शनिबार हेटौंडा–१, चौकीटोलस्थित मजदुर यातायात बोर्डिङ स्कूलमा स्थापना गरिएको खोप केन्द्रमा दादुरा रुबेला विरुद्धको खोप लगाउन बालबालिकासहित आएका अभिभावकहरु ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा गत चैत महिनामै सञ्चालन गर्ने योजना बनाएको दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम लकडाउनका कारण दुई महिनापछि जेठ महिनाको अन्तिमदेखि असार महिनाको पहिलो सातासम्म सञ्चालन भयो । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा १०६ वटा खोप केन्द्र निर्धारण गरेर जेठ २९ गते शुरु भएको खोप कार्यक्रम असार ६ गते शनिबार सकिएको छ । शनिबारसम्म पनि छुटेका केही बालबालिकालाई आइतबार पनि खोप लगाइएको खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीले बताएका छन् । ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउन खटिनु भएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित नकौली सहरी स्वास्थ्य केन्द्रकी अहेव प्रतिमा घलानसँग समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

प्रतिमा घलान, अहेव, नकौली सहरी स्वास्थ्य केन्द्र
हेटौंडा उपमहानगरपालिका–१

समाजः दादुरा रुबेला विरुद्धको खोप अभियानमा तपाइँहरुले कसरी काम गर्नुभयो ?
घलानः दादुरा रुबेला विरुद्धको खोप अभियानमा हामीले सबैभन्दा पहिले तालिम लियौं । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले हामीलाई तालिम दिएको थियो । त्यसपछि हामीले हाम्रो कार्यक्षेत्र प्राप्त गर्यौं । ती क्षेत्रमा लक्षित बालबालिकाको संख्याको प्रारम्भिक अनुमान लगायौं । स्वास्थ्य स्वयम्सेविकाको सहयोगमा हामीले यो अभियानमा काम गर्यौं ।

समाजः तपाइँको कार्यक्षेत्रमा लक्षित बालबालिका कति थिए र ती मध्ये कतिले खोप लगाए ?
घलानः हाम्रो कार्यक्षेत्रमा ७४९ जना लक्षित बालबालिका थिए । शनिबारसम्ममा ५५७ जना बालबालिकाले खोप लगाएका छन् । केही छुटेकालाई आइतबार पनि हामीले खोप लगाइदिएका छौं । खोप केन्द्र अनुसार खोप लगाउने मिति तोकिएको हुन्छ । तोकिएको खोप तालिकाअनुसार शनिबार नै खोप लगाउने समय सकिए पनि छुटेकाहरुलाई हामीले आइतबार पनि लगाएका छौं ।

समाजः लक्षित गरेभन्दा दुई सय बालबालिका नियमित खोप कार्यक्रममा छुटेको देखिन्छ । कसरी यत्ति धेरै बालबालिका खोप कार्यक्रमबाट छुटे ?
घलानः नियमित खोप कार्यक्रममा यत्ति धेरै बालबालिका नसमेटिनुमा चैं लकडाउनको प्रभाव पारेको जस्तो लाग्छ । चैत्र मसान्तमा हुनुपर्ने खोप कार्यक्रम लकडाउनकै कारण जेठ अन्तिम सर्यो । भिटामिन ए खुवाउँदाको तथ्यांक अनुसार हामीले अनुमान गरेका हौं । लकडाउनकै कारण प्रभावित भए कि भन्ने लागेको छ । बजारक्षेत्रमा कोठा भाडामा लिएर बस्नेहरु लकडाउनका कारण आफ्नै घर फर्केका छन् । परिवारसँगै बालबालिका गाउँ गएका कारण पनि लक्षित बालबालिकाको संख्या घटेको हुन सक्छ ।

समाजः लक्षित बालबालिका सबै खोप कार्यक्रममा समावेश होउन् भनेर तपाइँहरुले के के गर्नुभयो ?
घलानः लक्षित बालबालिका सबै सहभागी गराउन भनेर हामीले वडासँग समन्वय गरेका थियौं । खोप कार्यक्रमको प्रचारका लागि व्यानर र पोस्टरहरु पनि तयार गरेर विभिन्न स्थानमा टाँस गर्यौं । वडा अध्यक्षको संयोजकत्वमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सहभागितामा घरघरमा निम्ता कार्ड समेत वितरण गर्यौं । जुन घरमा ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिका छन् त्यस्ता प्रत्येक घरमा निमन्त्रणा कार्ड वितरण गयौं ।

समाजः खोप कार्यक्रम सञ्चालन गर्दा तपाइँहरुले केही समस्या भोग्नु पर्‍यो ?
घलानः त्यस्तो खासै समस्या त भएन । १ नम्बर वडाको भौगोलिक क्षेत्र अलि जटिल भएका कारण आउन जान अलि समस्या पर्‍यो । जति पनि बजार क्षेत्र छन् त्यता खासै समस्या भएन । लालझाडी, भैरबडाँडा, नकौलीमा खोप कार्यक्रम सञ्चालन गर्दा भने केही असहजता भयो ।

समाजः लक्षित बालबालिकाका अभिभावकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
घलानः खोप कार्यक्रमका विषयमा हामीले लक्षित समूहका बालबालिकाका अभिभावकलाई हामीले पहिले नै सम्झाई, बुझाई गरिसकेको हुन्छौं । त्यसले गर्दा उहाँहरु सकारात्मक रुपमा नै उपस्थिति हुनुहुन्छ । त्यसैले त्यस्तो खासै समस्या भएन । अभिभावकहरु सहजै आउनुभयो । उहाँहरुले कुनै असहजता महसुस गर्नुभएन ।

समाजः खोप कार्यक्रममा जनप्रतिनिधि र समुदायको अगुवाको सहयोग कस्तो पाउनुभयो ?
घलानः हामीले धेरै नै सहयोग पायौं । नकौली जाने बेलामा त हामीसँग उपमेयर नै जानुभयो । प्रत्येक खोप केन्द्रमा जनप्रतिनिधिहरु पनि सँगै जानु भएको थियो । त्यसैले हामीलाई सहजै भयो ।