सुदीप गिरी, प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर

विद्यालय तहको शिक्षा स्थानीय सरकार, विश्वविद्यालय तहको शिक्षा प्रदेश र संघीय सरकारको भागमा परेपछि शिक्षा विकास तथा समन्वय इकाईको औचित्यमाथि प्रश्न उठाउने गरेको छ । कार्यालयको नामका हिसाबले जिल्लाका पालिकाबीच समन्वय गरेर समग्रमा शैक्षिक सुधारका लागि सहजीकरण गर्ने इकाईको रुपमा शिक्षा विकास तथा समन्वय इकाईलाई प्रभावकारी बनाउन सकिने देखिन्छ । तर, यसतर्फ इकाईको प्रभावकारी योजना बनेको देखिन्न । विद्यालय तहको शिक्षालाई पालिकाले उचित ढंगबाट व्यवस्थापन गर्न नसकेको भनी आलोचना समेत भइरहेका बेला समन्वय इकाईको साथ लिन पालिकाहरु सकारात्मक हुनुपर्ने हो । तीन तहको सरकार गठन गरेर आपसी समन्वय, सहकार्यको अपेक्षा गरिएअनुरुप समन्वय र सहकार्य हुन सकेको छैन । यस्तो परिस्थितिमा विद्यालय शिक्षाको मर्म, पालिकाका क्रियाकलाप, समन्वय इकाईको भूमिका, जिम्मेवारी र चुनौति लगायतका विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको प्रमुखको रुपमा हालै जिम्मेवारी सम्हाल्नु भएका सुदीप गिरीसँग समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः शिक्षा विकास तथा समन्वय इकाईले अहिले के कस्ता क्रियाकलापहरु गरिरहेको छ ?
गिरीः
माध्यमिक तहको विषयगत शिक्षक पदस्थापनाको कार्य गरी ७ जना शिक्षकलाई नियुक्ति दिइएका छ । त्यसपछिको काम शिक्षक बढुवाको परीक्षा केन्द्र तोक्ने काम गरेका थियौं । जिल्ला भित्रका संस्थागत र सामुदायीक विद्यालयको प्रधानाध्यापक भेला कार्यक्रम भएको छ । जहाँ प्रधानाध्यापकहरुले प्रस्तुती पनि रहेको थियो । शैक्षिक सुधारको लागि प्रधानाध्यापकहरुले सिक्नुपर्ने कुराहरु बताउनुका साथै शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुसँग प्रतिवद्धता समेत गराइएको छ ।

समाजः प्रधानाध्यापकको भेला वार्षिक कार्यक्रम भित्रकै कार्यक्रम हो कि फरक ढङ्गको कार्यक्रम आयोजना गर्नुभयो ।
गिरीः
प्रधानाध्यापकको भेला कार्यक्रम बार्षिक कार्यतालिका भित्रकै कार्यक्रम हो । तर, संख्या थोरै छ । हामीले सबैलाई समेट्ने कोसिस ग¥यौं ।

समाजः मकवानपुर जिल्लामा सिकाई उपलब्धिको विषयलाई कतिको अध्ययन गर्नुभएको छ ?
गिरीः
सिकाई उपलब्धि देशव्यापी चुनैति हो । हामीले सिकाई उपलब्धि मान्ने भनेको शैक्षिक गुणस्तर परिक्षण केन्द्रले गुणस्तर मापन गर्छ । नेपालमा ५० प्रतिशत भन्दा कम छ । मकवानपुर जिल्लाको सन्दर्भमा पनि यो ५० भन्दा माथि जान सकेको छैन । एसईईको नतिजा हर्ने हो भने देशव्यापी भन्दा मकवापुर जिल्लाको कम रहेको देखिएको छ ।

समाजः अरु जिल्लामा पनि तपाईले काम गर्नु भएको छ । अरु जिल्लामा भन्दा मकवानपुर जिल्लामा के सकारात्मक र फरक भेटाउनुभएको छ ?
गिरीः
मूलभुत रुपमा सबै जिल्लाको शिक्षाको अवस्था एउटै रहेको छ । अब मकवानपुरको सन्दर्भमा हेटौंडा प्रदेशको राजधानी छ । यहाँ नियममा पनि चलेको देखिएको छ । अन्य क्षेत्रबाट पनि यहाँ विद्यार्थी अध्ययन गर्न आउनुहुन्छ । शिक्षा राम्रो भएको कारणले पनि आउनु भएको हो । र समग्र रुपमा मकवानपुर जिल्ला राम्रो रहेको पाइएको छ ।

