सचिन कुमार यादव (निबन्ध)
सामाजिक चेतना भनेको समाजका विभिन्न समस्याहरु, मुद्दाहरू र चुनौतीहरूप्रति व्यक्तिको जागरुकता र संवेदनशीलता हो । हाम्रो समाजमा विभिन्न विकृति तथा समस्याहरु रहेका हुन्छन् । ती समस्याहरुप्रति हामी नागरिक सचेत हुनु आवश्यक देखिन्छ । साधारण शब्दमा भन्दा समाजप्रति सजग भई सुधारमा सहभागी हुनु नै चेतना हो । त्यसैगरी समाचारपत्र भनेको एक मुद्रित वा डिजिटल माध्यम हो । जसले दैनिक, साप्ताहिक प्रकारका समाचार, विचार तथा विश्लेषणहरू प्रकाशित गर्छ । यो समाचारमा आधारित एक प्रकाश हो । यो विश्वकै भरपर्दो लिखित समाचारको माध्यम हो । नेपालको पहिलो राष्ट्रिय दैनिक समाचारपत्र भनेको गोरखापत्र राष्ट्रिय दैनिक हो । समाचारपत्रको मुख्य उद्देश्य भनेकै विश्वका समाचार प्रकाशित गरी जनतालाई जागरुक बनाउनु ंहो । समाचारपत्रले सामाजिक विकृति अन्त्य गरी चेतना फैलाउनुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उदाहरणका लागि महिला हिंसा, बालश्रम, गरिबी तथा स्वास्थ्य समस्याका बारेमा समाचारपत्रले लेखहरू प्रकाशित गर्दै यसतर्फ समाजको ध्यान आकर्षित गरेको छ । समाचारपत्रले अन्धकारको बीचमा दियो बाल्ने कार्य गर्दछ जसले विश्व समाज र मानिसको भविष्य नै चम्किलो पार्दछ ।
समाचारपत्र समाजको दर्पण हो । यो हाम्रो दैनिक जीवनको हिस्सा बनिसकेको छ । यो समाजको ऐना हो । जसले समाजमा भएका घटनाक्रम सुधार तथा चुनौतिलाई उजागर गर्छ । उदाहरणका लाग समाचारपत्रले महिला हिंसा र यौन शोषण विरुद्ध रिपोर्ट गरेपछि यसको खिलाफ आवाज उठाउने, कानुनी व्यवस्था सुधार गर्ने आवश्यक दबाब उत्पन्न हुन्छ । यसले समाजका हरेक तहका व्यक्तिलाई समाचारको पहुँच पुर्याउँछ । जसले गर्दा उनीहरूमा नयाँ सोच र दृष्टिकोणको विकास हुन्छ । समाचारपत्र पढ्नाले मानिसहरूलाई उनीहरूको समुदायमा विभिन्न संस्कृति तथा घटनाबारे जानकारी प्राप्त हुन्छ । समाचारपत्रले विभिन्न शैक्षिक कार्यक्रम तथा तालिम प्रकाशित गरेर जनतालाई सचेत पार्छ । यसले समाजमा रहेका भ्रष्टाचार, अपराध, अन्याय जस्ता नकारात्मक घटनालाई सार्वजनिक गर्छ र सुधारका लागि सुझाव दिन्छ । सरल भाषामा भन्दा यसले नीतिगत सुधारका लागि दबाब दिन्छ । यसले खबर मात्र दिन्छ भन्ने होइन कि समाजमा भएका सफल व्यक्तिहरू र उनीहरुको योगदानको बारेमा प्रकाशित गरेर जनतालाई प्रोत्साहित गर्छ । समाचारपत्रले मानिसमा भएको कुसंस्कार, तथा रुढिवादीलाई हटाउँछ ।
