विमोचनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः साहित्यकार श्रीराम पाण्डेको कथा संग्रह ‘दुर्घटित जन्म’को हेटौंडामा विमोचन गरिएको छ । शनिबार हेटौंडा–४, भैरवरोडस्थित किताबघरमा पाण्डेको कथासंग्रहको विमोचन तथा विमर्श गरिएको हो ।

विगत ५० वर्षदेखि साहित्य रचनामा लाग्नुभएका पाण्डेको ‘दुर्घटित जन्म’ पुस्तकको रुपमा चौथो तथा आख्यानको रुपमा पहिलो कृति हो । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागकी सदस्य एव्म मकवानपुकी साहित्यकार शान्ति प्रियवन्दनाले विमोचित कृतिको समीक्षात्मक टिप्पणी गर्नुभयो । कृतिमा समावेश भएका कथाहरु रचनाकालका दृष्टिले पूरानो भए पनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने उहाँले बताउनुभयो । कथा संग्रहमा समावेश ३६ वटा कथामध्ये कतिपयमा विषयवस्तु पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने उहाँले जानकारी दिनुभयो ।

कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै सशक्त ढङ्गले कलम चलाउने पाण्डे कृति प्रकाशनमा भने पछि परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो समय कृतिका रुपमा पाण्डेका रचनाहरु बाहिर आउनुलाई नेपाली साहित्यमा ’असल धातुको उत्खनन्’ भएको आफूले महसुस गरेको बताउनुभयो ।

कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले तीसको दशकदेखि नै कथा लेखनमा सक्रिय पाण्डेको कथा लेखनको शैली उत्कृष्ट रहेको बताउनुभयो । साहित्यकार रमेशमोहन अधिकारीले नेपाली साहित्यका स्थापित कथाकारहरु जत्तिकै सशक्त लेखन भएर पनि पछि परिरहेको अवस्थामा पाण्डेका अन्य कृतिहरु प्रकाशित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।