संप्रस पौडेल

बा
जसले गाई चराउनु भयो जिन्दगीभर ।

गाउँमा पढाइ सकेपछि
शहर पठाउनु भयो मलाई ।

म शहर आउनु र बालाई बुढेसकाल लाग्नु
सँगसँगै भएको हो ।

बा उता चरन खोज्दै हुनुहुन्थ्यो
म यता चरम दुख खेप्दै थिएँ ।

कलेज तिर्न ल्याएको पैसा
डेरा भारामैं सकिन्थ्यो ।

कलेजमा पढाईभन्दा ज्यादा
बन्दाबन्दी चल्थ्यो ।

विद्यार्थीका चुनावमा
गाउँको चुनावको झल्को आउँथ्यो
नमस्कार, नमस्कार भोट मलाई भोट मलाई ।

शुरुशुरुमा आफू भर्याङ बनेरै
भोट हालियो ।

भर्याङ सँधै भर्याङ मात्रै रहेन
अर्थात्
अग्रास पलायो र बन्यो विद्यार्थी नेता ।

फलानाका सन्तानझैं राजनीति गरेर बिग्रेलास् नि, राम्ररी पढ्
छिमेकीको मोबाइलबाट भन्नुहुन्थ्यो बा ।

खुबै पढेँ
नेताका विचार र लडाउने र लडाउने योजना
पढेँ पर्चा, पम्प्लेट र चेतावनीका विज्ञप्ती ।

सानोतिनो काम पाए गर्
कामले मेरा मुटु पड्किन लागिसक्यो
यसै भन्नुहुन्थ्यो बा ।

ठूलै काम गरेँ
टायरका मुस्लो निकालेँ
प्रहरीलाई ढुंगामुढा हानेँ
विपक्षीलाई चड्काएँ
आफ्नै गुटलाई पड्काएँ
स्याबास भन्ने पनि त कोही थियो ।

घर आउँदा सीम ल्याइदिनु
आदेश दिनुभो बाले
मोबाइल किन्नु भएछ
दुध बेचेर आएको पैसाले ।

एकदिन बाको मोबाइलबाट फोन आयो
एकै श्वासमा भन्नुभयो–
म ज्यादै बुढो भएँ
गाईगोरु बेचिदिएँ
अब बाख्रा पाल्छु
यसैलाई चराउँछु ।

म पनि यता गोठालै भइसकेको थिएँ
बालाई भन्न मन थियो–
गोठालोको सन्तान गोठालै भएँ बा
अर्थात् म नेता बनेँ
ठोक भन्दा ठोक्नेछन्
रोक भन्दा रोक्नेछन्
बोक भन्दा बोक्नेछन्
जाग् भन्दा जाग्छन्
भाग् भन्दा भाग्छन्
कहिले मने मने भन्छु
म्याँ गर्दै आउँछन् ।

कहिले हँ गर्छु
भुर्र उड्छन् ।

कहिले चोइ चोइ गर्छु
चुइँचुइँ गर्दै पुच्छर हल्लाउँदै धाउँछन् ।

कहिले धर् गर्छु
त्यही पुच्छर लुकाएर निहुरिन्छन् ।

रातरातभर बर्बराउँछु्
दिनदिनभर लर्बराउँछु ।

कहिले सदनमा हराउँछु
कहिले सडकमा कराउँछु

झुण्डपिच्छे चारा, दाना, भुस्सा छराउँछु
हो बा आजकाल म मान्छे चराउँछु ।