नेपालमा प्रकाशन भइरहेका समाचारपत्र जस्तै गोरखापत्र राष्ट्रिय दैनिक, कान्तिपुर राष्ट्रिय दैनिक आदिले सामाजिक चेतना फैलाउँदै आएको छ । उदाहरणका लागि मलेरिया, डेंगु तथा अन्य संक्रामक रोगहरूको बारेमा जनचेतना फैलाउनु, स्वास्थ्य परीक्षण तथा औषधी सेवनका महत्वपूर्ण सन्देशहरू समाचारपत्रले प्रदान गरेको छ । कोरोना महामारीको बेलामा मास्क लगाउने, दुरी कायम राख्ने तथा स्वस्थ बस्ने तरिका बारे समाचारपत्रले महत्वपूर्ण चेतना प्रदान गरेको थियो । नेपालका समाचारपत्रहरू प्रायःगरी बालअधिकार, महिला अधिकार, शिक्षा र वातावरण संलग्न भएको छ । आवश्यक परेको खण्डमा समाचारपत्रले समाज सुधारका लागि स्थानीय सरकार र नागरिकको ध्यान आकर्षित गर्ने कार्य पनि गर्दछ । समाचारपत्रले नागरिकलाई मतदान गर्ने तरिका तथा आफ्नो कार्तव्यप्रति चेतना दिँदै आएको छ । सरकारी अनियमितता, भ्रष्टाचार आदिका बारेमा लेखहरू प्रकाशित गर्दै चेतना प्रदान गरेको छ । त्यसैगरी पर्यावरणीय सन्तुलन, फोहोर व्यवस्थापन, सम्पदा संरक्षण आदिका बारेमा सम्पादकीय प्रकाशित गरेर चेतना फैलाएको छ । साथै विश्वमा भएको अशान्त तथा युद्धको विरोध गर्दै शान्त रहने सचेतना प्रदान गरेको छ । अहिलेको समयमा युवाहरू विदेशिने क्रम बढ्दो छ । यस समयमा विदेशिनुका कारण बारे लेखहरु प्रकाशित गरेर सरकारको ध्यान आकर्षित गर्ने र युवालाई स्वदेशमा बस्न प्रोत्साहित गरेको छ । यसै क्षेत्रमा रोजगारीको सिर्जना गरेर विदेशिनु हुँदैन भनेर चेतना प्रदान गरेको छ । समाचारपत्रले समाजका अल्पसङ्ख्यक, दलित वर्ग आदिका लागि पनि आवाज उठाउँदै आएको छ ।
समाचारपत्रले स्थानीय सरकार तथा वडा लगायत नागरिकको ध्यान आकर्षित गर्छ र भविष्यमा समेत जागरुक बनाउँछ भन्ने कुरा हालै प्रकाशित एउटा खबरबाट पुष्टि हुन्छ । यो खबर कात्तिक २७ गते साझाकुरा राष्ट्रिय दैनिक समाचारपत्रमा छापिएको थियो । हेटौंडा–१५ का १८ महिनाको बालक आरोन स्याङ्तानको मलद्वार नभएको र उसको अवस्था नाजुक बनेकाले स्थानीय सरकारले बैठक बसाउनु प¥यो र उक्त बैठक अनुसार त्यस बालकको उपचार गर्न सम्पूर्ण खर्च व्यहोर्ने हेटौँडा उपमहानगरपालिकाले प्रतिबद्धता जारी गरेको छ । यसो हुँदा नगरभरका मानिसमा चेतना बढ्छ । उनीहरूको हौसला बढ्छ । यस्तो समस्याको पनि समाधान हुन्छ भनेर हरेक गरिबले पनि थाहा पाउँछ । उनीहरू आफ्नो अधिकार तथा हकप्रति सचेत हुन्छ । नेपालमा सन् २०१५ मा आएको भूकम्प र त्यसपछिको महामारीको बेला राहत र पुनर्निर्माण गर्नुमा समाचारपत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । समाचारपत्रमा यातायात दुर्घटना, सामाजिक विकृति तथा झगडा बारे प्रकाशित गरिएको हुन्छ । जसले जनतालाई सामाजिक एकताको महत्व, यातायात दुर्घटना नियन्त्रण आदि बारे सचेत पार्छ । त्यसैगरी समाचारपत्रमा शुद्ध खानेपानी, वन्यजन्तु संरक्षण आदिका बारेमा लेख तथा टिप्पणी प्रकाशित गरिएको हुन्छ । जसले मानिसलाई सम्बन्धित क्षेत्रमा चेतना प्रदान गर्दछ । साथै समाचारपत्रमा मिठा कविताहरू गजलहरू हुन्छन् जसले मानिसलाई सोच्न बाध्य बनाउँछ ।
