पुस्तक हस्तान्तरण गरिँदै ।

हेटौँडा : पुष्पलाल स्मृति पुस्तकालयलाई गौतम बुद्ध र बौद्ध दर्शन सम्बन्धी पुस्तकहरु उपहारमा प्राप्त भएको छ । साहित्य संगम मकवानपुरको व्यवस्थापनमा सञ्चालित हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयलाई साहित्यकार दुर्गा लामिछाने ‘नमूना’ ले ३२ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

शनिबार लामिछानेले पुस्तकालय पुगेर साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनाललाई पुस्तक हस्तान्तरण गर्नुभयो । हेटौँडाका बौद्ध दर्शनमा रुची राख्ने पाठक एवम् अध्येताका लागि पुस्तक उपहार दिएको लामिछानेले बताउनुभयो ।

पुष्पलाल स्मृति पुस्तकालय हरेक दिन बिहान १० बजे खुलेर साँझ साढे ५ बजेसम्म खुल्ने गरेको छ । पुस्तकालयमा दैनिक औसत १० जना मात्रै पाठक उपस्थित हुने गरेको छ । पुस्तकालयको सदस्य हुनका लागि पाँच सय रुपैयाँ धरौटी लिने गरेको छ भने मासिक शूल्क १५ रुपैयाँ कायम गरेको छ । पुष्पलाल स्मृति पुस्कालयमा २ सय जना सदस्य छन् ।