शिक्षण पेसा समाज रुपान्तरण र देश विकासको मुख्य मेरुदण्ड हो । शिक्षण पेसालाई हाम्रो समाज तथा राज्यले कम महत्व दिएको अवस्था छ । विभिन्न तहका परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीहरु शिक्षणतर्फ खासै आकर्षित हुन सकिरहेका छैनन् । पछिल्लो समय शिक्षण पेसाप्रति केही आकर्षण बढ्दै गएको छ । शिक्षण पेसा आफ्नो लागि उपयुक्त महशुस गरी गैरसरकारी संस्थाको रोजगारी त्यागेर आउनुभएका रेड रोज इङ्लिस स्कूलका प्रिन्सिपल कैलाश धितालसँग शिक्षा तथा शिक्षणसम्बन्धी विविध विषयमा गरिएको कुराकानीः
समाजः पहिला सामान्य एउटा शिक्षकको रुपमा रहँदा र अहिले प्रधानाध्यापक भइरहँदा कस्तो अनुुभव भइरहेको छ ?
धितालः २०७४ सालदेखि मैले हेटौंडाबाट शिक्षण पेसा सुरु गरेको हो । बीचमा फेरि शिक्षण पेसालाई आंशिकरुपमा कायम राखेर गैरसरकारी संस्थामा शिक्षासम्बन्धी नै काम गर्न थालेँ । केही समयपछि मलाई यो क्षेत्र मेरो लागि उपयुक्त लागेन । त्यसपछि फेरि म पूर्णकालीन शिक्षण क्षेत्रमा नै फर्किन चाहेँ । रेड रोज इङ्लिस सेकेन्डरी स्कूलको फाउण्डरसँग कुरा गरेँ र उहाँहरुकै विश्वास र मेरो आफ्नै आँटले मैले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेँ ।
पहिलाको दिनमा एउटा सामान्य शिक्षक भएर काम गरिरहँदा र अहिले प्रधानाध्यापक भएर काम गरिरहँदा मैले धेरै फरक पाएको छु । पहिला एउटा शिक्षक हुँदा जति पनि काम गराइको तौरतरिका हुन्थ्यो, त्योभन्दा बिल्कुलै भिन्नता छ प्रशासनमा बसेर काम गर्न । प्रधानाध्यापक भइसकेपछि सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले चुनौतीपूर्ण महसुस गरिरहेको छु ।
समाजः गुनासो सम्बोधन परिपाटीको सन्दर्भमा तपाईंले चाहिँ कसरी अभिभावकहरुको वास्तविक गुनासो सम्बोधन गरिरहनु भएको छ ?
धितालः अभिभावक, शिक्षक र समुदायबाट धेरै गुनासोहरु आउँछन् । त्यस्ता गुनासोहरुलाई सुन्ने र वास्ता नगर्ने गर्नु हुँदैन । समस्या जति राख्यो, त्यसले झन ठूलो रुप लिन्छ । त्यसकारण सकेसम्म समस्या जतिबेला आयो त्यतिबेला नै समाधान गर्नुपर्छ भन्ने लाग्छ मलाई । यसर्थ हामीले चाहिँ समस्या आएको बेलामा नै सम्बन्धित पक्षहरुसँग छलफल गरी समन्वय गर्दै आएका छौं । गुनासोभित्र नै गुनासोको हल हुन्छ भन्ने पनि मलाई लाग्छ ।
समाजः वर्तमान समयमा अभिभावक शिक्षाको महत्व कस्तो देख्नु भइरहेको छ ?
धितालः प्रायः सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयहरुमा एकदम आवश्यकता देखिन्छ । अधिकांश घरमा अभिभावकले बच्चालाई गृहकार्य गर्न लगाएर आफूचाहिँ छेउमा बसेर मोबाइल तथा टिभी हेरिरहेका हुन्छन् । यो एकदम गलत हो । किनभने बालबालिकाले हामीले भनेको भन्दा पनि हामीले जे गर्छाैं, त्यही कुरा बढी सिकिरहेका हुन्छन् । त्यसकारण यस्तो कुराहरुमा बालबालिका बढी आकर्षित हुन्छन् । यस्तो कुराहरुमा अभिभावकले ध्यान नदिएका कारण अहिले धेरै किसिमका समस्याहरु सिर्जना भइरहेका छन् । अभिभावकले बच्चासँग धेरै समय बिताउन, बच्चासँगै पढ्न, सिकाउने र रमाउने वातावरण सिर्जना गर्नका निम्ति पनि अभिभावक शिक्षा धेरै महत्वपूर्ण छ जस्तो मलाई लाग्छ ।
समाजः यहाँहरुले विद्यालयको शुल्क र गुणस्तरीय शिक्षाको तालमेल कसरी मिलाउँदै अघि बढिरहनुभएको छ ?
