हेटौँडाः हेटौँडा–१८, दोभानचौरमा रहेको कमला आधारभूत विद्यालयको ४९ औं वार्षिक उत्सवको अवसरमा विविध खेलकुद प्रतियोगिता भइरहेको छ । आइतबारदेखि सुरु भएको खेलकुद प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेतीले जानकारी दिनुभयो ।
आइतबार नर्सरी र केजीका विद्यार्थीलाई बेलुन डान्स, कक्षा १–२ मा बेलुन फुटाई, कक्षा ३–४ मा ५० मिटर दौड, कक्षा ५–६ र ७–८ मा १०० मिटर दौड र वाटर बलरेस प्रतियोगिता भएको थियो । यस्तै, सोमबार कक्षागत तातो आलु, बिस्कुट खाने प्रतियोगिता, चम्चा दौड, बोरा दौड र केरा खाने प्रतियोगिता भएको थियो ।
मंगलबार नर्सरी÷केजीमा चकलेट दौड, कक्षा १–२ मा बेलुन दौड, कक्षा ३–४ मा बोतलमा पाइप राख्ने, कक्षा ५–६ मा केरा खाने र कक्षा ७–८ मा कट्टु लगाउने प्रतियोगिता भएको छ । बिहीबार कक्षा १–२ मा सर्ट लगाउने प्रतियोगिता, कक्षा ३–४ मा तीन खुट्टे दौड, कक्षा ५–६ मा गंगटा दौड र कक्षा ७–८ मा फुटबल प्रतियोगिता हुनेछ ।
विद्यालयको वार्षिकोत्सव शुक्रबार समापन हुनेछ । वार्षिकोत्सव समापनको दिन शिक्षकको चम्चा दौड र अभिभावकको घ्याम्पो फुटाइ खेलसमेत रहेको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विद्यालयमा हाल ३ सय १५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।


