हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्रयाक्टमा मकवानपुरका २ खेलाडी परेका छन् । बुधबार क्यानले सामाजिक सञ्जाल मार्फत क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा परेका खेलाडीहरुको नाम सार्वजनिक गर्दा मकवानपुरका रिजन ढकाल र शुभ कंशाकार पर्न सफल भएका हुन् ।
क्यानले हरेक वर्ष सेन्ट्रलमा खेलाडीहरुलाई समावेश गर्ने गरेको छ । समूह क, समूह ख, समूह ग र समूह घ बाट तथा इमर्जिङ समूहमा खेलाडीहरुलाई समावेश गरेर क्यानले नाम सार्वजनिक गरेको छ । क्यानले विभिन्न प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शनी गर्ने खेलाडीलाई कन्ट्रयाक्टमा राख्ने गरेको छ । खेलाडीहरुको मासिक पारिश्रमिक निर्धारण गर्नका लागि वार्षिक रुपमा समूह विभाजन गरेर समावेश गर्ने गरेको छ । मकवानपुरका शुभ कंशाकार एमर्जिङ समूहमा अटाएका छन् भने रिजन ढकाल समूह ‘घ’ मा अटाउन सफल भएका छन् ।

समूह ‘क’ मा परेका खेलाडीलाई क्यानले मासिक एक लाख रुपैयाँ, समूह ‘ख’ मा समावेश खेलाडीलाई ७० हजार रुपैयाँ, समूह ग मा समावेशलाई ५५ हजार रुपैयाँ र समूह ‘घ’ का खेलाडीलाई ३५ हजार रुपैयाँ मासिक रुपमा प्रदान गरिनेगरी क्यानले पारिश्रमिक निर्धारण गरेको प्रदेश तथा जिल्ला क्रिकेट संघका सदस्य सञ्जोक पोखरेलले बताउनुभएको छ । यस्तै, महिलातर्फ समूह क का लागि ५० हजार रुपैयाँ, ‘ख’ का लागि ३५ हजार रुपैयाँ, ‘ग’ का लागि २५ हजार रुपैयाँ र ‘घ’ का लागि २० हजार रुपैयाँको मासिक तलब दिने गरी क्यानले निर्धारण गरेको छ ।