हेटौंडा: छैटौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बुधबार उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री महर्जनले बकैया रंगशाला निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राख्ने बताउनुभएको छ । यसअघि खेलकुद क्षेत्र नबुझेकाहरु मन्त्री बन्दा बजेट प्राथमिकतामा नपरेको र अहिले आफूलाई काम गर्न गाह्रो भएको उहाँको भनाइ छ । अबको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
बकैया–३ स्थित बकैया रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बीच प्रतिस्पर्धा भएको छ । बुधबार दुई टिमले निर्धारित खेल समयको पहिलो हाफ खेलेका छन् । बाँकी समयको खेल समय अभावमा बिहीबार बिहान १० बजे हुने भएको छ । पहिलो हाफसम्मको खेलमा वडा नम्बर ३ ले एक गोल गरेको छ । छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरेका हुन् ।
बिहीबारको पहिलो खेलमा दिउँसो १ बजे वडा नम्बर ४ र १० बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ पुस २६ गते ११ नम्बर र १२ बीच एवम् २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाइएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।
बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, गाउँपालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, मकवानपुर फुटबल महासंघका कार्यवाहक अध्यक्ष अरुण बल, विभिन्न वडाका वडा अध्यक्ष, बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङलगायतको आतिथ्य रहेको थियो ।