हेटौँडा : मकवानपुरका रिजन ढकाल हङकङ सिरिजको बन्द सूचिमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको २० खेलाडीको सूचिमा मकवानपुरका ढकाल परेका हुन् । क्यानले सार्वजनिक गरेको खेलाडीको सूचिमा आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको हो ।
रोहित पौडेलको कप्तानीमा रहेने उक्त टोलीमा समावेश भएका ढकालले पिएम कपमा समेत राम्रो प्रदर्शन गरेका थिए । उनको प्रदर्शन अनुसार क्यानले ढकाललाई हङकङ सिरिजको बन्द सूचिमा समावेश गरेको हो । मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाँका अनुुसार टि–२० फरम्याटको अन्तर्राष्ट्रिय क्रिकेटमा २०८१ असोज १२ गते डेब्यू गरेका रिजनको खेल निरन्तर राम्रो हुँदै गएको छ । बायाँ हाते मिडियम बलर रिजनले पछिल्लो समय घरेलु क्रिकेट मार्फत् ब्याटिङमा पनि सुधार गरेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा रिजनले ६ खेलमा ६ विकेट लिएका छन् भने व्याटिङ तर्फ अजिवित एक रन बनाएका छन् ।
क्यानका अनुसार यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल हुनेछ । उक्त श्रृंखलामा नेपालसहित हङकङ, कतार र कुवेत सहभागी छन् । पहिलो खेलमा नेपालले कतारसँग चैत २७ मा खेल्नेछ भने चैत २८ मा कुवेतसँग र चैत ३० मा घरेलु टोली हङकङसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानका लागि चैत ३१ मा खेल हुनेछ । क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।