समाजः यहाँको कमजोर र सुधार्नुपर्ने पक्ष के–के देख्नुभएको छ ?
गिरीः
शिक्षामा सुधार गर्नुपर्ने कुरा धेरै छन् । नतिजा नराम्रो रहेको कारण पनि यहि हो । मुख्य विषय भनेको विद्यार्थीले विद्यालय भित्र गर्ने व्यवहार र उपस्थित नहुने कारण देखिएको छ । विद्यार्थीलाई पढाईप्रति रुचि छैन । अर्काे पक्ष भनेको अभिभावकको कम चासो पनि देखिएको छ ।

समाजः विद्यालयस्तरको शिक्षा पालिकालाई जिम्मा दिइएको छ र विश्वविद्यालयको शिक्षा संघले हेर्छ । समन्वय इकाईको जरुरी छैन भन्ने व्यख्यामा तपाईले गर्ने कामले कतिको जरुरी रहेको देख्नु हुन्छ ?
गिरीः
यो राज्यले निर्णय गर्ने कुरा हो । म मकवानपुरको इकाइ प्रमुख भएको नताले भन्न मिल्ने कुरा होइन । आवश्यक भएर नै राज्यले शिक्षा विकास तथा समन्वय इकाई बनाएको होला ।

समाज ः समन्वय इकाइले गरेको के–के कामले यसको औचित्य पुष्टि गर्छ ?
गिरीः
हाम्रो कामको सन्दर्भ जुन छ संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर केहि काम हामीलाई दिइएको छ । कक्षा ९ र १० को सम्पूर्ण परीक्षा व्यवस्थापन हामीले गर्नु पर्छ । त्यसको अभिलेख राख्ने कार्य पनि गर्नुपर्छ । कक्षा १२ को परीक्षा पनि हामीले नै व्यवस्थापन गरिरहेका हुन्छाँै । यसका साथै कक्षा ८ र १० को अभिलेख हामीसँग रहेको हुन्छ । हराएको खण्डमा वा सुधार्नु पर्ने रहेमा हामीले सो कार्य गर्ने हुन्छ । जिल्लाभरको शिक्षाकको कार्यसम्पादन मूल्याङ्कन गर्ने र केन्द्रमा पु¥याउने कार्य गर्छौँ । शिक्षक अवकासको कुरा रहन्छ र शिक्षक सेवा आयोगको परीक्षा व्यवस्थापनको विषयमा पनि इकाइले हेरिरहेको हुन्छ । कार्यकारी भूमिका नभए तापनि कामले हामीलाई फुर्सद छैन ।

समाजः स्थानीय तहसँग समन्वय गरेर त्यस्तो धेरै काम भएको देखिँदैन । तपाईहरुले समन्वय गर्ने कुरा कस्तो रहन्छ ?
गिरीः
हाम्रो कार्य नै समन्वय गर्ने हो । हामी पालिकासँग छलफल गरेर कार्य अघि बढाउँछौँ । सबै कुरा हामी जानकारी गराउछौँ । समय समयमा हाम्रो बैठक हुन्छ जहाँ मकवानपुरको सबै स्थानीय तहमा हामीले यो यो काम गरेका छौं भनी अवगत पनि गराउँछौं ।

समाजः कतिपय पालिकाहरुले समन्वयसँग समन्वय नगरी सो शिक्षक सरुवाको कार्य गर्ने, अन्य विभिन्न क्रियाकलापहरुमा पनि जानकारी नगराउने गरेको भन्ने पनि सुनिएको हुन्छ । अब तपाईहरुले स्थानीय तहलाई गर्नुपर्ने कडाई के हुन सक्छ ?
गिरीः संविधानले दिएको अधिकारको परिचालन गरेको हो स्थानीय तहले । ऐनदेखि कार्य गर्न सबै अधिकार स्थानीय तहसँग भएको नाताले स्थानीय तहले गरेको कार्यमा हामीले हस्तक्षेप गर्न स्वभाविक हुँदैन ।