हेटौंडा: आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पससमक्ष १२ बुँदे मागपत्र बुझाएको छ । कमिटीका संयोजक प्रसिद्ध रेग्मीको नेतृत्वमा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख यमबहादुर सिलवाललाई विभिन्न मागसहित पत्र बुझाएको हो ।
क्याम्पसभित्र स्वस्थ एवम् स्वच्छ वातावरण निर्माण गर्न नियमित सरसफाईको व्यवस्थासँगै हरेक कक्षाकोठामा डस्टबिनको व्यवस्था गर्न र हरेक ब्लकको तलाहरुमा युरो गार्डसहितको स्वच्छ खानेपानीको प्रबन्ध गर्न माग गरिएको छ । प्रविधिको प्रयोग तथा फोनपेबाटै सरल तरिकाले क्याम्पसको शुल्क बुझाउने व्यवस्था मिलाउन माग गरिएको छ ।
सबै संकाय र तहमा सम्बन्धित विषयको स्किल डेभलपमेन्टका कोर्स सञ्चालन गर्न, स्नातक तहको तेस्रो वर्ष र अन्तिम वर्षमा हुने शैक्षिक भ्रमणका लागि क्याम्पसले दिने सहयोग रकम वृद्धि गर्न अनेरास्ववियुले माग गरेको छ । क्याम्पसमा व्यवस्थित र अत्याधुनिक सभाहल निर्माण पहल गर्न, डिजिटल क्लासरुमको व्यवस्था गर्न, लाइब्रेरीमा भएका किताबको सहज व्यवस्थापन गर्न र विद्यार्थीलाई समयमै गुणस्तरीय आईडी कार्ड प्रदान गर्न माग गरिएको छ ।
लाईब्रेरीको धरौटी रकम पारदर्शी बनाउन, सेनेटरी प्याड भेन्डिङ मेशिन व्यवस्थापन गरी प्रभावकारी ढंगले सञ्चालनमा ल्याउन र विद्यार्थीलाई आवश्यक पुस्तक यथाशिघ्र उपलब्ध गराउन माग गरिएको छ । अनेरास्ववियुले पेश गरेको मागहरु बेवास्ता गरिए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।