उद्योगी, व्यवसायीको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा भोलि बुधबारदेखि हेटौँडामा सुरु हुँदैछ । साधारणसभाले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन हुने भएपछि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटको दुई वटा समूह प्यानल नै बनाएर निर्वाचनमा होमिँदै छ । निर्वाचनको सन्दर्भमा उद्योग वाणिज्य संघ मकवानपुरको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका अग्रवालसँग उहाँहरुको उम्मेदवारी, वर्तमान उद्योगी, व्यवसायीको अवस्था, आफ्नो उम्मेदवारीका आधारहरु, आगामी चुनौति, अवसर र योजनाका सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी ।
समाज ः तपाईले आफ्नो अध्यक्षको उम्मेदवारको सन्दर्भ कसरी व्याख्या गर्नुहुन्छ ? के–के आधारमा आफुलाई अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत गर्नु हुन्छ ?
अग्रवाल ः म मकवानपुर उद्योग वाणिज्य संघमा २०६४ सालमा आमन्त्रित सदस्यको रुपमा आवद्ध भएको हुँ । म संघको कार्यसमिति सदस्य, सह–कोषाध्यक्ष, पुनः सदस्य, कोषाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्दै आएको हुँ । अब अध्यक्षको रुपमा सहज ३ वर्षे कार्यकाल विधिपूर्वक चलाउन सक्ने आँट मसँग रहेको छ । मैले कसैको विरुद्धमा उम्मेद्वारी दिएको होइन । प्रक्रियागत रुपमा मैले विभिन्न पदमा काम गरेर आएर अहिले नेतृत्व गर्न सक्छु र हाल वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेकाले अब अध्यक्ष पदको उम्मेदवार बनेको हुँ ।
समाज ः तपाई अध्यक्ष हुँदा उद्योगी, व्यवसायीका कस्ता मुद्दा बोक्नुपर्छ भन्ने महसुस गर्नुभएको छ ।
अग्रवाल ः १७ वर्षको उद्योग वाणिज्य संघको कार्यकालमा राजश्व तथा करहरुको समस्या, विभिन्न अनुगमनका समस्यामा संघले गर्न सकेको छैन । व्यवसायीलाई अनुगमनका क्रममा नडराइकन राज्यले खोजेको चाहेको नियमन गर्ने र त्यसमा संघले सहजीकरण गर्नुपर्छ । मैले त्यस्ता विषयलाई संघको मुद्दाको रुपमा अघि बढाउनेछु ।
समाज ः मकवानपुर उद्योग वाणिज्य संघ भनेको उद्योगी भन्दा पनि व्यापारीहरुको मात्रै संघ भएको बुझिन्छ । कति उद्योग स्थापनाका लागि सहजीकरण गर्न सक्यौं । मकवानपुरको उद्योगमा कुन खालको स्थिति हिजो थियो, आज के भयो ? उद्योगको विषयलाई तपाईँले कसरी हेर्नुहुन्छ ।
अग्रवाल ः मकवानपुर उद्योग वाणिज्य संघमा अहिले व्यापारीहरुको संख्या बढेको देखिएको छ । उद्योगीहरुमा चासो नदेखाइएको अवस्थाहरु पनि छ । अब त्यस्तो हुने छैन । हेटौंडा औद्योगिक क्षेत्रमा धेरै उद्योगीहरुले जग्गाहरु ओगटेर राखेको अवस्था छ । त्यहाँ उद्योग खोल्न सकेको छैन । म अध्यक्ष भएँ भने यसलाई व्यवस्थापन गर्नेछु ।
समाज ः नयाँ औद्योगिक क्षेत्रको परिकल्पना गरियो । सरकारले यस्तो खालको प्रयास पनि गरेको छ तर कार्यान्वयनमा आएको छैन । यस विषयमा संघले त्यति उठान गरेको पाइँदैन । तपाईको यो विषयमा धारणा र योजना के रहन्छ ?
अग्रवाल ः भुवनलाल श्रेष्ठको पालामा मयुरधाप औद्योगिक क्षेत्रको परिकल्पना गरिएको थियो । यसलाई हेटौँडामा अर्को औद्योगिक क्षेत्र बनाउने योजना रहे पनि निकुञ्ज र आरक्षले गर्दा बनाउन नसकिएको हो । चित्रेपानीमा रहेको २ हजार रोपनी जग्गा रहेको पाइएको छ । यसलाई नै हामीले अर्को औद्योगिक क्षेत्र बनाउने योजना रहेको छ ।
समाज ः अहिले मकवानपुर उद्योग वाणिज्य संघको भूमिका कस्तो छ । तपाई स्थापित हुनुभयो भने कस्तो खालको भूमिका निर्वाह गर्नु हुन्छ ।
अग्रवाल ः संघमा म स्थापित भएँ भने स्थानीय सरकार र प्रदेश सरकारसँगको सम्बन्ध सुधार गर्ने प्रयास रहनेछ । बागमती प्रदेश उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको बीचमा पनि मकवानपुर उद्योग वाणिज्य संघको सम्बन्ध अझै विस्तारित गरेर लानेछु । नगरपालिकाले बढाइरहेको करका कारण हाम्रा व्यवसायीहरु अहिले व्यवसाय कर र विज्ञापन करले पीडित छन् । आगामी वर्षमा हामी यसलाई पुरानै दरमा कायम गर्ने मेरो प्रतिवद्धता रहेको छ । अहिले बैंक तथा वित्तीय क्षेत्र समस्या रहेको छ । बैंकले ऋण नदिइरहेको अवस्थालाई उद्योग वाणिज्य संघले सहजीकरण गर्नेछ ।
समाज ः स्थानीय सरकारसँग संघको तिक्तता रहेको छ । प्रदेश सरकारसँग सम्बन्ध नै जोड्न नसकेको जस्तो बुझिन्छ । स्थानीय र प्रदेश सरकारसँग सम्बन्ध निर्माण गर्ने तपाईँको योजना कस्तो छ ? स्थानीय सरकारसँग सम्बन्ध राम्रो बनाउने र प्रदेश सरकारसँग सम्बन्ध स्थापित गर्ने उपाय के देख्नु हुन्छ ।
अग्रवाल ः उद्योग वाणिज्य संघ एउटा गैरराजनीतिक संस्था हो । स्थानीय सरकारसँग चिसिएको सम्बन्धलाई सुधार गर्नेछौं । प्रदेश सरकारसँग संघ र व्यवसायीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने नीति निर्देशनका कुराहरुमा प्रदेश सरकारसँग उद्योग वाणिज्य संघको जोडिने उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालयहरुसँग सहजीकरण गरेर मकवानपुरको विकास कसरी गर्न सकिन्छ ? व्यवसायीहरुलाई कसरी स्थायी गर्न सकिन्छ भन्ने विषयमा हामी अगाडि बढ्छौँ ।
समाज ः मकवानपुर जिल्लामा उद्यम व्यवसायको क्षेत्रमा नयाँ लगानी भित्रन नसक्नुको कारण के हो ?
