हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषणा गर्यो । लकडाउन घोषणा गर्नुअघि नै सरकारले चैत ६ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने घोषणा गरिसकेको थियो । कोरोना भाइरसको संक्रमण कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो गर्ने सरकारी निर्णयअनुसार देशका अधिकांश जिल्लामा जनजीवन सहज बन्दै गएको छ । यद्यपि शैक्षिक संस्थाहरु कहिलेदेखि सहज हुने निश्चित छैन । यस्तो परिस्थितिमा केही शैक्षिक संस्थाले यो बन्दाबन्दीलाई अवसरको रुपमा परिणत गरेका छन् ।
हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले बन्दाबन्दीकै बेला शिक्षक, विद्यार्थीले गणित प्रयोगशाला निर्माण गरेका छन् । कक्षा १० सम्म अंग्रेजी माध्यममा पढाई हुने जनप्रियमा बन्दाबन्दीकै बेला सहभागीबीच भौतिक दुरी कायम गरेर शिक्षक, विद्यार्थीको समूहले गणित प्रयोगशाला निर्माण गरेका हुन् । दैनिक १० जना विद्यार्थीसहित शिक्षकको एक समूहले गणित प्रयोगशाला तयार पारेका छन् । प्रयोगशाला निर्माणमा शिक्षक मानबहादुर घलानले सहजीकरण गर्नुभएको थियो । प्रयोगशालाको निर्माणपछि गणित शिक्षण प्रभावकारी र सहज हुने अपेक्षा गरिएको विद्यालय प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभयो । जनप्रिय माविले यसअघि शिक्षक रविन श्रेष्ठको अगुवाईमा सामाजिक प्रयोगशाला पनि निर्माण गरिसकेको छ ।
विद्यालयको एउटा कोठामा गणित प्रयोगशाला निर्माण गरिएको छ । प्रयोगशाला निर्माणमा अभिभावकले समेत सहभागिता जनाएको जनप्रिय माविको अंग्रेजी माध्यमतर्फका संयोजक कैलाश धितालले जानकारी दिनुभएको छ । विद्यार्थीहरु पनि उत्साहका साथ सहभागी भएको उहाँको भनाइ छ । कक्षा ८, ९ र १० का विद्यार्थीको सहभागितामा प्रयोगशाला निर्माण भएको हो । प्रयोगशाला निर्माणमा सहभागी विद्यार्थी सपन पोखरेल क्रियाकलापमा आधारित भएर सिक्नका लागि प्रयोगशाला नै बनाउन सहभागी हुँदा गणितका अनेक अवधारणा बुझ्न सहज भएको बताउनुहुन्छ । यस्तै अर्का सहभागी तानिया पोखरेलले पनि क्रियाकलापमा आधारित सिकाई प्रभावकारी हुने सुन्दै आएकोमा आफैं सहभागी भएर प्रयोगशाला नै निर्माण गर्दा निक्कै उत्साह बढेको बताउनुभयो ।
करिब २५ हजार रुपैयाँ लागतमै करिब १८ दिनको मिहिनेतमा प्रयोगशाला निर्माण भएको छ । बन्दाबन्दीका बेला तयार पारिएको प्रयोगशालाले सामान्य समयमा पठनपाठन सुचारु भएसँगै गणित विषयको अध्ययन–अध्यापन कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गणित विषयका शिक्षक मानबहादुर घलानले बताउनुभएको छ ।