जमिनको स्वामित्व ग्रहण गर्ने, एउटा छानो छाउने आम नागरिकको सपना हुन्छ । नागरिकले जमिनमा लामो समयदेखि भोगचलन गर्दै आए पनि जमिनमाथिको स्वामित्वको पुर्जा प्राप्त नहुँदा आम नागरिक पीडित बन्नु परेको छ । आर्थिक अवस्था सवल भएका व्यक्तिको हकमा लाखौं, करोडौं खर्चेर जमिनको स्वामित्व ग्रहण गर्ने गरेका पनि छन् । तर, जमिनको भोगचलन गर्दै आएका तर स्वामित्व ग्रहण गर्न नपाएकाहरुको हकमा उनीहरुको समस्या समाधान गर्ने र जग्गाधनी पुर्जा वितरण गर्ने गरी संघीय सरकारले ‘भूमि समस्या समाधान आयोग’ को जिल्ला समितिमा अध्यक्ष नियुक्त गरेको छ । सोही क्रममा मकवानपुरमा बलराम बल आयोगको अध्यक्ष नियुक्त हुनुभएको छ । आयोगको नवनियुक्त अध्यक्षसँग भूमिसम्बन्धी समस्या समाधानको विषयमा रहेर समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी :
समाज : भूमि समस्या समाधान आयोगको काम के हो ?
बल : भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीहरु लाखौंको संख्यामा छन् । उनीहरुलाई व्यवस्थित गरेर जग्गाधनी प्रमाणपत्रको पुर्जा दिएर मालिक बनाउने काम हो । अहिले हाम्रो आयोग ३ वटा काममा केन्द्रित छ ।
समाज : त्यो ३ वटा मुख्य मुख्य काम के रहन्छ ?
बल : सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउनु हाम्रो मुख्य काम हो ।
समाज : अध्यक्ष भएर जिम्मेवारी लिँदा कसरी काम गर्ने योजना बनाउनुभएको छ ?
बल : विगतमा काम गर्न कानुनले प्रतिबन्ध लगाएको स्थिति थियो । तर, अहिले केही कानुनी समस्या हल भएका छन् । हामी ३ तहले कुन–कुन काम गर्ने भन्ने विषयमा छलफल गरेर निर्धारण गर्छौं । तहगतरुपमा कुन–कुन काम गर्ने भनेर निर्धारण गर्छौं । छलफलबाट समस्याहरुलाई न्यूनीकरणको काम छिट्टै अगाडि बढाउँछौं । पूर्वआयोगको कामको निरन्तरता पनि भनिएको हुनाले पुर्जा दिनका तयारी रहेको अवस्था छ । सोही अनुसार एकदेखि डेढ महिनाको अवधिमा भूमिहीनहरुलाई पुर्जा वितरण गर्छौं । अहिले संख्यामा गणना गर्दा हामीसँग २५ हजारको हाराहारीमा भूमिहीन सुकुम्बासी छन् । केही भूमिहीनहरुले १० वर्ष अगाडिदेखि जग्गा भोगचलन गरेको देखिन्छ । सोही अनुसार जो जहाँको हो हामीले दर्ता गर्दिन्छौं ।
समाज : भूमिहीनहरुलाई लालपुर्जा वितरण प्रक्रिया कस्तो हुन्छ ?
बल : प्राविधिक पक्षहरुको सिफारिस, सर्जिमिन, फिल्डबुक, वडाको सिफारिस, पालिकाको सिफारिसलगायतका कागजातका आधारमा आयोगले स्थलगत अवलोकन गरी प्रक्रियाहरु पूरा गरेर जग्गाधनी पुर्जा वितरण गर्छ ।
समाज : भूमि भोगचलन गर्दै आइरहेको तर लालपुर्जा प्राप्त नभएको देशैभरीको समस्या हो । मकवानपुरको सन्दर्भमा तपाईंले जिम्मेवारी प्राप्त गर्नु भएको छ । यो विषयमा तपाईंले कति अध्ययन गर्नु भएको छ ?
समाज : उहाँहरुले भोगचलन गर्दै आउनु भएको जग्गाको जति क्षेत्रफल छ त्यो क्षेत्रफलको पनि निश्चित मापदण्ड छ । कतिदेखि कति निःशुल्क गर्ने, कतिलाई सःशुल्क गर्ने अथवा सरकारले मूल्य लिएर लालपुर्जा दिने प्रक्रिया छ । अब यता भूमिहीन सुकुम्बासी सानो संख्यामा हुनाले कार्यविधिभित्र छ ।
समाज : तपाईंको बुझाइमा भूमिहीन नागरिकहरुलाई छिट्टै नै लालपुर्जा वितरण गर्न सकिन्छ ?
बल : हजुर, सोचे अनुुसार काम भयो भने लालपुर्जा वितरण गर्छौं ।
समाज : छिटोमा कति समयभित्र लालपुर्जा वितरण गर्न सक्छौं ?
बल : त्यो प्रकृति हेरेर हुन्छ । तर जतिसक्दो छिटो र सहज तरिकाले काम गर्ने योजना छ । एउटा उत्साहजनक ढङ्गले प्रवेश गरेको छु । ढिलो गर्ने समय छैन, किनभने नागरिकहरुले धेरै दुःख पाइसके । अब यो पटक परिणाममा पु¥याउने योजना छ ।
समाज : तपाइँ सत्तारुढ दलको नेताको रुपमा आयोगको जिम्मेवारी पाउनुभएको छ । यस हिसाबले सरकारमा रहेका मान्छेका आसेपासेले मात्र लालपुर्जा प्राप्त गर्छन् भन्ने खालको व्याख्या भइरहेको छ । त्यो आशंका पनि रहन्छ । त्यस्तो हुँदैन भन्ने तपाईं कसरी विश्वस्त पार्नु हुन्छ ?
बल : विगतको कामहरुले पनि जनतालाई आतङ्कित बनाएको छ । त्यस्तो अभ्यास अहिले हुँदैन । अहिले प्रारम्भिक चरणमा नै विगतका आयोगका अध्यक्ष, पदाधिकारीहरुको छलफलबाट एउटा निश्कर्ष तयार पार्छौं र त्यसपछि जनताले भोगिरहेको उत्पीडनलाई मिलेर समाधान गर्छौं ।