापतौल हेटौंडामा छैन । प्रदेश सरकारसँग सहकार्य गरेर विभिन्न विकासमूलक कामका लागि अगाडि बढ्नुपर्छ । वाणिज्य संघले वार्षिक रुपमा शिविर नै सञ्चाल गरेर सहकार्य गरेको छ । आगामी दिनमा स्थानीय सरकारसँग सहकार्य गरेर व्यापार प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, व्यवसायीको विकासका लागि पहल गर्नुपर्छ ।