हेटौंडा: हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनम भइरहेको खेलकुद महोत्सव अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा भएको नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि हेटौंडा–५ स्थित ज्ञानोदय आवासीय माविले जितेको छ ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भलिबल कोर्टमा आइतबार भएको फाइनल खेलमा ज्योति माध्यमिक विद्यालयलाई २–० को सोझो सेटले पराजित गर्दै ज्ञानोदयले उपाधि जितेको हो । ज्योतिलाई ज्ञानोदयले २५–१२ र २५–२२ को सेटले हराएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी ज्ञानोदय आवासीय माविका ग्रिसम अर्याल घोषित भएका छन् । खेलकुद महोत्सव अन्तर्गत नगरका १३ वटा विद्यालयको विद्यार्थी टिमबीच भलिबल प्रतियोगिता भएको आधुनिक राष्ट्रिय माविका खेलकुद शिक्षक राजाराम पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमलाई फागुन ७ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।