हेटौँडा : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सगठनको केन्द्रीय समिति सचिव निराजन बमले गल्ती स्वीकारेपछि प्रहरीले छाडिदिएको छ । आइतबार मध्यान्ह १२ बजेको समयमा चितवन प्रहरीले पक्राउ गरेका बमलाई आइतबार साँझ पौने ८ बजेको समयमा मकवानपुर प्रहरीले छाडिदिएको हो । प्रहरीले छाडेपछि बमलाई राप्रपाका नेता कार्यकर्ताले अबीर र खादाले स्वागत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष भीम पाख्रिन, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, राप्रपा मकवानपुरका अध्यक्ष सागर थापा, बागमती प्रदेश सभा सदस्य ज्ञानुजंग लामाको उपस्थितिमा छलफलपश्चात बमले प्रहरी कार्यालयमा गल्ती स्वीकारेपछि छाडिएको हो । प्रहरीले बमलाई राप्रपा मकवानपुरका अध्यक्ष सागर थापाको जिम्मामा छाडेको प्रवक्ता अर्यालले बताउनुभयो ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा बमले पूर्वप्रधानमन्त्री प्ुष्पकमल दाहालको फोटो जलाएका थिए । पूर्वप्रधानमन्त्रीको फोटो जलाएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरी हेडक्वार्टरबाटै बमलाई पक्राउ गर्न प्रहरीलाई सर्कुलर गरिएको थियो । शनिबार हेटौँडाको कार्यक्रम सकिएपछि चितवन पुगेका बम आइतबार मध्यान्ह १२ बजेको समयमा भरतपुर विमानस्थलबाट काठमाडौं जान लाग्दा प्रहरीले पक्राउ गरेको थियो ।
चितवन प्रहरीले बमलाई आइतबार दिउँसो मकवानपुर प्रहरीको जिम्मा लगाएको थियो । स्रोतका अनुसार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आसन्न महाधिवेशन लक्षित गरी बमले आफूलाई चर्चामा ल्याउन पूर्वप्रधानमन्त्रीको फोटो जलाएका हुन् । बिक्रम पाण्डे निकटका बम संगठनको नेतृत्वको दावी गर्नका लागि चर्चामा रहने रणनीतिबाट प्रेरित भएर औपचारिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीको फोटो जलाउने प्रयास भएको स्रोतको भनाइ छ । संगठनको महाधिवेशन यही चैत १६ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ ।