हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका–३, कालिटारमा रहेको भवानी माध्यमिक विद्यालयको ४९ औँ अभिभावक भेला सम्पन्न भएको छ । शनिबार भएको भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा नवराज ओझालाई चयन गरेको हो ।
अभिभावक भेलाले ओझाको नेतृत्वमा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरेको विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्लले जानकारी दिनुभयो । समिति सदस्यहरुमा शेरबहादुर दर्लामी, राजकुमार तामाङ थिङ, शान्ति डिम्डुङ, शर्मिला प्रजा र राममाया प्रजा चयन हुनुभएको छ । यस्तै, समितिको वडा प्रतिनिधिमा वडा अध्यक्ष देवलाल बल र शिक्षक प्रतिनिधिमा अनिल चौधरी चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानाध्यापक मल्लका अनुसार अभिभावक भेलाले आइतराम स्याङ्तानलाई शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शिक्षक अभिभावक संघको सदस्यहरुमा समिता थापा मगर, रामबहादुर प्रजा, सञ्चिता मोक्तान, निरमाया सुनार, सिर्जना मोक्तान, जीतबहादुर प्रजा, पदेन सदस्यमा विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ल र शिक्षक प्रतिनिधिमा गोविन्द मल्ल चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुन्दर राना मगरको सभाध्यक्षता तथा कैलाश–३ का वडा अध्यक्ष देवलाल बलको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य राममाया प्रजाको विशिष्ट आतिथ्य तथा सांग्रिला डेभलपमेन्ट एसोसिएनका मधुसुदन राउत, विद्यालय व्यवस्थापन समितिका सदस्य सुकबहादुर स्याङ्तान, वडा सदस्य निरमाया सुनार, युवा व्यवसायी प्रदीप कालाखेतीलगायतको आतिथ्य रहेको थियो ।
१० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस वर्षको एसईई परीक्षाका लागि ४६ जना विद्यार्थीले फारम भरेका छन् भने अभ्यास परीक्षामा ४२ जना विद्यार्थीमात्रै उपस्थित भएका थिए । चार जना अनुपस्थित विद्यार्थी पठनपाठनका लागि अन्यन्त्र गएको र परीक्षाका लागि मात्र विद्यालयमा उपस्थित हुने विद्यालयका प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो ।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले विद्यालयमा विद्यार्थी नियमित उपस्थिति गराउने, पठनपाठनको गुणस्तर वृद्धि गर्ने, एसईई दिने विद्यार्थीका लागि आवासीयरुपमा पठनपाठन गराउनेलगायत विषयमा छलफल गरेको प्रधानाध्यापक मल्लले जानकारी दिनुभयो ।