बजार अनुगमनको नतिजा, विज्ञान तथा प्रविधिको नयाँ उपकरण तथा योगदान बारे जनतालाई सचेत गर्छ । तर अहिलेको बढ्दो आधुनिकीकरणले गर्दा समाचारपत्र पढ्ने बानी हराएको छ । यो हाम्रो समाजको ठूलो चुनौती हो र यसको समाधान गर्न हामीले समाचारपत्र पढ्नै पर्छ । सबैले पढ्न नसके पनि पढेका कुरा समय मिलाएर साटासाट गर्न सकिन्छ । म एक विद्यार्थी हुँ । एक विद्यार्थीको हैसियतले समाचारपत्रको कार्य प्रभावकारी बनाउन विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । जस्तै विद्यार्थीले आफ्नो प्रतिभाद्वारा समाचारपत्रको महत्व बढाउन सक्छ । असल चरित्र वर्णन गर्ने चित्रलाई प्रकाशित गराएर मानिसमा चेतना फैलाउन सक्छ । साथै विभिन्न कविता तथा लेखहरुलाई प्रकाशित गराएर मानिस माझ जनचेतना फैलाउन सक्छ । यसो हुँदा स्वतः विद्यार्थी पनि आफ्नो कृति प्रकाशित भएकोमा खुसी हुन्छन् र असल चेतनाको विकास गर्छन् ।
हामीले समाचारपत्र सजिलै प्राप्त गर्न सक्छौं । यसका लागि कुनै इन्टरनेट तथा मोबाइलको आवश्यकता पर्दैन । यसले सत्य र तथ्य समाचार दिन्छ । तर आजकल पैसाको लोभले झुटो समाचार प्रकाशित भएको सुनिन्छ । यस्तो समाचारपत्र धेरै टिक्दैन र यस माथि कारबाही पनि हुन्छ । समाचारपत्रले पनि व्यक्तिको चरित्र हत्या हुने र भ्रामक समाचार प्रकाशित गर्नुभएन । समाज सुधार र विकासका लागि सामाजिक चेतना आवश्यक हो । यो केवल व्यक्तिको भनाइको कुरो होइन कि समाजका समग्र समस्याहरु समाधान गर्न महत्वपूर्ण छ भने यो सामाजिक चेतना फैलाउन समाचारपत्रको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण छ । जब नागरिक जागरूक हुन्छन् तब मात्रै समाज विकास हुन्छ । जस्तो कि अमेरिकाको राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्, “समानता र न्यायका लागि आवाज उठाउने नागरिक नै साँचो नायक हो ।’’ समाचारपत्रले पनि यसै प्रकार चेतना फैलाएर सशक्त नायक बन्न प्रोत्साहित गर्छ । अतः समाजिक चेतना फैलाएर समाज र जनताको भलाई गर्ने कार्यमा समाचारपत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कक्षा–१०, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, हेटौँडा–१० (समृद्ध समाज राष्ट्रिय दैनिकको १५औं वार्षिकोत्सवको अवसरमा २०८१ कात्तिक ३० गते आयोजना गरिएको ‘सामाजिक चेतनाका लागि समाचारपत्र’ शीर्षकको स्थलगत निबन्ध लेखन प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल निबन्ध ।)