हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा जारी पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । सोमबार समूह चरणको अन्तिम खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिता अन्तर्गत आज मंगलबारबाट नकआउट प्रणालीको खेलहरु सञ्चालन हुने बताइएको छ । समूह चरणको खेलमा जीत निकाल्दै आयोजक निब्टा क्लब बी, भीमफेदी युवा क्लब ए, भीमफेदी युवा क्लब बी, ६ ब्रदर्श भैँसे, सुपिङ युवा क्लब, कलिका युवा क्लब, च्यूरीबगैंचा क्लब र पान्द्राङ युवा क्लबले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।

भीमफेदी गाउँपालिकाको आर्थिक सहयोग तथा निब्टा क्लबको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक अनिल अधिकारीले जानकारी दिनुभएको छ । क्लबले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विगतदेखि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको संयोजक अधिकारीले बताउनुभयो । समूह चरणमा ११ टिमको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल ता प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर र उदीयमान खेलाडीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९५ हजार ६ सय ८० रुपैयाँ खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग रहेको उहाँले बताउनुभयो । संयोजक अधिकारीका अनुसार अन्य खर्च क्लबले नै व्यहोर्नेछ ।