विद्यार्थीसँग भलाकुसारी गर्नुहुँदै हजुरआमा ।

हेटौँडा ः हेटौँडा–१८, खड्कलेस्थित मकवानपुर बाल विद्या सदन (एमबिबिएस) ले विद्यार्थीका हजुरबुबा–हजुरआमालाई भेला गरेर ज्येष्ठ नागरिक दिवस मनाएको छ । बिहीबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विद्यालयमा अध्ययनरत कक्षा युकेजीदेखि २ कक्षासम्मका विद्यार्थीका हजुरबुबा–हजुरआमाको भेला गराएर दिवस मनाएको हो ।

कार्यक्रममा उपस्थित हजुरबुबा–हजुरआमाहरू कान्छी जिम्बा, मनमाया स्याङ्तान, बद्रि कुँवर र गोपाल थापाले सहभागीहरूलाई कथा सुनाएका थिए भने सोमप्रसाद खतिवडाले भजन गाएर सुनाउनुभयो । थापाले आफूले कथा हाल्न नजाने पनि नातिनीलाई सुनाउनकै लागि कथाका किताब किनेर पढेको प्रसङ्ग सुनाउनुहुँदै विद्यालयको पुस्तकालयलाई २ थान किताब उपहार दिनुभयो । सो अवसरमा बालबालिकाहरूले हजुरबुबा–हजुरआमाहरूका लागि नृत्य, गायन कला प्रस्तुत गर्नुका साथै कविता समेत सुनाए ।

विद्यार्थीसँग भलाकुसारी गर्नुहुँदै हजुरआमा ।

जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य समेत रहनुभएकी विष्णुमाया थपलियाले कार्यक्रमको समीक्षा गर्नुहुँदै बालबालिकाको सर्वाङ्गीण विकासमा बाजेबज्यैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । विद्यालयका अन्य कार्यक्रमहरूमा अधिकांश आमाबुबाको मात्रै उपस्थिति हुने गरेको उल्लेख गर्नुहुँदै विद्यालयका प्रिन्सिपल सुदीप गिरीले बालबालिकाको हजुरबुबा–हजुरआमा पुस्तासँगको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।