अग्रवाल ः लगानीकर्ताहरु नभित्रिएको, नआएको भन्न मिल्दैन । अहिले पनि हेटांैडा औद्योगिक क्षेत्रमा नयाँ–नयाँ प्लान्टहरु लागिरहेको छन् । लगानीकर्ताहरु आइरहेका छन् । तर चाहेको जस्तो, सोचेको जस्तो भएको छैन । हेटौंडा औद्योगिक क्षेत्रभित्र जग्गा नपाइनुका कारण लगानीकर्ताहरु बाहिर जान थालेका छन् । यसैका लागि हामीले चित्रेपानीको २ हजार रोपनी जग्गा प्रदेश सरकार स्थानीय सरकारसँग पहल गर्नेछौं ।
समाज ः बजार क्षेत्रमा रहेको वाणिज्य क्षेत्रमा पनि खासै नयाँ व्यवसायीहरुको लगानी प्रवेश भएको देखिँदैन नि ।
अग्रवाल ः देश आर्थिक मन्दीमा गइरहेको छ । बैंकको व्याज बढ्दो रुपमा रहेको व्यवसायी मारमा परेका छन् । राज्यले निर्माण व्यवसायीहरुको ६० अर्व रुपैयाँ भुक्तानी नगर्दा आर्थिक मन्दि छाएको छ । अहिले धेरै व्यवसायीहरु पलायन भइरहेको अवस्था छ । पहिले विद्यार्थीहरु पढाइका लागि देश छोडेर गएका थिए भने अहिले आर्थिक मन्दीका कारण व्यवसायीहरु पनि पलायन भइरहेका छन् ।
समाज ः आर्थिक मन्दी भयावह अवस्थामा रहेको छ । तपाईँ उद्योग वाणिज्य संघको कार्यसमितिमै रहिरहनुभएको हुँदा यो जटिलतालाई समाधान गर्न सम्भावना कतिको देख्नुहुन्छ ?
अग्रवाल ः आगामी दिनमा राम्रै व्यापार हुन्छ । हेटांैडा बजारका सटरहरु बन्द हुने अवस्था हुँदैनन् भन्ने चाहिँ मलाई लागेको छ । हिजोको बैंकको १५ प्रतिशत व्याज अहिले ८ प्रतिशतमा झरेका कारण व्यवसायीहरुलाई राहत मिलेको छ । पसल खोलेर मात्रै नभएर ग्राहकहरु पनि आउनुपर्ने अवस्थामा अहिले युवाहरु धेरै विदेश पलायन भएका कारण व्यापार घटेको हो । बोर्डर एरिया नजिकरहेको र सामान सस्तो पाउने अवस्थामा बोर्डर एरियाका व्यवसायीहरु बढिरहेको र स्थानीय व्यवसायीहरु घटिरहेको अवस्था छ । हामीले पटक पटक प्रशासनसँग यो विषयमा छलफल गरिरहेका छौं ।
समाज ः यतिबेला उद्योग वाणिज्य संघ, महासंघको भूमिका कमजोर देखिएको हो ?
अग्रवाल ः स्थानीय सरकार, प्रदेश सरकारमा उद्योग वाणिज्य संघलाई त्यति महत्व दिएको मैले देख्दिनँ । नगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा उद्योग वाणिज्य संघ अनिवार्य सदस्य हुने व्यवस्था छ । उद्योग वाणिज्य संघले दिएको परामर्श व्यवसाय कर, विज्ञापन कर, बढाउनु हुँदैन । तर, बढाउने गरी माइन्युट गरिएको अवस्था छ । पछि नगरसभाबाट कर बढाइएको छ । नगरपालिकाको कर बढ्नु उद्योग वाणिज्य संघलाई प्राथमिकता नराख्नु भन्ने बुझिन्छ । उद्योग वाणिज्य संघको महत्व स्थानीय सरकार र प्रदेश सरकारले नगरेको जस्तो लाग्छ ।