हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप अन्तर्गत मंगलबार भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा जित दर्ता गर्दै थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलअन्तरले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । थ्री स्टारको जीतमा खेलको ३ मिनेटमा नै सुशील राईले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । थ्री स्टारका लागि खेलको १७ औं मिनेटमा नवीन लामाले गोल गरेसँगै अग्रता दोब्बर भएको थियो ।
दोस्रो गोल खाएको केही मिनेटमा नै हिमालयन शेर्पाको पोष्टमा विदेशी खेलाडी फोफनाले थप एक गोल गरे । फोफनाले खेलको २४ औं मिनेटमा गोल गरेका थिए । शेर्पाले खेलको ३९ औं मिनेटमा पुनः गोल खाएपछि पहिलो हाफमा नै थ्री स्टारले ४ गोलको अग्रता बनाएको थियो । थ्री स्टारका लागि चौथो गोल एलेक्सले गरेका थिए । दोस्रो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि थ्री स्टार ४–० गोलअन्तरले शेर्पा विरुद्धको खेल जितेको हो । म्यान अफ द म्याच थ्री स्टारका नविन लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
थ्री स्टार बागमती गोल्डकपको चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो । फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपेयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।