शैक्षिक सुधारका लागि अभिभावक जिम्मेवार र शिक्षक कर्तव्यनिष्ठ हुन जरुरी छ । शैक्षिक सुधारका लागि अभिभावको भूमिका र उपस्थितिलाई प्रोत्साहित गर्ने वातावरण छैन । व्यवस्थापन समितिमा अभिभावकको प्रतिनिधित्व रहे पनि त्यो व्यवस्थापन समिति हत्याउने प्रयासमा मात्रै सीमित देखिन्छ । अभिभावकलाई जिम्मेवार बनाएर विद्यार्थीको सहयोगी, साथी बन्न प्रेरित गर्ने हो भने शिक्षामा उल्लेखनीय सुधारमा अभिभावकको प्रभावकारी भूमिका रहन सक्ने थियो । नियमित बालबालिका विद्यालय उपस्थित भए, नभएको जनाकारी लिने र बेला–बेला शिक्षक समक्ष बालबालिकाका व्यवहार बुझ्ने गर्नुपर्छ । पेशाले शिक्षक नै भए पनि हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविका अभिभावक कृष्णप्रसाद पौडेलसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः चाडपर्वको बिदाको समयमा विद्यार्थीहरु घरमै रहँदा उनीहरुले के कस्ता कार्य गरे ?
पौडेलः विद्यार्थी घरमा रहेका बेला विद्यालयले दिएको गृहकार्यहरु गरे । अतिरिक्त किताबहरु पढ्ने जस्ता कार्यका साथै विभिन्न स्थानको भ्रमण गर्ने, त्यसैगरी अभिभावकहरुले विद्यार्थीलाई आफन्तकोमा लैजाने गरेको देखियो । चाडपर्वको महत्व बुझाउनुका साथ साथै सामाजिकीकरणमा पनि जोड दिनुपर्ने आवश्यक देखिन्छ ।
समाजः विद्यार्थी घरमा रहेको बेला पढाइको भन्दा पनि मनोरञ्जनमा व्यस्त हुने गरेको भेटिन्छ । यसलाई अभिभावकले कसरी हेर्नु पर्छ ?
पौडेलः विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष जिम्मेवार हुन पर्छ । अभिभावकले विद्यालय पठाएका छौँ भन्ने मात्र पनि हुनु भएन । घरमा आएर कतिको पढाई गरेको छ, के कुरा हेरिरहेको छ भन्ने पनि ख्याल राख्नु पर्छ । नबुझेको कुरा के छ सोध्नु पर्छ र सिकाउनु पनि पर्छ ।
समाजः अभिभावकले बालबालिकालाई कडाई गर्ने गरेको गुनासा पनि हुन्छन् । अभिभावकले बालबालिकासँग कस्तो व्यवहार गर्नु पर्छ ?
पौडेलः अभिभावक एकातर्फ बालबालिका एकातर्फ मोबाइल हेर्ने जस्ता कार्य गर्नु भएन । अभिभावकले बालबालिकालाई समय दिनु पर्यो । आफु पनि त्यो उमेर पार गरेर आएको हो । उनिहरुलाई सँगै राखेर सही, गतल सिकाउने सम्झाउने गर्नुपर्छ । बालबालिकाहरुले पनि अभिभावकले भन्नु भएको सकारात्मक कुरा बुझ्नु पर्छ ।
समाजः अभिभावकको विद्यालयमा कस्तो जिम्मेवारी हुन्छ ? विद्यार्थीको विषयमा शिक्षकहरु मार्फत बुझ्ने कुरा कस्तो रहन्छ ?
पौडेलः हामीले सक्छौं भने विद्यालयमा नियमित जानु पर्यो । नभ्याउने भए शिक्षक मार्फत आफ्ना बालबालिका विद्यालय उपस्थित भएको छ, छैन निगरानी राख्नु पर्छ । कतिपय विद्यार्थी घरबाट विद्यालय जाने भनेर निस्के पनि विद्यालय नगएको गतिविधि भेटिन्छन् । त्यसैले नियमित बुझनु पर्छ । परीक्षाहरुमा पनि कस्तो प्रस्तुती छ नतीजाको समयमा विद्यालय गएर बुझ्न पर्छ । उसको विद्यालयमा गर्ने व्यवहार शिक्षकसँग बुझ्ने गरे जिम्मेवर अभिभावक भइन्छ ।
समाजः तपाई भीमफेदी गाउँपालिकास्थित एक विद्यालयको शिक्षक पनि हुनुहुन्छ । त्यहाँका अभिभावक र यहाँका अभिभावकमा कस्तो भिन्नता पाउनु भएको छ ?
