हेटौंडा : हेटौंडा–८, कमानेस्थित माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको २८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ । शुक्रबार नृत्य, गायन, नाटक लगायत सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा स्कूलका प्राचार्य रामहरि रिमालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आगामी वर्ष विद्यालयलाई अझ उत्कृष्ट बनाउन लाग्ने प्रतिबद्वता जनाउनुभयो ।
वक्तृत्वकला, वादविवाद, चित्रकला, हाजिरीजवाफ, फुटबल, बास्केट बल र दौडजस्ता प्रतियोगिता विद्यालय आयोजना गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, स्वास्थ्य तथा सरसफाइ जागरुक अभियान सञ्चालन, वृक्षरोपण तथा वातावरण संरक्षण कार्यक्रम, धान रोपाइँबाट खेती किसानी पेशाको महत्व बुझ्ने अवसर प्रदान गरिएको उहाँको भनाइ छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित विषयका शैक्षिक गतिविधि र योजनालाई प्राथमिकता दिइने, भाषिक दक्षता विकास कार्यक्रम अन्तर्गत अंग्रेजी, नेपाली, मातृभाषा र अन्य विदेशी भाषाहरु सिकाउने योजना रहेको प्राचार्य रिमालले जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदी, अभिभावक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।