लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारबाट सुरु भएको छ । लैङ्गिक हिंसाविरुद्ध नियमितजसो अभियान, कार्यक्रम सञ्चालन गरे पनि लैङ्गिक हिंसाका घटनामा कमि आउन सकेको छैन । बरु पछिल्लो समय लैङ्गिक हिंसाका जघन्य अपराधहरु भइरहेका छन् ।लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको सन्दर्भमा माईती नेपाल रोकथाम गृह मकवानपुरकी कार्यक्रम संयोजक माया लामासँग समाज संवाददाता संगी लामाले गर्नुभएको कुराकानीः
लामाः हामीले विगत लामो बर्षदेखि नोभेम्बर २५ तारेखदेखि डिसेम्बर १० तारेखसम्म विविध कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउँदै आएका छौँ । यसबर्ष पनि मकवानपुरमा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदैछ । लैङ्गिक हिंसाको केस विगतको तुलनामा बढेको पाइन्छ । जबरजस्ती करणी, घरेलु हिंसाको केस दिन प्रतिदिन बढिरहेको छ । व्यवहारिकरुपमा हेर्दा म माइती नेपालमा काम गर्छु । माइती नेपालमार्फत् हामीले मानव बेचबिखन विरुद्धको क्षेत्रमा काम गर्छौ र महिला हिंसाविरुद्धको विभिन्न मुद्धाहरु पनि हामीले हेरिरहेका हुन्छौं । अहिलेको अवस्थामा माइती नेपालमा दिनमा ४/५ वटा महिला हिंसाविरुद्धको केसहरु आइरहेका हुन्छन् । पहिला/पहिला श्रीमान/श्रीमतीबीचको झगडाको केसहरु आउँथे भने अहिले लैङ्गिक हिंसाका केसहरु बढि पाइने गरेको छ । अहिले साइबर क्राइमहरु पनि बढिरहेका छन् । फेसबुकबाट टर्चर दिने, सामाजिक सञ्जालको दुरुप्रयोग गर्ने जस्ता घटनाहरु मकवानपुरमा बढिरहेको छ ।
समाजः यो अभियानको औचित्य के हो ? अभियानले लैङ्गिक हिंसाको न्यूनीकरण गर्न कस्तो सहयोग पुगेको पाउनु भएको छ ?
लामाः यो अभियानको मुख्य औचित्य भनेकै जनचेतना, सचेतना फैलाउनु हो । विगतबाटै हामीले हिंसा गर्नु हुन्न, हिंसा सहनु हुन्न, हिंसाविरुद्ध आवाज उठाउनु पर्छ, हिंसाको प्रतिकार गर्नुपर्छ भन्दै आएका छौं । त्यस्तै म हिंसा गर्दिन, मैले हिंसा सहनुहुन्न र म हिंसाको विरुद्ध बोल्छु भनेर यो अभियानलाई हामीले लिइराखेका छौं ।
समाजः लैङ्गिक हिंसाका घटना हुनुको प्रमुख कारणचाहिँ के होला ?
लामाः लैङ्गिक हिंसाका घटना हुनुको कारणहरु मैले विभिन्न देखेको छु । हिंसा भन्नेबित्तिकै अहिले श्रीमान/श्रीमतीबीच, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबीच देखिएको छ । अहिले के छ भन्दा, प्रेममा परेर आत्महत्या गर्ने धेरै रहेका छन् । श्रीमान/श्रीमतीबीच झगडा भयो भने अदालतमा गएर सम्बन्धविच्छेद गर्न खोज्दछन्, तर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबीच झगडा भयो भने सिधै आत्महत्या गर्ने केस बढिरहेको छ । यसरी हेर्दाचाहिँ श्रीमान/श्रीमतीको केसचाहिँ नर्मल, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबीचको केसचाहिँ विकारल बन्दै गएको छ । हाम्रो कार्यालयमा आउने अधिकांश केसहरुलाई विस्तृतरुपमा हेर्दा श्रीमान/श्रीमतीबीच विश्वास नै छैन, शंकाको भावना रहेको पाइएको छ । जसले गर्दा सम्बन्धविच्छेदको अवस्था भइरहेको छ । मेरो विचारमा बिशेषगरी एकअर्काबीच विश्वास नहुनु नै लैङ्गिक हिंसा हुनुको प्रमुख कारण हो ।
समाजः तपाईंले लैङ्गिक हिंसा न्यूनीकरणमा चाहिँ कुनकुन क्षेत्रको कस्तो भूमिका जरुरी देख्नुहुन्छ ?
लामाः लैङ्गिक हिंसा न्यूनीकरणमा तपाईं हामी सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ । घरमा हिंसा हुनु भएन, हिंसा भइहाल्यो भने पनि उजुरी गनुपर्ने निकायले कानुनअनुसारको कार्यान्वयन गर्न सक्नुपर्छ । हिंसाविरुद्धको कानुनहरु धेरै छन्, तर त्यसको उचित कार्यान्वयन हुन सकेको छैन । पहिला मानव बेचबिखनको घटनाहरु बढिरहेको थियो तर त्यससम्बन्धी कानुन बनेपछि र त्यसको कार्यान्वयन भएपछि त्यससम्बन्धी घटनाहरु कम हुँदै गएको पाइएको छ । त्यसैले हिंसाको न्यूनीकरण गर्न कानुनको कार्यान्वयन हुनु जरुरी छ । कसैले कसैलाई हिंसा गर्नु हुन्न, चाहे त्यो महिला होस् या पुरुष । हामीले आ-आफ्नो क्षेत्रमा हिंसा नगर्ने अनि हिंसाविरुद्धको कानुनलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ जस्तो लाग्छ ।