गजल पुरस्कार पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः गजल मञ्च मकवानपुरले संस्थाकी परिकल्पनाकार एवम् संस्थापक उपाध्यक्ष दुर्गा लामिछाने ‘नमुना’लाई श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मानबाट सम्मानित गरेको छ । शनिबार लामिछानेलाई ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मानित गरिएको गजल मञ्च मकवानपुरका अध्यक्ष केशव सुवेदी समर्पणले जानकारी दिनुभयो ।

गजल क्षेत्रको संस्थागत विकाससँगै उन्नयन र प्रवद्र्धनमा भूमिका खेलेको भन्दै उहाँलाई सम्मान गरिएको उहाँले बताउनुभयो । माध्यमिक तहस्तरीय गजल प्रतियोगितामा हेटौंडा–१४, मयूरधापस्थित जनज्योति माध्यमिक विद्यालयका कक्षा–१० मा अध्ययनरत् निकेश रुम्बा सर्वोत्कृष्ट गजलकार घोषित हुनुभएको छ । सर्वोत्कृष्ट गजलकार रुम्बालाई मनमाया स्मृति गजल पुरस्कारबाट पुरस्कृत गरिएको छ । ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहिद पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

शिक्षासेवी एवम् साहित्यसेवी भोला शिवाकोटीले श्रीकृष्ण तालुमाया नमुना स्मृति गजल सम्मान स्थापना गर्नुभएको हो भने मनमाया स्मृति गजल पुरस्कार गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले स्थापना गर्नुभएको हो । प्रतियोगितामा मकवानपुरका विभिन्न विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए । १४ मध्येबाट उत्कृष्ट ७ गजल छनोट गरी वाचनका लागि निम्त्याइएको थियो । गजलकार सानु खनाल र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभयो ।

मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा तथा अग्रज साहित्यकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । २२१ औँ नियमित गजलयात्राको क्रममा गजलकार देवराज तिवारी, विश्वनाथ सञ्जेल, धर्मराज स्याङ्तान, भवानी तिमल्सिना, सञ्जीत श्रेष्ठले गजल वाचन गर्नुभयो । कार्यक्रममा मञ्चका पूर्वअध्यक्ष गौतम, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायतको उपस्थिति रहेको थियोे ।