नेपालमा सूर्तीजन्य पदार्थको उत्पादन, बेचबिखन र उपभोगलाई व्यवस्थित गर्न १३ वर्षअघि ऐन बनेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन–२०६८ मा सूर्तीजन्य पदार्थको जथाभावी उत्पादन, बेचबिखन र सेवन गर्ने कार्यलाई नियमन र नियन्त्रण गर्ने थुप्रै कानुनी व्यवस्था छ । ऐन लागू भएको दशकौंसम्म पनि ती व्यवस्थाहरु प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । गत मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधित क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने भन्दै सूचना जारी गरेको छ । ऐनमा भएको व्यवस्थाअनुसार निषेधित क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री वितरण भए नभएको अनुगमन गर्ने र ऐनबमोजिम नभए कारबाही गर्ने बताइएको छ । ऐनमा व्यवस्था भएबमोजिमका अधिकांश प्रावधान हालसम्म पनि लागू हुन सकेको छैन । ऐनले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको भए पनि त्यसो हुन सकेको छैन । सूर्तीजन्य पदार्थको खपत कम गर्न राज्यले अवलम्बन गरेका ऐन, नियम तथा नीतिको कार्यान्वयन नहुँदा विभिन्न समस्या सिर्जना भइरहेका छन् ।
सूर्तीजन्य पदार्थको जथाभावी बिक्री वितरण र सेवन गर्ने क्रम बढ्दै गइरहेको अवस्थामा प्रशासनको खबरदारी सान्दर्भिक छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐनले शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयलगायत नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटरभित्र घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था गरेको छ । ऐनले निषेधित गरेको क्षेत्रभित्रै सूर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको छ । विद्यालय तथा क्याम्पस वरपरका अधिकांश चिया खाजा खाने होटलमा चुरोट तथा अन्य सूर्तीजन्य पदार्थको बिक्री र सेवन हुने गरेको छ । बालबालिका तथा किशोरकिशोरीहरु विद्यालय पोशाकमै चुरोट सेवन गरेर बसेको भेटिन्छ । १८ वर्षमुनिका बालबालिकालाई सूर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने कानुनी व्यवस्था भए पनि सिमित नाफाको लोभमा व्यवसायीले निर्वाधरुपमा सूर्तीजन्य पदार्थ बेच्ने गरेका छन् ।
सडक, होटल, पार्कलगायत सार्वजनिक स्थानमा चुरोटलगायत सूर्तीजन्य पदार्थ सेवन गर्न ऐनले निषेध गरेको भए पनि अधिकांश होटलमा खुलेआम बिक्री र सेवन हुने गरेका छन् । कतिपय सरकारी कार्यालय परिसरमा पनि सूर्तीजन्य पदार्थको बिक्री तथा सेवन भइरहेको देखिन्छ । रेष्टुरेण्ट, होटल र चिया पसलहरुमा धुमपान गर्नको लागि छुट्टै क्षेत्रको व्यवस्था गर्नुपर्ने भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । सूर्तीजन्य पदार्थ बिक्री गर्नका लागि अनुमति लिएर छुट्ट्रै पसल सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था पनि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । जुनसुकै पसलबाट, जुनसुकै समयमा, जोसुकैले चुरोट, सुर्ती किन्न पाइने र जहाँ पनि सेवन गर्ने सुविधाले धुमपान गर्नेलाई प्रोत्साहन मिलिरहेको छ । आफ्नो व्यवसाय चलाउनकै लागि होटल तथा पसल सञ्चालकले कानूनी व्यवस्थाको उल्लंघन गर्दा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनमा समस्या भइरहेको छ ।
सरकारले सार्वजनिक ठाउँमा सूर्तीजन्य पदार्थको सेवनमा बन्देज लगाए पनि त्यसको कार्यान्वयन हुन नसक्दा वरपर बस्नेलाई समेत असर पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाबमोजिम समय–समयमा अनुगमन गरेर प्रभावकारी कार्यान्वयन गर्न सकेमा केही सकारात्मक परिणाम देखिने आशा गर्न सकिन्छ । सम्बन्धित निकायले प्रभावकारी अनुगमन गरेर जथाभावी चुरोट तथा सुर्ती बिक्री गर्ने र सेवन गर्नेलाई ठाउँको ठाउँ कारवाही नगर्दासम्म यसको नियमन र नियन्त्रण सम्भव छैन । लामो समयसम्म पनि प्रभावकारी कार्यान्वयनमा आउन नसकेको ऐन कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको चासोलाई व्यवसायीले र आम सर्वसाधारणले सहयोग गर्नु आवश्यक छ ।