निमेष निखिल

वाङ्मयलाई गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुबै प्रकारका खास भाषाका समग्र रचनाहरूको समूह, ग्रन्थ, अभिलेख आदिका रूपमा नेपाली बृहत् शब्दकोशले अथ्र्याएको छ । वास्तवमा वाङ्मय भनेको कुनै पनि स्थानविशेषका जातजाति, भाषाभाषी र तत्स्थानिक समग्र मानव समुदायको वास्तविक परिचय, तिनको सभ्यता, संस्कृति र चिन्तन पद्दतिको द्योतक पनि हो ।

यसै तथ्यलाई मनन गरेर नै नेपालको संविधान २०७२ ले हरेक स्थानीय तहमा भाषा–साहित्य र संस्कृतिको जगेर्ना हेतु स्थानीय सरकारकै एउटा निकायका रूपमा प्रज्ञा प्रतिष्ठान (नाममा प्रज्ञा प्रतिष्ठान नै जोड्नुपर्छ भन्ने छैन) गठन गरी सम्बन्धित क्षेत्रको विकासका लागि कार्य गर्न सकिने व्यवस्था गरेको छ । र, यसै व्यवस्थालाई टेकेर देशका विभिन्न नगर तथा गाउँ पालिकाहरूले प्रज्ञा प्रतिष्ठान गठन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिने खालका गतिविधि समेत सञ्चालन गर्दै आएका छन् ।

हेटौँडा नगर क्षेत्र पनि वाङ्मयिक गतिविधिका दृष्टिले विगतदेखि नै आफ्नो प्रभावशाली उपस्थिति नेपाली साहित्यमा जनाउँदै आएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । हिजोका लोककवि गणेशलाल श्रेष्ठ, भीम विरागदेखि आजका तुल्सी थापा, आर.सी. रिजाल, साम्ब ढकाल, आर.आर. चौलागाईंलगायत अनेकौँ साहित्यकारहरूले हेटौँडाको साहित्यिक माटोलाई मलिलो बनाउन निरन्तर प्रयत्न गर्दै आएका छन् ।

यस्तो विराट् सम्भावना भएको नगरमा स्थानीय सरकारका तर्फबाट वाङ्मय प्रतिष्ठान स्थापना गरी यहाँका वाङ्मयिक गतिविधिलाई संस्थागत गर्दै जानु औचित्यपूर्ण हुन्छ भन्ने उद्देश्यका साथ वर्तमान नगरको नेतृत्व परिवर्तन भएसँगै यो पङ्क्तिकारसहित यहाँका साहित्यकारहरूको एक प्रतिनिधि मण्डलले नवनियुक्त उपप्रमुख श्री राजेश बानियाँलाई भेटेर यस विषयमा छलफल पनि गरेको थियो । तर आजका मितिसम्म यस विषयमा के भइरहेको छ कम्तीमा मलाई कुनै आधिकारिक जानकारी छैन (त्यसो त मलाई जानकारी गराउनुपर्छ भन्ने पनि छैन) । तथापि यसै क्षेत्रमा लामो समयदेखि काम गरेको नाताले केही सल्लाह दिन सकिन्थ्यो भन्ने मात्र मेरो धारणा हो ।

कतै हल्ला सुनेअनुसार हेटौँडा नगर वाङ्मय प्रतिष्ठान (नाम के हो थाहा छैन) गठनको अन्तिम चरणमा छ भन्ने गाइँगुइँ सुनिएको छ । यसै गाइँगुइँलाई केन्द्रमा राखेर केही सुझाव दिनु मैले आफ्नो लेखकीय धर्म ठानेको छु ।

१. लेखकहरूको संस्थाको प्रमुख लेखक नै हुनुपर्छ तसर्थ गठन हुने प्रतिष्ठानमा कुलपति वा कार्यकारी प्रमुख जे राखिने हो त्यो लेखक नै होस् । नगर प्रमुख, उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतलाई कुलपति बनाएर त्यो पदको गरिमालाई घटाउने कार्य नगरियोस् । दृष्टान्तका लागि भरतपुर महानगरपालिका छ । त्यहाँ मेयरलाई कुलपति बनाइएकोमा सर्वत्र विरोध भएको छ । उहाँहरू संरक्षक तथा सल्लाहकारका रूपमा रहनु उचित हुन्छ । पछिल्लो समय बर्दघाट नगरपालिकाले डा. घनश्याम न्यौपाने परिश्रमीलाई कुलपति बनाएको नजिर पनि विचार गरियोस् ।

२. गठन हुने प्रज्ञा प्रतिष्ठान कुनै अमुक पार्टीका कार्यकर्ता भर्ती गर्ने केन्द्र जस्तो नदेखियोस् । पार्टी निकट लेखकहरूका लागि प्रलेस, नेपाली लेखक संघ जस्ता संस्थाहरू छँदै छन् । हेटौँडामा आजसम्म पनि लेखकहरू आस्थाका आधारमा विभाजित भई एउटा पक्षको कार्यक्रममा अर्को पक्ष नजाने असहज वातावरण छैन । तसर्थ बन्न लागेको नगर वाङ्मय प्रतिष्ठान नै त्यसको कारक नबनोस् ।

३. हेटौँडामा लामो समयदेखि क्रियाशील विभिन्न साहित्यिक संस्थाहरू छन् । नगर वाङ्मय प्रतिष्ठानले नगरभित्र रहेका सबै साहित्यिक तथा सांस्कृतिक सङ्घ संगठनहरूसँग सहकार्य गरेर अघि बढ्ने नीति अवलम्बन गरोस् ।

४. नगर वाङ्मय प्रतिष्ठानले यहाँको भाषा, कला, साहित्य क्षेत्रमा लागेका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गरी लेखक कोश निर्माण गर्ने, साहित्यको इतिहास लेखन गर्ने लगायतका कामलाई प्राथमिकतामा राखोस् ।

५. प्रतिष्ठानले वार्षिक रूपमा यस नगरको समग्र साहित्यको प्रतिनिधित्व हुन सक्ने खालको स्तरीय स्मारिका प्रकाशन गर्ने कार्यको आरम्भ गरोस् ।

६. लेखकहरूका स्तरीय कृतिहरू प्रकाशन गर्ने कार्यमा अभिभावकत्व ग्रहण गरोस् ।

७. वर्षमा कम्तीमा एउटा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको साहित्य सम्मेलन आयोजना गर्ने काम गरोस् ।

८. विभिन्न विधाका लेखकहरूलाई निष्पक्ष ढङ्गले सम्मान गर्ने परिपाटी बसालोस् ।

९. युवा र नवपुस्ता केन्द्रित प्रशिक्षणात्मक कार्यशालाहरू सञ्चालन गरी नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्ने काम गरोस् ।

अन्तमा हेटौँडा नगरमा बन्न लागेको नगर वाङ्मय प्रतिष्ठान उदाहरणीय तथा यहाँका सबै विचारका लेखकको साझा संस्था बन्न सकोस् । सबै लेखकले अपनत्व अनुभव गर्न सकुन् र अब देशका अन्य भागमा गठन हुने यस प्रकारका संस्थाहरूका लागि हाम्रो नगर वाङ्मय प्रतिष्ठान उदाहरणीय बन्न सकोस् । यो नै हामी आम लेखकको अपेक्षा हो ।

धन्यवाद !