हेटौंडा: हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको खेलकुद महोत्सव अन्तर्गत नगरस्तरीय सेभेन ए साइड फुटबल र क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबारबाट श्रमिक माध्यमिक विद्यालयको सहव्यवस्थापनमा फुटबल र भूटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

हेटौंडा उपमहानगरभित्रका २१ विद्यालयको विद्यार्थीको टिम सहभागी सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार समिफाइनल खेल्ने विद्यालय टिमको टुंगो लागेको छ । हेटौंडा–१२ स्थित बुद्ध मावि र हेटौंडा–९ स्थित प्रगति माविबिच पहिलो सेमिफाइनल तथा हेटौंडा–४ स्थित श्रमिक मावि र हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीबिच दोस्रो सेमिफाइन हुने भएको हो । आज सोमबार विहान सेमिफाइनल खेलहरु हुने र फाइनल खेल सोमबार दिउँसो हुने श्रमिक माविका खेल शिक्षक राजेश अधिकारीले जानकारी दिनुभयो ।

क्वार्टरफाइनल खेलमा भूटनदेवी माविलाई २–० गोलले पराजित गर्दै बुद्ध मावि सेमिफाइनल प्रवेश गरेको छ । दोस्रो क्वार्टरफाइनलमा प्रगति माविले युगचेतना माविलाई १–० गोलले पराजित गरेको छ । यस्तै, हेटौंडा एकेडेमीले आधुनिक राष्ट्रिय माविलाई २–० गोल तथा श्रमिक माविले तासिल इङ्गलिस बोर्डिङलाई १–० गोलले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको हो ।

आइतबारै भएको खेलमा युगचेतना माविले वंशगोपाल माविलाई १–०, प्रगति माविले हेटौंडा मोर्डन माविलाई २–०, हेटौंडा एकेडेमीले चन्द्रोदय माविलाई २–०, आधुनिक राष्ट्रिय माविले तुलसीमेहर माविलाई १–० तथा श्रमिक माविले नवोदय शिशु सदनलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यसैगरी, हेटौंडा–४ स्थित भूटनदेवी माविको सहव्यवस्थापनमा सञ्चालित नगरस्तरीय क्रिकेट प्रतियोगितामा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा शनिबारबाट सुरु भएको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

आइतबार क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो । आज सोमबार सेमिफाइनल र फाइनल चरणको खेलहरु सञ्चालन हुने क्रिकेट प्रतियोगिताका संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभएको छ ।

आइतबार सम्पन्न भएको क्वार्टरफाइल खेलमा जीत निकाल्दै भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय, हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीले सेमिफाइनलको यात्रा पूरा गरेको उहाँले बताउनुभयो । सेमिफाइनल खेलमा भूटनदेवी मावि र प्रगति माविबिच प्रतिस्पर्धा हुनेछ भने आधुनिक मावि र हेटौंडा एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका ११ वटा विद्यालयको सहभागिता थियो ।

खेलकुद महोत्सव अन्तर्गत आज सोमबार नवोदय शिशु सदनको सहव्यवस्थापनमा नगरस्तरीय बास्केटबल प्रतियोगिता र सत्यम् जेभियर्स माविको सहव्यवस्थापनमा ४ नम्बर वडास्तरीय विद्यालयका महिला शिक्षकहरुको सहभागितामा डोरी तान्ने प्रतियोगिता (टग अफ वार) सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालले जानकारी दिनुभएको छ । बास्केटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाभित्रका ६ वटा विद्यालयको सहभागिता रहनेछ ।