धितालः हाम्रो शैक्षिक गुणस्तर कति जना विद्यार्थीले, कुन ग्रेड, कति प्रतिशत ल्यायो भन्ने आधारमा हेर्ने पद्धति छ । हामीजस्तो शैक्षिक क्षेत्रमा काम गर्नेहरुको यो नै सबैभन्दा ठूलो कमजोरी हो भन्ने मलाई लाग्छ । हाम्रोमात्र नभएर यो कमजोरी अभिभावक तथा समुदायमा पनि रहेका हुन्छन् । हाम्रो विद्यालयमा रिजल्टको कुरा गर्ने हो भने अहिलेसम्मका सम्पूर्ण विद्यार्थीहरुले राम्रै ग्रेड ल्याएर पास भइरहेका छन् । अर्काेतिर म आफैं पनि विद्यालयको शुल्क अभिभावकलाई मारमा पार्ने, गोजी टकटक्याउने र आर्थिक प्रेसर पर्ने खालको हुनुहुँदैन भन्ने सोचबाट प्रेरित भएकाले त्यस्तो चर्काे शुल्क लिइएको छैन ।
समाजः परीक्षामुखी र व्यवहारिक शिक्षालाई सँगसँगै जोडेर लानका लागि यहाँहरुले केकस्ता कार्यहरु गर्दै आइरहनुभएको छ ?
धितालः हाम्रो शिक्षा प्रणालीअनुसार हामीले व्यवहारिक र परीक्षामुखी दुबै शिक्षालाई समायोजन गर्दै अघि बढ्दै आइरहेका छौं । हामीले विद्यार्थीलाई परीक्षा केन्द्रित नबनाएर सिर्जनात्मक बनाउनका लागि विभिन्न प्रशिक्षण कार्यक्रमहरु गर्दै आएका छौं । अब हामीले पछिल्ला दिनहरुमा विभिन्न संस्थासँग समन्वय गरेर वित्तीय प्रशिक्षणका साथै फिल्ड भिजिट कार्यक्रम गर्ने तालिका रहेको छ ।
समाजः पठन संस्कृतिको विकास गर्न कस्तो कार्यहरु गर्न सकिएला ?
धितालः पठन संस्कृति एकदमै महत्वपूर्ण हो । पछिल्लो समयमा म आफैं पनि पठन संस्कृति विकास गर्नका निम्ति पुस्तकालय अभियान मकवानपुरमा संलग्न भई पुस्तकालय स्थापना, सञ्चालन गर्दै मानिसहरुलाई समाजमा अग्रसर गराएर कम्तीमा पुस्तकालय भिजिट गर्न तथा बालबालिकालाई घरमै बसेर पढ्ने वातावरण सिर्जना गर्नका लागि सचेतना कार्यक्रमहरु गर्दै आएका छौं । विद्यालमयमा पठन संस्कृति विकास गर्नका निम्ति सर्वप्रथम विद्यार्थीहरुलाई स्थानीय पत्रिकाहरु उपलब्ध गरिदिनुपर्छ भन्ने मलाई लाग्छ । हामीले हाम्रो विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरु तथा लेखहरु पढ्न हौसला दिँदै आइरहेका छौं । त्यसैगरी कुनै घण्टीमा शिक्षक अनुपस्थित हुनुहुन्छ भने विद्यार्थीलाई पुस्तकालयमा पठाउने गर्दै आएका छौं । यद्यपि अभिभावकले बालबालिकाको जन्मदिन तथा अन्य खुशीका क्षणहरुमा अरु उपहारको सट्टामा पुस्तकहरु उपहार दिने बानी गर्नुभयो भने पठन संस्कृतिको विकासमा थप टेवा पुग्ने देखिन्छ ।