पौडेलः मैले पढाउने विद्यालय रहेको स्थानको भौगोलिक बनोटले यहाँ अर्थात हेटौँडा–५, पिप्लेको भन्दा दुर्गम भन्ने जनाउँछ । अभिभावकहरुको समय व्यस्तता पनि हेर्नु पर्छ । तुलनात्मक रुपमा ग्रामिण क्षेत्रका अभिभावकहरु धेरै शिक्षित पनि हुनुहुन्न । विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएपछि मात्र किन बालबालिकाको अंक कम आयो भन्न आउनुहुन्छ । सहरी क्षेत्रमा अभिभावक नियमित विद्यालय जाने, नभए शिक्षकहरुसँग सम्पर्क राख्ने गर्नुहुन्छ । समय र शिक्षाको कमिले हो कि भन्ने पनि कुरा रहन्छ ।
समाजः यस्तो समस्याको समाधानका लागि विद्यालयले के गर्नुपर्छ ?
पौडेलः विद्यालयले अभिभावकको रुचि बढाउन मासिक रुपमा छलफल राख्नु पर्छ । जहाँ विद्यार्थीको प्रस्तुती कस्तो छ भन्ने बताउनु पर्छ । अभिभावकलाई जिम्मेवारी के हो बुझाउनु पर्छ र शिक्षाको महत्वबारे जानकारी गराउनु पर्छ ।
समाजः तपाई शिक्षक पनि हुनुहुन्छ । तपाईका बालबालिकाले नबुझेको कुरा तपाईसँग सोध्ने गर्छन् कि गर्दैनन् ? विद्यार्थीसँग पनि कस्तो व्यवहार गर्नुहुन्छ ?
पौडेलः सोध्छन् । सिकाउने गरेको छु । विद्यार्थीलाई पनि सिकाउने विषयमा आफ्नै बालबालिका हो भनी सिकाउने गरेको छु । हरेक शिक्षकले विद्यार्थीलाई बालबालिका आफ्नोसरह मान्नु पर्छ । सबै विद्यार्थी जान्ने हुन्छन् भन्ने हुँदैन । सबैले फरक क्षमता लिएर जन्मेका हुन्छन् । त्यो पनि बुझ्नु पर्छ । विद्यार्थीको क्षमता अनुसारको शिक्षा प्रदान गर्नु नै शिक्षकको कर्तव्य हो ।
समाजः अभिभावकले विद्यार्थीलाई घरमा के–के गर्न, गराउन सक्छन् ?
पौडेलः अभिभावकले बालबालिकाहरुलाई समय तालिका बनाइदिनु पर्यो । उसको दैनिक कार्य के हो, कति समय पढ्ने र कति मनोरञ्जन गर्ने भनी तालिका बनाइदिनुपर्छ । बालबालिकालाई आवश्यक पर्ने सामग्री जुटाउने र अतिरिक्त क्रियाकलापमा सघाउने जस्ता कार्य गर्न जरुरी हुन्छ । यसले बालबालिकालाई असल बनाउन र जिम्मेवार बनाउन सघाउँछ ।
समाजः विद्यालय प्रशासनको भूमिका कस्तो रहनु पर्छ । विद्यालय पनि कतिको जिम्मेवार हुनु पर्छ ?
पौडेलः विद्यालय प्रशासनको भूमिका महत्वपूर्ण छ । विद्यार्थी र शिक्षकका बारेमा सँगै अभिभावकबाट आएका गुनासा पनि सुन्ने र त्यसमा कार्य गर्ने गर्नुपर्छ । प्रशासन जिम्मेवार बन्ने हो भने सबै पक्ष जिम्मेवार हुन्छ भन्ने लाग्छ ।